लजालु बाघको बानी तर आक्रमण आक्रमक • Nepal's Trusted Digital Newspaperलजालु बाघको बानी तर आक्रमण आक्रमक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • लजालु बाघको बानी तर आक्रमण आक्रमक

लजालु बाघको बानी तर आक्रमण आक्रमक

  • समाचारपाटी
  • बुधबार, माघ १२, २०७८
लजालु बाघको बानी तर आक्रमण आक्रमक

 

गत पुस २२ गते बाँकेको राप्ती सोनारी गाउँपालिका–४ निवासी एक महिला बाघको आक्रमणमा परिन् । घाइते उनलाई उपचारका लागि अस्पताल पु¥याइयो । गाउँमा बाघ पसेको खबरले त्रास बढायो । तत्काल आक्रमणबाट बच्नका लागि कसले के गर्ने भन्ने योजना बनाइरहेको गाउँपालिका प्रमुख लाहुराम थारुको भनाइ छ । तर योजनाबारे छलफल भएको दिन अर्थात् पुस २३ गते लीला विष्ट माघी पर्वका लागि टपरी गाँस्न पात टिप्न वनमा पसेकी थिइन् । उनको जङ्गलमै बाघको आक्रमणमा मृत्यु भयो । भोलिपल्ट त्यही गाउँपालिका– ६ कि ३१ वर्षीय चाँदनी चौधरीको शव सामुदायिक वनमा भेटिएको थारुले बताए । वनमा दाउरा बटुल्न गएकी उनी पनि बाघकै आक्रमणमा परेको पुष्टि भयो । “बाघहरू गाउँ पसेका छन् । गाउँलेहरूमा डर बढेको छ । बाघको आक्रमण रोक्नका लागि पहल भइरहेको छ,” थारु भन्छन् ।

“गाउँपालिका, प्रहरी, निकुञ्ज, वन वातावरण समिति लगायतका निकायबीच समन्वयनको काम भइरहेको छ । विज्ञहरू ल्याई सुझावअनुरूप कार्यक्रमहरू गरिरहेका छौँ ।” उनले आक्रमणकारी बाघ पहिचान गरी त्यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए । “आक्रमण भएको ठाउँमा राँगो राखेका छौँ। आहारको लोभमा आएको अवस्थामा हामी त्यसलाई नियन्त्रणमा लिन्छौँ,” उनले भने । तर विज्ञहरूले पनि नियन्त्रणमा लिनुले आक्रमणको सम्भावना न्यून नहुने बताउँछन् ।

“घाइते वा नियमित समस्या सिर्जना गर्ने बाघ पहिचान गर्न सकेको अवस्थामा त्यसलाई नियन्त्रणमा लिँदा मात्रै समस्या रोकिन्छ,” बाघ विज्ञ डा. चिरञ्जीवीप्रसाद पोखरेलले भने । उनी राष्ट्रिय प्रकृति संरक्षण कोषका व्यवस्थापक हुन् । विभिन्न अनुसन्धानले देखाएअनुसार ९५ प्रतिशत बाघहरू मानिसको सम्पर्कमा नआउने स्वभावका हुन्छन् । बाँकी पाँच प्रतिशतले मानिसलाई समस्या सिर्जना गर्ने सम्भावना हुन्छ । ती बाघलाई प्राविधिक उपकरण र विज्ञहरूको निरीक्षणको सहयोगमार्फत पहिचान गर्न सकिने पोखरेलले बताए ।

बाघ लजालु जनावर हो ?

बाघ प्राकृतिक रूपमा लजालु स्वभावको हुने अर्का विज्ञ डा. बाबुराम लामिछानेले बताए । तिनीहरू प्रायः रात परेपछि सक्रिय र आक्रामक हुन्छन् । दिउँसोको समयमा वासस्थानबाट बाहिर निस्कँदैनन् । “मानिसहरू वा अन्य खतराको अवस्था देख्दा निकास खोज्छन् । यो त्यस्तो अवस्थामा आफैँ बाटो छोडेर हिँड्ने जनावर हो । अरू जीवबाट लुक्न खोज्छ,” उनले भने । मान्छे बाघको प्राकृतिक आहार नभएको उनको भनाइ छ । बाघले मानिसलाई गर्ने आक्रमण “प्रायः दुर्घटनात्मक” हुने उनले सुनाए । “आक्रमणको कारणहरू बाघको आहार र वासस्थानसँग जोडिएका छन्,” उनले भने । त्यस्तै विज्ञ डा. पोखरेलका अनुसार समूहमा कमजोर ठहरिएका, बुढो वा बिरामी भएका बाघहरू प्राय मानिस भएतिर आकर्षित हुन्छन् ।

सीमित क्षेत्रका कारण बाघको सहज विचरण
नेपालमा मानव बस्ती र जङ्गल निकै नजिक भएकाले बाघहरू सहजै मध्यवर्ती क्षेत्र वा बस्ती क्षेत्रमा पस्न सक्छन् । बाघहरू बस्तीमा छिर्नुको अर्को कारण जङ्गल टुक्रिनु वा खुम्चिनु समेत भएको बताइन्छ । उनीहरू मानव बस्तीमा मात्र नभई कोरिडोरमार्फत अन्य जङ्गलमा समेत पुग्ने गर्छन् । डा. लामिछानेका अनुसार चितवन राष्ट्रिय निकुञ्जका बाघहरू पर्सा हुँदै वाल्मीकि राष्ट्रिय निकुञ्जसम्म पुगेका छन् । बाघको सङ्ख्या बढ्दै जाँदा वासस्थानको कमी हुने र यस्ता गतिविधि देखिने विज्ञको दाबी छ । हाल बाघ निकुञ्ज बाहिरका राष्ट्रिय वा सामुदायिक वनदेखि मध्यवर्ती क्षेत्र र बस्तीसम्म पस्ने समस्या विशेषगरी बाँके र बर्दियामा देखिएका छन् । यस्तै प्रकृतिका समस्याहरू सन् २००३ र २००४ ताका चितवन राष्ट्रिय निकुञ्जको हकमा अनुसन्धानमा संलग्न डा. लामिछानेले बताए । “बाघ नभएको क्षेत्रमा बाघ देखिएपछि त्यहाँका मानिसहरूले व्यवहार परिवर्तन गरे । सजग हुने र बच्ने उपायहरू अपनाउने गरे। बाघको सङ्ख्या अझै बढ्दो छ । अब बाँके र बर्दिया वरपरका गाउँलेहरूले पनि आफ्नो व्यवहार र गतिविधि फेर्न आवश्यक छ,” उनले बाघबाट बच्न सुझाव पेस गरे ।

कति छ बाघको सङ्ख्या ?
यस वर्ष पनि नेपालमा बाघ गणना भइरहेको छ । हाल चितवन, पर्सा, बाँके र बर्दियामा भइरहेको गणना मकवानपुरको माथिल्लो भेग, नवलपुर र त्रिवेणी हुँदै बारा, पर्सा र रौतहटसम्म बिस्तार हुन्छ । गणनाको विवरण आगामी जुलाईमा सार्वजनिक हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता वेदप्रसाद ढकालले जानकारी दिए ।

सन् २०१८ को तथ्याङ्क अनुसार नेपालमा २३५ वयस्क बाघ छन्। चितवनमा ९३, बर्दियामा ८७, बाँकेमा २१ र पर्सामा १८ बाघ छन् । सन् २००९ मा १२१ रहेको वयस्क बाघको सङ्ख्या २०१३ मा बढेर १९८ पुगेको हो । नेपालमा पाटे बाघको सङ्ख्या बढ्दो भएको जानकारहरू बताउँछन् । सङ्ख्या वृद्धिका कारण उनीहरू भित्री वासस्थानबाट बाहिरतिर सलबलाएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । प्राय मानिस निहुरिएर बसेको वा काम गरेको अवस्थामा बाघले आक्रमण गर्ने विज्ञहरू बताउँछन् ।

“मानिस उभिँदा बाघभन्दा अग्लो हुन्छ । त्यसैले बाघ मानसिक रूपमा मानिससँग डराउने अध्ययनहरूले देखाएको छ । जब मानिस झुकेर एक सुरमा काम गरिरहेको हुन्छ तब सानो देखिन्छ र बाघले आफ्नो आहारजन्य जीव ठान्छ,” लामिछानेले भने ।

बाघबाट कसरी जोगिने ?
निकुञ्ज क्षेत्रहरूमा मानिसको उपस्थिति निषेध गरिएको छ । त्यहाँ मानिसको चहलपहलमा रोक लगाउनु पर्ने अधिकारीहरू बताउँछन् । उनीहरू आवश्यकता पूर्तिका लागि त्यहाँ जानै परे समूहमा जाने, झाडीहरू वरपर सतर्क रहन सुझाउँछन् । बाघको पाइलाको डोब खतराको सङ्केत भएको डा. लामिछाने बताउँछन् ।

“ती पाइला नयाँ हुन् या पुरानो भन्नेमा ध्यान दिनु पर्छ । त्यस्तै बाघको उपस्थिति गन्धबाट पनि थाहा हुन्छ,” उनले भने । उनीहरूले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि पिसाब फेरेका हुन्छन् । चितवन राष्ट्रिय निकुञ्ज वरपरका र मध्यवर्ती क्षेत्रका राष्ट्रिय तथा सामुदायिक वनहरूमा बाघ विचरण गर्छन् । दुई महिना ती क्षेत्रमा पनि तीन जना मानिसले बाघको आक्रमणबाट ज्यान गुमाएका छन् । “यसलाई बाघको सङ्ख्या बढेको र नयाँ ठाउँमा बाघले उपयुक्त वासस्थान भेटेको सङ्केतका रूपमा लिन सकिन्छ,” संरक्षक आचार्यले भने । “जङ्गलभित्र घटना घटेका छन् भने त्यसमा मानव तर्फबाट पनि सजग हुनुपर्ने देखिन्छ ।”

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका