हिटर प्रयोग गर्न नजाने जान सक्छ ज्यान • Nepal's Trusted Digital Newspaperहिटर प्रयोग गर्न नजाने जान सक्छ ज्यान – Nepal's Trusted Digital Newspaper हिटर प्रयोग गर्न नजाने जान सक्छ ज्यान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हिटर प्रयोग गर्न नजाने जान सक्छ ज्यान

हिटर प्रयोग गर्न नजाने जान सक्छ ज्यान

  • आइतवार, पुस १८, २०७८
हिटर प्रयोग गर्न नजाने जान सक्छ ज्यान

 

जाडो लागेपछि हिटर प्रयोग गर्नु अतिआवश्यक भइरहेको छ । दाउराको युगबाट हामी बिजुलीको युगमा प्रवेश गरेको पनि निकै नै भइसेकेको छ । हामी आधुनिकतामा प्रवेश गरिसकेको पुस्ता हौँ ।
तर वर्षेनी हामीले दुर्घटनाको समाचार पनि अत्याधिक नै सुन्दै आएका छौँ । हिटर वा गिजरको प्रयोगमा वर्षेनी यहाँ मान्छेले मृत्युवरण गरेको समाचार कुनै नौलो भने होइन । त्यसो त हामीले दाउरा प्रयोग हुँदा पनि घटना भने नभएका होइनन् । काठमाडौको बागबजारस्थित काठमाडौ मोडेल कलेज (केएमसी) को छात्रावासमा एक विद्यार्थीको मृत्यु भयो । नुहाउने क्रममा बेहोस भएका उनलाई अस्पताल लग्दालग्दै मृत्यु भएको कलेजका प्रधानाध्यापक डा. नवीन्द्र बहादुर अर्यालले जानकारी दिएका थिए ।

चिसो छल्न प्रयोग गरिने विद्युतीय वा ग्यास हीटर तथा गिजरका कारण भएको भनिएको यो पहिलो घटना भने होइन । जाडो महिनामा त्यस्ता उपकरणको प्रयोगपछि दुर्घटनामा परी अस्पताल भर्ना हुने र मृत्यु हुनेको सङ्ख्या उल्लेख्य मात्रामा हुने चिकित्सकहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका डा. नीरज बम भन्छन्,“मृत्युका घटना बाहिर आउँछन् तर घाइते हुनेहरूबारे कसैलाई थाहा हुँदैन । यस वर्ष जाडो लागेपछि थुप्रै बिरामी नुहाउँदानुहाउँदै वा आगो ताप्दाताप्दै निसासिएको, बेहोस भएको भन्दै ल्याइएका छन्। उनीहरू ठिक भएर घर फर्किन्छन् ।”

के कारण निसासिन्छन् मानिस ?

ग्यासबाट चल्ने हीटर र गिजर चलाउँदा वा कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरू बताउँछन् । जुन कोठा वा नुहाउने कोठामा फैलिन्छ। चिसो मौसममा कोठाको झ्यालढोका बन्द रहने भएकाले बाहिरबाट अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट दूषित कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन । “त्यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड हामी सासबाट लिन थाल्छौँ । त्यो मानिसको फोक्सोमा पुग्छ र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिन्छ” डा. बम भन्छन् । सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पु¥याउँछ । तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ । “त्यसपछि मानिसमा निसासिने समस्या देखिन थाल्छ” उनले भने । उनका अनुसार यो अवस्थालाई “कार्बन मोनोक्साइड पोइजनिङ” भनिन्छ । पल्मनरी एन्ड क्रिटिकल केअरविज्ञ डा. रक्षा पाण्डेले भने कार्बन मोनोक्साइडको रङ्ग र गन्ध नहुने भएकाले झट्ट पहिचान गर्न गाह्रो हुने जानकारी दिइन् । अक्सिजनको तुलनामा कार्बन मोनोक्साइड चाँडो हेमोग्लोबिनमा टाँसिन्छ ।

कस्ता समस्या देखिन्छन् ?
कार्बन मोनोक्साइड शरीरका भागहरूमा फैलिएपछि सुरुमा टाउको गह्रौँ हुने र दुख्ने, रिँगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन् । गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्नेजस्ता समस्या आउँछ । समस्या भोगिरहेको मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन । उनीहरू बाहिर निस्किन पनि सक्दैनन् । त्यसैले निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा ज्यान जान सक्छ । मुटुले अक्सिजन नपाउने यस अवस्थालाई ‘एरिद्निया’ भनिन्छ । यस अवस्थामा मुटुको गति र ताल असन्तुलित हुने चिकित्सकहरू बताउँछन् । यस्तो दुर्घटना प्रायः गिजर प्रयोग गरी नुहाइरहेको वा हिटर बालेर सुतिरहेको अवस्थामा हुन सक्छ । “सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुन्छन् । न रिँगटा लागेको थाहा पाउँछन् न टाउको दुखेको नै । त्यसैले बेहोस हुन्छन् र उठ्न सक्दैनन् ।”

अरू कस्तो जोखिम भए ?

केही वर्षअघि पुस महिनाको ७ गते। कलङ्की बस्ने इन्जिनियर दम्पती पुष्करराज जोशी र अप्सरा श्रेष्ठको कोठाबाट धुवाँको मुस्लो निस्कियो । धुवाँसँगै हारगुहारको आवाज सुनेपछि छिमेकीहरू उद्धार गर्न गए । कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पु¥याउँदासम्म त उनीहरू होसमै थिए । उनीहरूका १४ महिने छोरालाई भने त्यहाँ बच्चाको भेन्टिलेटर नभएकै कारण भक्तपुरस्थित सिद्धि मेमोरियल अस्पताल पु¥याइयो । उपचार र ठिक हुने आशाबीच घटना भएको पाँच दिनपछि पुष्करको निधन भयो । त्यसको चार दिनपछि पुस १६ गते अप्सराको पनि मृत्यु घोषणा भएको उनका बुबा प्रेमकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूका छोरा अहिले चार वर्षका भए। उनी शरीरको विभिन्न भागमा पोलेको घाउ बोकेर हजुरबुबा र हजुरआमासँग हुर्किरहेका छन् । प्रहरीका अनुसार घटना भएको रात कोठामा ग्यास हीटर प्रयोग भएको थियो। त्यही हीटरको ग्यास चुहिएर आगलागी भएको प्रहरीको अनुमान छ ।

के हुन सक्छ समाधानका उपाय ?

तातोका लागि ग्यासबाट चल्ने वा विद्युतीय उपकरण प्रयोग गर्दा बाह्य र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँ बनाउँदा तथा झ्याल वा भेन्टिलेशन खुला राख्दा जोखिम घट्ने डा. बमको कथन छ । उनले कार्बन मोनोक्साइड हावामा हलुका हुने र खुला ठाउँबाट बाहिर निस्किने जानकारी दिए । दुर्घटना भइहालेको अवस्थामा अस्पताल पु¥याउनुको विकल्प रहँदैन । कार्बन मोनोक्साइड पोइजनिङ भएकाहरूलाई तीव्र गतिमा प्रवाह हुने अक्सिजन सहायतामा राख्नुपर्छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका