सदर चिडियाखाना फेरि बन्द भयो • Nepal's Trusted Digital Newspaperसदर चिडियाखाना फेरि बन्द भयो • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सदर चिडियाखाना फेरि बन्द भयो

सदर चिडियाखाना फेरि बन्द भयो

  • समाचारपाटी
  • सोमवार, माघ १०, २०७८
सदर चिडियाखाना फेरि बन्द भयो

कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लतितपुरको निर्देशनमा सदर चिडियाखाना बन्द गरिएको छ। ललितपुरको जावलाखेलमा रहेकाे चिडियाखाना ६ महिनापछि हिजो आइतबारबाट बन्द गरिएको हाे ।

चिडियाखाना केही दिनका लागि बन्द गरिएको सदर चिडियाखानाका प्रमुख रचना शाहले जानकारी दिइन् । शाहले भनिन् ‘पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरी दैनिक रूपमा खोल्ने तयारी गरेका थियौं, जिल्ला प्रशासन कार्यालयले एक साता बन्द गर्न निर्देशन दिएकाे छ ।’

स्वास्थ्य सावधानी अपनाएर चिडियाखाना खुला गरे पनि विश्वसँगै उपत्यकामा पनि संक्रमितको दर ह्वात्तै बढ्न थालेपछि एक सातापछि पुनः खोल्ने गरी हाललाई बन्द गरिएको शाहले बताइन् । कोरोना कहरका कारण अघिल्लो वर्ष करिब ९ महिना बन्द भएको चिडियाखाना साउन १ गतेबाट खुला गरिएको थियो ।

आर्थिक अभावका कारण चिडियाखानाका वन्यजन्तुलाई स्याहार्न समस्या परेको बेला पुनः बन्द भएपछि सञ्चालन खर्च जुटाउन थप समस्या पर्ने प्रशासनको भनाइ छ । पछिल्लो समय दैनिक करिब ३ हजार अवलोकनकर्ता चिडियाखाना आउने गरेका थिए ।

काेराेनाकाे तेस्राे लहर सुरुभएपछि पछिल्लो दुई सातायता ओमिक्रोन भेरियन्ट व्यापक रूपमा फैलन थालेपछि चिडियाखाना अवलोकनकर्ताको संख्या घटेर दैनिक करिब ५ सयको हाराहारीमा झरेको शाहले बताएकी छिन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका