तनहुँको जीपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु • Nepal's Trusted Digital Newspaperतनहुँको जीपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँको जीपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

तनहुँको जीपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

  • समाचारपाटी
  • आइतवार, माघ २, २०७८
तनहुँको जीपी कोइराला उपचार केन्द्रमा अक्सिजन उत्पादन सुरु

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ । उपचार केन्द्रमा जडान गरिएको प्लान्टबाट पहिलो पटक अक्सिजन उत्पादन सुरु भएको हो ।

दुई करोड १८ लाख रुपैयाँको लागतमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए । अस्पताल नजिक रहेको विद्युत्को ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन उत्पादनमा तीन महिना ढिलाइ भएको उनले बताए ।

प्लान्टबाट दैनिक १०० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । तर अहिले आवश्यकताअनुसार मात्रै अक्सिजन उत्पादन गरिएको श्रेष्ठले बताए । कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरका बेला अक्सिजन नपाएर समस्या भइरहेका अवस्थामा सङ्घीय सरकारले केन्द्रमा प्लान्ट जडानका लागि रकम विनियोजन गरेको थियो ।

‘त्यसबेला अक्सिजन हाहाकार हुँदा बिरामीलाई निकै सास्ती भएको थियो, अब अस्पतालमै अक्सिजन उत्पादन भएपछि सहज हुन्छ’, उनले भने । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आइसकेकाले अब हुने सङ्क्रमितको उपचारमा यसले सहयोग पुर्‍याउने श्रेष्ठले बताए ।

तनहुँका स्थानीय तहले संयुक्त रूपमा लगानी गरेर उपचार केन्द्रमा आइसोलेशन भवन निर्माण गरिदिएका छन् । ओमिक्रोन भेरियन्टको जोखिम बढेसँगै आइसोलेशनलाई तयारी अवस्थामा राखिएको छ । उक्त आइसोलेशन लामो समयदेखि खाली छ । तीस शय्याको आइसोलेशनमा प्रत्येक शय्यामा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेशनमा पाँच शय्या सघन उपचार कक्ष र तीन शय्यामा भेन्टिलेटरको व्यवस्था गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका