ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबकाे पहिलो जित • Nepal's Trusted Digital Newspaperए डिभिजन लिगमा फ्रेण्ड्स क्लबकाे पहिलो जित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबकाे पहिलो जित

ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबकाे पहिलो जित

  • समाचारपाटी
  • शुक्रबार, माघ २८, २०७८
ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबकाे पहिलो जित

काठमाडौं, २८ माघ । शहीद स्मारक ए डिभिजन लिगमा फ्रेण्ड्स क्लबले पहिलो जित हात पारेको छ । लिगको पुछारमा रहेका दुई क्लब फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबबीचको रेलिगेसन ब्याटलमा फ्रेण्ड्सले गोलको वर्षा गर्यो । सुशील शाह र जमल एन्थोनी फ्रान्कोइसले दुई/दुई गोलको मद्दतमा फ्रेण्ड्सले ब्रिगेडलाई ५-२ ले हरायो । जारी लिगमा यो सर्वाधिक गोल भएको खेल हो ।

खेलअघि लिगको पुछारमा रहेको फ्रेण्ड्सले पहिलो जितपछि रेलिगेसन जोनसमेत छाड्दै १२औं स्थानमा उक्लेको छ । १० खेलबाट ब्रिगेडको समान ६ अंक भए पनि गोल अन्तरमा फ्रेण्ड्स अघि छ । ब्रिगेड भने १३औं स्थानमा झरेको छ । ५ अंक रहेको च्यासल १४औं स्थानमा छ ।

दशरथ रंगशालामा भएको खेलको १३औं मिनेटमा सुशील शाहले फ्रिकिकमार्फत् गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । २५ मिनेटमा ब्रिगेड ब्वाइजले बराबरी गोल फर्कायो । ड्याड्डी जुनियरले फ्रिकिकमार्फत् नै बराबरी गोल गरेका हुन् । तर, त्यसको दुई मिनेटपछि नै श्याम बाबु क्याप्छाकीले गोल गर्दै फ्रेण्ड्सलाई २-१ को अवस्थामा ल्याए । कप्तान नाथनियल जुड गार्सियाले काउन्टर अट्याकमा अघि बढाएको बलमा विकास थापाको पासमा श्याम बाबुले गोल गरेका हुन् ।

फ्रेण्ड्सले पहिलो हाफमै तेस्रो गोल गर्यो । पहिलो हाफको ईन्जुरी टाईममा निसेन सुब्बाको फ्रिकिकमा जमल एन्थोनी फ्रानकोईसले हेडमार्फत् गोल गरेपछि फ्रेण्ड्सले ३-१ को अग्रता बनायो । दोस्रो हाफमा ब्रिगेडले गोल गर्ने केही अवसर गुमायो । ब्रिगेडका शिशिर लेखी र दोर्जे तामाङको फ्रिकिक फ्रेण्ड्सका गोलकिपर राहुल रामचन्द्र यादवले बचाए ।

यस्तै, रोशन राना मगरको प्रहार पोष्टमा लागेर फर्कियो । फ्रेण्ड्सले भने दोस्रो हाफमा दुई मिनेटमा दुई गोल गर्यो । ७६औं मिनेटमा फ्रेण्ड्सका जमल एन्थोनी फ्रान्कोईस र ७८औं मिनेटमा सुशील शाहले गोल गरे । दुवै गोलका लागि प्रिजेन तामाङले असिस्ट गरे ।

ब्रिगेडका कप्तान अनिल गुरुङले ८६औं मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन ढिला भइसकेको थियो । फ्रेण्ड्सका प्रिजेनले रुडी जोनाथनलाई फाउल गरेपछि ब्रिगेडले पेनाल्टी पाएको थियो । यस पेनाल्टी गोलपछि अनिल गुरुङले लिगमा ८ वर्षपछि पहिलो गोल गरेका हुन् ।

source:onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका