मैले साना दुःखले आर्जेको मुलुक होइनः पृथ्वीनारायण शाह • Nepal's Trusted Digital Newspaperमैले साना दुःखले आर्जेको मुलुक होइनः पृथ्वीनारायण शाह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मैले साना दुःखले आर्जेको मुलुक होइनः पृथ्वीनारायण शाह

मैले साना दुःखले आर्जेको मुलुक होइनः पृथ्वीनारायण शाह

  • समाचारपाटी
  • मङ्लबार, पुस २७, २०७८
मैले साना दुःखले आर्जेको मुलुक होइनः पृथ्वीनारायण शाह

 

पृथ्वीनारायण शाह (वि.सं.१७७९–१८३१) शाहवंशीय राजा थिए । स–साना राज्यहरूमा बाँडिएका बाइसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उनको सम्झनामा पुष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए ।

पृथ्वीनारायण शाहले स–साना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए । पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो । १८७१ कार्तिक १८ गते सुरु भएको नेपाल अङ्ग्रेज युद्ध पश्चात् सुगौली सन्धि सम्म यो भू–भाग नेपाल अधिनमा रहेको थियो। पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे सक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेपनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहेका थिए । नेपाल एकीकरण अभियानको पूर्णविराम चाहिँ उनको पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल–अङ्ग्रेज नेपाल अङ्ग्रेज युद्ध पछि भएको थियो । वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुञ्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो । २००९ सालदेखि योगी नरहरीनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको थियो ।

पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । उनको जन्म वि.सं. १७७९ पौष २७ गते बिहिबार भएको जन्म भएको थियो । सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो । धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण भएको मानिन्छ ।

उनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँँग भएको थियो । गोरखा र मकवानपुरबीच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसँग नियालेका थिए । सो समयमा गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन । त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौँ उपत्यकालाई विजय गर्ने मनसाय बनाइसकेका थिए । वि.स १७९८ मा काठमाडौँ आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसँग उनको मितेरी लगाई दरबारमा स–सम्मान लामो अवधिसम्म राखेका थिए । गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरी पशुपतिनाथको दर्शन गर्न गएको कुरा थाहा पाई काठमाडौँका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई उनीसँग मितेरी लगाएका थिए ।

उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो । मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनीतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो । तर, पछि हेमकर्ण सेन ले असमर्थता जनाएका थिए । उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो । नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाहको जन्म भएको थियो ।

वि.सं. १७९९ मा राजा नरभूपाल शाहको मृत्यू भएपछि पृथ्वीनारायण २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए। उनले प्रचलित नियम अनुसाअर आफू राज–सिंहासनमा रहने बित्तिकै माहिला भाइ महिद्दाम्कीर्ति शाहलाई चौतारा पदवी दिएका थिए। आफ्ना मुख्यमन्त्री र सेनापति भर्ना गर्नलाई यस अघिका काजी विराज थापा बूढा भैसकेका हुनाले एक योग्य नवयुवकको खोजी गरिरहेका थिए। गोरखाका रैतीले भीमराज पाँडेका छोरा कालु पाँडे रोजेका र यिनले लमजुङका राजासँग चलाखीका साथ सन्धी गरी राजनीतिमा योग्यता देखाएका हुनाले यिनै कज्याईँ दिई मुख्यमन्त्री बनाएका थिए ।

राजा हुनुअगावै उनले वि.स. १७९८ मा काठमाडौँ उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए । पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसंग वि.स. १७९९ मा एक सन्धि गरेका थिई जस अनुसार दुवै राज्यवीच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तमा उल्लेख थियो ।

नुवाकोटको युद्धमा पराजयको सामना गर्नुपरेकाले आवश्यक हातहतियारहरू सङ्कलनार्थ पृथ्वीनारायण शाह वनारस पुगेका थिए । उनले काशी जाँदा शासनको बागडोर जेठी आमा चन्द्रप्रभाअका हातमा छोडेका थिए । पिता नरभूपालले पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा गोत्र परिवर्तन गरेका थिए । सोही बेलामा तिर्थ गर्न भनी गएका जाजरकोटका राजा हरी शाहसँग उनले राज्यविस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरेका थिए ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौँ स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ जात र ३६ वर्णको साझा फूलबारीको सृष्टि गरेका थिए । पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारहरूले हेरेका छन् । तत्कालीन बाइसे र चौबीसे राज्यहरू, उपत्यकाका विभाजित मल्ल राज्यहरू, पूर्वका किराँत र लिम्बुवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो, जसको स्थान पृथ्वीनारायण शाहले पाएका थिए ।

उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भएको थियो । १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरू पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौँ पुगेका थिए । पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरूको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिए । यो पराजयले गोर्कालीहरूको महत्त्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरूमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो ।

पृथ्वीनारायण शाहले आर्थिक समृद्धिका बारेमा पनि धेरै कुरा व्यक्त गरेका छन् । मुलुक गरिब भयो भने सुरक्षित रहन सक्दैन भन्ने उनको मान्यता रहेको थियो । सरकारले कर उठाउनका लागि कसैलाई ठेक्का नदिइकन आफैँले सो कार्य गर्नु पर्छ भन्ने उनले धारणा रहेको थियो । तात्कालिक समयमा, उनले पूर्व र पश्चिमको बाटोहरू बन्द गर्दै काठमाडौँसम्मको यातायातको बाटो खुलाउने इच्छा राखेका थिए । पृथ्वीनारायण शाहले स्थानीय उत्पादनलाई जोड दिएका थिए । उनको कृति दिव्योपदेशमा उनले विदेशी व्यापारीहरू नेपाल प्रवेश गरेभने यसलाई मरुभूमि बनाएर छोड्ने धारणामा रहेका थिए। यस्तै सन्दर्भमा उनले विदेशी कपडा लगाउनलाई बहिष्कार गर्ने सल्लाह दिएका थिए र स्थानीय मानिसहरूलाई कपडा बुन्न प्रशिक्षण समेत दिएका थिए। स्थानीय सम्पत्ति देशबाट बाहिर जान नहुने उनको विश्वास रहेको थियो । उनले नेपाली जडिबुटीलाई विदेशी भूमिमा बेच्न र यसबाट प्राप्त सम्पत्तिलाई देशमा फिर्ता ल्याउन प्रोत्साहित गरेका थिए। उनी पैसा देश भित्र मात्र रहेको हेर्न चाहन्थे । उनले प्रसिद्ध भनाइमा उनले, “प्रजा मोटो भए दरबार पनि बलियो रहन्छ” भनेर बताएका थिए ।

पृथ्वीनारायण शाहले किल्लाहरू निर्माणमा जोड दिएका थिए । उनले नेपालको भूमिलाई भगवान आफैले बनाएको प्राकृतिक किल्लाको रूपमा लिएका थिए । उनले शिवपुरी, फूलचौकी, चन्द्रगिरी, महादेवपोखरी, पालुङ, डापाचा र काहुलेमा बलियो किल्ला तयार पार्न र प्रत्येकमा तोप राख्न सुझाव दिएका थिए । भञ्ज्याङमा फलामेका ढोकाहरू निर्माण गर्न र ती सबैमा तोपहरू तयारी अवस्थामा राख्ने गरि उनले निर्माण गराएका थिए जसमा उनले देशलाई जासूस, शरणार्थी, हत्यारा आदिबाट जोगाउने विश्वास गरेका थिए ।

वि.सं. १८३१ (सन् १७७४) मङ्सिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परेका थिए । स्वास्थ्य खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगिएको थियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भएको थियो । कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी गहिरो चोट परी घाइते भएको हिँदा मृत्यु भएको समेत उल्लेख छ । घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई ’दिव्योपदेश’ समेत भनिन्छ । “नेपाल दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ । दक्षिणको बादशाह महाचतुर रहेछ । जाइकटक नगर्नु, झिकी कटक गर्नु । नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो ।” इत्यादि सान्दर्भिक उपदेशहरू पृथ्वीनारायण शाहले दिएका थिए। माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको सङ्गम ‘मोहन तिर्थ’ वा देवीघाटमा उनको मृत्यु भएको थियो ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका