खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी | Samacharpatiखोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी – Samacharpati
  • होमपेज
  • खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी

खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी

खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी

कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भने, ‘खोप लगाएका र नलगाएकामा तुलाना गर्दा खोप नलगाएकालाई १० गुणा बढी संक्रमण हुने, खोप नलगाएका १७ गुणा बढी अस्पताल पुग्ने र मृत्यु हुने सम्भावना २० गुणा बढी पाइएको छ । दुई डोज खोप लगाउन आवश्यक छ । त्यसैले खोप लगायो भने जित्न सकिन्छ । खोप लगाउनेलाई गाह्रो बनाउँदैन ।’

खोप लगायो भने सर्ने जोखिम कम हुने उनी बताउँछन् । ‘खोप लगायो भने एक-अर्कामा सर्ने मौका कम हुन्छ । खोप लगायो भने संक्रमणको संख्या कम हुन्छ,’ उनले भने । ओमिक्रोन भेरियन्ट पहिला लागेकालाई र खोप लगाएकालाई पनि लाग्ने बताउँदै उनले ओमिक्रोन एक जनाबाट १० जनालाई सर्ने बताए । ‘पहिलो लहरमा एक जना संक्रमित भयो भने अर्को दुई जना संक्रमित बनाउने थियो । दोस्रो लहरमा डेल्टा भेरियन्टले पाँच जनालाई र ओमिक्रोनले १० जनालाई संक्रमित बनाउने रहेछ,’ उनले भने, ‘ओमिक्रोन द्रूत गतिमा फैलिएको छ । नेपालमा पनि ओमिक्रोन प्रवेश गरेको देखिन्छ । जनस्वास्थ्यको मापदण्ड पालना नगरे डेल्टाभन्दा व्यापक रूप लिन सक्छ ।’

दैनिक २ हजार बढी संक्रमित देखिन थालेकाले तेस्रो लहरको सुरुवात भएको हुन सक्ने उनले बताए । ‘संक्रमितको संख्या बढेर दैनिक २ हजार नाघेको छ । तेस्रो लहरको सुरुवात हो कि भनेर भन्न सकिन्छ,’ उनले भने । ओमिक्रोन भेरियन्टले फोक्सोमा भन्दा पनि मथिल्लो श्वास नलिमा असर गर्ने उनी बताउँछन् । ‘ओमिक्रोन भेरियन्ट फोक्सोभन्दा पनि माथिल्लो श्वास नलिमा इन्फेक्सन गराउँछ । नाक, घाँटी र छातीमा टाँसिने रहेछ । डेल्टा फोक्सोमा पुग्ने र निमोनिया हुने थियो,’ उनले भने, ‘खोकी लाग्ने, जिउ दुख्ने, टाउको दुख्नेजस्ता लक्षण बढी देखिन्छ ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका