अस्ट्रियाः आत्महत्या गर्न पाउने देश | Samacharpatiअस्ट्रियाः आत्महत्या गर्न पाउने देश – Samacharpati
  • होमपेज
  • अस्ट्रियाः आत्महत्या गर्न पाउने देश

अस्ट्रियाः आत्महत्या गर्न पाउने देश

अस्ट्रियाः आत्महत्या गर्न पाउने देश

 

मध्य युरोपेली मुलुक अस्ट्रियामा अरूको सहयोग लिएर आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । असाध्य रोग लागेका वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले यो सातादेखि अरूको सहयोग लिएर आत्महत्या गर्ने प्रावधानको प्रयोग गर्न पाउने भएका हुन् । संवैधानिक अदालतको निर्देशनपछि गत महिना त्यहाँको संसद्ले यस सम्बन्धी कानुन बनाएको थियो । तर यो अभ्यासलाई कडा नियमन गरिने जनाइएको छ । आत्महत्या रोज्ने प्रत्येक निर्णयलाई दुई चिकित्सकले मूल्याङ्कन गरेपछि मात्रै स्वीकृति दिइने जनाइएको छ । ती चिकित्सकमध्ये एकजना प्यालीअटिभ केअर अर्थात् गम्भीर रोग हुँदा उपलब्ध गराइने विशेष हेरचाहसम्बन्धी विशेषज्ञ हुनुपर्छ । मानिसहरूले अन्य विकल्प रहेसम्म मृत्यु नरोजून् भनेर सरकारले त्यस्तो हेरचाहका लागि कोषमा रकम विनियोजन गरेको बताइन्छ ।

आफ्नै जीवन समाप्त गर्नका लागि मानिसहरूलाई कुनै सहयोग उपलब्ध गराइने आत्महत्या अस्ट्रियाको छिमेकी स्विट्जरल्यान्डमा यसअघि नै वैधानिक छ । स्पेन, बेल्जियम र नेदरल्यान्डसहित धेरै युरोपेली मुलुकमा आत्महत्याको यो तरिकालाई अपराध मानिँदैन । यद्यपि चिकित्सकको अनुमतिबिना अरूको सहयोग लिएर गरिने आत्महत्या अस्ट्रियामा अझै पनि गैरकानुनी छ । नयाँ कानुनले बालबालिका र मानसिक समस्या भएका व्यक्तिहरूलाई आत्महत्या रोज्न रोक लगाएको छ ।

प्रक्रिया के छ ?
आफ्नो जीवन अन्त्य गर्न चाहने वयस्कहरूले आफ्नो स्वास्थ्य परीक्षण गरेर आफ्नो निर्णय आफैँ लिन सक्षम भएको निश्चित गर्नुपर्नेछ । दुई चिकित्सकबाट अनुमति पाएपछि पनि मानिसहरूले आफ्नो निर्णयबारे पुनर्विचार गर्न १२ हप्तासम्म पर्खिनुपर्नेछ । निको भएका बिरामीले पनि दुई हप्तासम्म आफ्नो निर्णय पुनर्विचारका लागि पर्खिनुपर्ने व्यवस्था छ । यो प्रतीक्षा अवधिपछि पनि आत्महत्या रोज्न दृढ देखिए उनीहरूले वकिल वा नोटरीलाई जानकारी गराएर औषधि पसलबाट प्राणघातक औषधि लिन पाउँछन् ।

प्राणघातक औषधिको दुरुपयोग रोक्न मानिसहरूले आत्महत्याको निर्णयबारे जानकारी गराएका वकिल वा नोटरीलाई मात्रै औषधि पसलबारे जानकारी हुनेछ । यस्ता औषधि पसलहरूलाई आफ्नो विज्ञापन गर्न समेत रोक लगाइएको छ । अस्ट्रियामा कसैलाई आत्महत्यामा सहयोग गर्नेलाई पाँच वर्षसम्म सजाय हुने कानुनी व्यवस्था छ । तर सङ्घीय अदालते एक वर्षअघि “मानिसहरूले आत्मनिर्णयको अधिकार कुण्ठित भएको” ठहर गर्दै अरूको सहयोग लिएर आफैँलाई मार्न लगाइएको पूर्ण प्रतिबन्ध हटाउन आदेश दिएको थियो । कसैले अनुरोधमा मर्न सघाउनेहरूलाई अझै पनि अस्ट्रियामा पाँच वर्ष जेल सजाय हुने कानुनी व्यवस्था कायम छ ।

संसद्बाट नयाँ कानुनी व्यवस्था पारित हुनुअघि केही विपक्षी दलहरूले आत्महत्या चाहनेहरूलाई अझै पनि धेरै कानुनी झन्झट रहेको बताएका थिए । एकजना मनोचिकित्सकको मूल्याङ्कन मात्रै बिरामीहरूको निर्णय क्षमता पहिचानका लागि पर्याप्त नरहेको भन्दै अन्य दलहरूले थप प्रतिबन्धहरू राख्न आवश्यक रहेको तर्क गरेका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका