सगरमाथाको २,००० वर्ष पुरानो हिउँ पग्लिँदै • Nepal's Trusted Digital Newspaperसगरमाथाको २,००० वर्ष पुरानो हिउँ पग्लिँदै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सगरमाथाको २,००० वर्ष पुरानो हिउँ पग्लिँदै

सगरमाथाको २,००० वर्ष पुरानो हिउँ पग्लिँदै

  • समाचारपाटी
  • आइतवार, माघ २३, २०७८
सगरमाथाको २,००० वर्ष पुरानो हिउँ पग्लिँदै

 

जलवायु परिवर्तनका कारण सगरमाथाको उच्च भागमा रहेको हिमनदी तीव्र गतिमा पग्लिरहेको नयाँ अध्ययनले औँल्याएको छ । यूनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरुले विश्वको सर्वोच्च हिमालमा अवस्थित ’साउथ कोल ग्लेसीअर’ विगत २५ वर्षमा ५४ मिटर (१८० फिट) घटिसकेको पत्ता लगाएका छन् । समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलो पटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुना चाँडो छ । बढ्दो तापमान तथा तीव्र गतिमा चल्ने हावाका कारण तीव्र गतिमा बरफ पग्लिँदै र पातलिँदै गएको मानिएको छ ।
अध्ययनमा सहभागी वैज्ञानिकहरूले झन्डै २,००० वर्ष लागेर बनेको बरफ सन् १९९० को दशकयता पग्लिएको पत्ता लगाएका छन् ।

किन पग्लियो बरफ ?
उनीहरूले हिमनदीमा रहेको बाक्लो हिउँथुप्रो खिइएको र त्यसको तल अवस्थित “कालो बरफ” बाहिर देखिएकाले घाम पर्दा पग्लिने प्रक्रिया झन् तीव्र भएको बताएका छन् ।

प्रमुख शोधकर्तामध्येका एक डा. मारियुस पोटोस्कीका अनुसार अध्ययनको निष्कर्षले “साउथ कोल हिमनदी सम्भवतः मासिने क्रममा रहेको” सङ्केत गरेको बताए। उनका अनुसार यो पहिला अझ चिसो समयको अवशेष भएको हुनसक्छ । उक्त रिपोर्टका अर्का लेखक तथा किङ्स कलेज लन्डनका जलवायु वैज्ञानिक डा. टम म्याथ्यूजले बरफ ह्वात्तै पग्लिनेगरी उक्त क्षेत्रको मौसममा कुनै पनि परिवर्तन नदेखिएको बताए ।

“बरु तापमानमा सामान्य वृद्धिले हिमनदीलाई यस्तो बिन्दुमा पु¥याइदिन्छ कि अचानक सबै कुरा परिवर्तन हुन्छ,“ उनले भने ।

हिमनदी पग्लिएको विषयमा व्यापक रूपमा अध्ययन गरिएको भए पनि यो उचाइमा रहेका हिमनदीहरूमा जलवायु परिवर्तनको प्रभावबारे भने विगतमा अध्ययन गरिएको थिएन ।
कसरी भयो अध्ययन ?
दश वैज्ञानिक सम्मिलित टोली उक्त हिमनदीमा पुगेको थियो । त्यहाँ उक्त टोलीले मौसमको अनुगमन गर्ने दुईवटा वेदर मनिटरिङ स्टेशन स्थापना गरेका थिए । ती स्टेशन विश्वमै सबैभन्दा अग्लो स्थानमा स्थापित भएको मानिन्छ । वैज्ञानिकहरूले हिउँको १० मिटर लामो ’आइस कोर“बाट नमुनाहरू सङ्कलन गरे ।
टोली नेता डा. पोल मायेव्स्कीले उक्त अध्ययनबाट धेरै उचाइमा हुने तुलनात्मक रूपमा साना परिवर्तनप्रति पृथ्वीको संवदेनशीलताबारे पहिला थाहा नभएका कुराहरू पत्ता लागेको बीबीसीलाई बताए ।

कस्तो प्रभाव पर्ला ?
तीव्र गतिमा बरफ पग्लिँदा “क्षेत्रीय र वैश्विक तहमा“ विभिन्न किसिमका महत्त्वपूर्ण प्रभावहरू पर्न सक्ने उनको धारणा छ । विश्वका झन्डै एक अर्ब मानिस पिउने पानीका लागि हिमपर्वतहरूमा निर्भर छन् ।

अनि उक्त क्षेत्रका वा विश्वका विभिन्न स्थानमा अवस्थति अन्य हिमनदीमा सगरमाथामा जसरी नै हिउँ पग्लियो भने पिउन र सिँचाइ गर्नका लागि तिनको पानी उपलब्ध गराउन सक्ने क्षमता व्यापक रूपमा घट्न सक्छ ।

हिउँ र बरफको सतह घट्दा पर्वतारोहणमा पनि चुनौती थपिन सक्छ किनकभने आरोहीहरूले हिउँले नपुरेका चट्टानको सामना गर्नुपर्ने हुनसक्छ ।

त्यसो हुँदा पर्वतारोहण झन् कठिन बन्न सक्छ ।

डा. म्याथ्यूजले साउथ कोल हिमनदी “अरू सबै कुरासँग तुलना गर्दा निकै सानो छ ।”

“हामीले पत्ता लगाएको संवेदनशीलता कति हदसम्म ’संसारको छानो’ मा भएको बरफको भण्डारमा लागु हुन्छ भन्ने कुरा अब अनुसन्धानकर्ताहरूले खोज्नुपर्छ,“ उनले सँग भने । गत वर्ष फ्रान्सेली अनुसन्धानकर्ताहरूको टोलीले विश्वभरि हिमनदीहरू तीव्र गतिमा पग्लिरहेको निष्कर्ष निकालेका थिए । बीबीसी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका