म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले सरकारी सेवा लिन र होटल प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने निर्णय गरेको हो ।
यो निर्णय सरकारी तथा गैरसरकारी संघसंस्थामा समेत कडाइका साथ लागू गरिने भएको छ । जिल्लाभित्र तथा बाहिरबाट आउने सेवाग्राहीलाई कोरोनाविरुद्धको खोप कार्ड साथमा वा मोबाइमा भए पनि देखाएर मात्रै सेवा लिन निर्देशन दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले अनुगमनका क्रममा निर्णयको पालना नगरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताए । जिल्लामा कोरोना संक्रमण बढेसँगै कडाइ गरिएको हो ।
सदरमुकाम बेनीस्थित होटल तथा रेष्टुराँलाई निर्णय पालना गर्न सार्वजनिक रूपमा अपिल गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बेनी सबैभन्दा जोखिममा रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । हाल जिल्लामा कोरोनाका सक्रिय संक्रमित ३२ जना रहेका छन् ।