तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको सरस्वती मावि विद्यालय सञ्चालनमा समस्या • Nepal's Trusted Digital Newspaperतातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको सरस्वती मावि विद्यालय सञ्चालनमा समस्या • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको सरस्वती मावि विद्यालय सञ्चालनमा समस्या

तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको सरस्वती मावि विद्यालय सञ्चालनमा समस्या

  • समाचारपाटी
  • मङ्लबार, माघ २५, २०७८
तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको सरस्वती मावि विद्यालय सञ्चालनमा समस्या

म्याग्दी , २५ माघ। मुख्य आयस्रोतका रुपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ ।

प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्षयता तातोपानी कुण्ड बन्द हुँदा विद्यालय सञ्चालनमा असर परेको प्रधानाध्यापक सुरत बानियाले बताएका छन् ।

‘१६ जनामध्ये चारजना शिक्षकको तलबका लागि तातोपानी कुण्डले मासिक एक लाख रुपैयाँ सहयोग गर्दै आएको थियो,’ उनले भने ‘कुण्ड बन्द हुँदा ऋण खोजेर शिक्षकको तलब, भत्ताको जोहो गर्नुपरेको छ । तीन महिनामा दुई महिनाको तलब दिने र एक महिनाको पछि दिने गरी भुक्तानी गरिएको छ ।’

गत वर्षसम्म १० निजी स्रोतका शिक्षक रहेकामा बेनी नगरपालिकाले दरबन्दी मिलानका क्रममा यसपालि प्रावि तहका पाँचजना शिक्षक पठाएको छ । यसअघि प्रावि तहका पाँचजना मात्र स्थायी दरबन्दीका शिक्षक थिए । मावि तहका एकजना शिक्षण सहायता अनुदानबाट नियुक्त गरिएका शिक्षक छन् । प्राविको दरबन्दीमा नियुक्त भए पनि निमावि र माविमा पढाउनेलाई भत्ता र निजी स्रोतका शिक्षकलाई भत्ता दिन तातोपानी कुण्डलाई आयस्रोत बनाइएको थियो ।

२०६५ सालदेखि निमावि र २०६९ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा २५६ जना विद्यार्थी छन् । २०७६ साल चैत महिनादेखि बन्द भएको तातोपानी कुण्ड २०७७ साल माघ १ गतेदेखि खोलिएकामा कोरोनाको दोस्रो लहर फैलिएपछि २०७८ वैशाखदेखि बन्द भयो । गत असोज १ गतेदेखि खुलेको कुण्ड पुनः माघ महिनादेखि बन्द छ ।

आर्थिक वर्ष ०७६/७७ मा बिरामीको प्रवेश शुल्क र चन्दा सहयोगबाट एक करोड २१ लाख आम्दानी गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिले आर्थिक वर्ष ०७७/७८ मा ४० लाख आम्दानी गरेको छ । समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले गत वर्ष छ हजार जनाले स्नान गरेकामा चालू आर्थिक वर्षको हालसम्म जम्मा दुई हजार पाँच सयजना मात्र आएको बताए ।

३५० तिरेर १० दिनसम्म स्नान गर्न पाइन्छ । प्रवेश शुल्क र चन्दा सहयोगबापत उठ्ने रकममध्ये २५ प्रतिशत बेनी नगरपालिका र १३ प्रतिशत आन्तरिक राजस्व कार्यालयमा कर बुझाउनुपर्छ । बचत भएको रकम कुण्डका कर्मचारीको तलब, सञ्चालन, पूर्वाधार निर्माण, विद्यालयलाई अनुदान र सामाजिक क्षेत्रमा खर्च गरिँदै आएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका