यी दुई पालिका तीन महिनादेखि अन्धकारमा | Samacharpatiयी दुई पालिका तीन महिनादेखि अन्धकारमा – Samacharpati
  • होमपेज
  • यी दुई पालिका तीन महिनादेखि अन्धकारमा

यी दुई पालिका तीन महिनादेखि अन्धकारमा

  • निरज
  • शुक्रबार, पुस २३, २०७८
यी दुई पालिका तीन महिनादेखि अन्धकारमा

गत कात्तिक १ गते बाढी र पहिराेका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् ।

करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिराेले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्‍याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा उज्यालो छैन । स्थानीयवासीले अहिले देवदार वा सल्लोको झरो (दियालो) बालेर काम चलाउँदै आएका छन् । त्यहाँका स्थानीयले अहिले सामान्यतः मोबाइल चार्ज गर्न पाएका छैनन् । विद्युत् नहुँदा कुटानीपिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन् ।

तीन महिनायता अन्धकारले गर्दा पशुजस्तो जीवन जीउनुपरेको तिला–४ साँपुल्ली गाउँका जमाने सुनारले दुखेसो पाेखिन् । ‘मान्छेहरू खाना पकाउने, टिभी चलाउने, उद्योगधन्दा चलाउने सबै काम विद्युत्बाटै गर्छन् तर हामीलाई घरमा उज्यालो हुने बिजुली छैन’, सुनारले भने, ‘हामीजस्ता गरिबका निम्ति बिजुली कसले ल्याइदिने ? सामान्य मोबाइल चार्ज हुन नसक्दा कालापहाड गएको छोरासँग फोन गर्न पाइएको छैन ।’

बाढी र पहिराेले गर्दा तिला–४ साँपुल्ली, रावतवाडा, नुवकोट गाउँमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायतका क्षेत्रको विद्युत् क्षति पुर्‍याउनुका साथै सयौँ कित्ता जमिन कटान गरेको छ ।

त्यस्तै बाढीले सयौँ किसानको धान, मकै, सिमी, चिनो, कोदोबाली र स्याउ बगैँचा, स्थानीय घट्ट, चिरानी, कुटानीपिसानी मिल बगाएको थियो । क्षतिबाट प्रभावित क्षेत्रका नागरिकले अहिलेसम्म महसुस हुने गरी कुनै पनि सरकारबाट राहत प्राप्त गरेका छैनन् ।

 

गत कात्तिकमा कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको टोलीले बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो । मन्त्री भण्डारी नेतृत्वको टोलीले स्थलगत अवलोकनबाट फर्केर तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई बाढीपीडित नागरिकलाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन प्रभाव पार्ने खालका प्याकेज कार्यक्रम सञ्चालन गर्न मागपत्रसहित ध्यानाकर्षण गराएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका