टेनिस खेलाडी नोभाकलाई देश निकाला • Nepal's Trusted Digital Newspaperटेनिस खेलाडी नोभाकलाई देश निकाला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टेनिस खेलाडी नोभाकलाई देश निकाला

टेनिस खेलाडी नोभाकलाई देश निकाला

  • समाचारपाटी
  • आइतवार, माघ २, २०७८
टेनिस खेलाडी नोभाकलाई देश निकाला

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियामा रहने अन्तिम प्रयासलाई एक अदालतले अस्वीकार गरेपछि उनलाई देश निकाला हुने भएको छ।

अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कायम राखेको छ।

अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्।

यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्।

जोकोभिचको प्रतिक्रिया

अदालतको निर्णयपछि जोकोभिचले आफू “एकदमै निराश” भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्।

“यो देशबाट म बाहिरिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नेछु,” उनले एक वक्तव्यमा भनेका छन्।

“गएको साताहरू ममाथि नजर केन्द्रित भएको कुराले म असहज छु र म आशा गर्छु कि अब हामी सबै मैले माया गर्ने खेल र प्रतियोगितामा केन्द्रित हुनेछौँ।”

किन भिसा रद्द?

शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा रद्द गरेका थिए।

अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन्।

ज्यानुअरी ६ मा पहिलो पटक भिसा रद्द हुँदा जोकोभिचले गत सोमवार अदालतमा मुद्दा जितेका थिए।

शनिवार जोकोभिचलाई पुनः हिरासतमा लिइएको थियो।

अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता सोमवार सुरु हुँदै छ र जोकोचिचले पहिलो चरणमा सोमवार राति सर्बियाकै खेलाडीविरुद्ध खेल्ने तालिका थियो।

अहिलेसम्म के-के भयो?

ज्यानुअरी ४: मेलबर्नमा हुने अस्ट्रेलियन ओपन खेल्न अनुमति पाएको जोकोभिचद्वारा जानकारी; खोप नलगाएका व्यक्तिले अस्ट्रेलिया प्रवेश गर्दा १४ दिन क्वारन्टीन बस्नुपर्ने भए पनि आफूले स्वास्थ्यसम्बन्धी छुट पाएको जोकोभिचको भनाइ

ज्यानुअरी ५: जोकोभिचको उडान अस्ट्रेलिया अवतरण

ज्यानुअरी ६: विमानस्थलमा सोधपुछपछि जोकोभिचको भिसा रद्द गरिएको अस्ट्रेलियाको घोषणा; उनको वकिलद्वारा मुद्दा दर्ता

ज्यानुअरी ८: जोकोभिचलाई डिसेम्बर १६ मा कोभिड सङ्क्रमण भएको वकिलको दाबी तर डिसेम्बर १७ मा विनामास्क बेलग्रेडमा युवा खेलाडीहरूलाई पुरस्कार दिँदै गरेको तस्बिर सार्वजनिक

ज्यानुअरी १०: अदालतद्वारा जोकोभिचको भिसा रद्द गर्ने सरकारको निर्णय गलत रहेको ठहर र न्यायाधीशद्वारा जोकोभिचलाई तुरुन्तै आप्रवास हिरासतबाट मुक्त गर्ने आदेश

ज्यानुअरी १४: अस्ट्रेलियाद्वारा दोस्रो पटक जोकोभिचको भिसा रद्द

ज्यानुअरी १५: जोकोभिच फेरि आप्रवास हिरासतमा

ज्यानुअरी १६: भिसा रद्द गर्ने सरकारको निर्णयविरुद्ध जोकोभिचको अपिल सङ्घीय अदालतद्वारा खारेज

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका