भूकम्प गएको ६ वर्षपछि काष्ठमण्डपको पुनर्निर्माण सकियो – Samacharpati Samacharpatiभूकम्प गएको ६ वर्षपछि काष्ठमण्डपको पुनर्निर्माण सकियो – Samacharpati
  • होमपेज
  • भूकम्प गएको ६ वर्षपछि काष्ठमण्डपको पुनर्निर्माण सकियो

भूकम्प गएको ६ वर्षपछि काष्ठमण्डपको पुनर्निर्माण सकियो

भूकम्प गएको ६ वर्षपछि काष्ठमण्डपको पुनर्निर्माण सकियो

२०७२ सालको भूकम्पका कारण क्षति भएको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम सम्पन्न भएको छ । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ सहयोगमा स्थानीय उपभोक्ता समितिमार्फत् निर्माण गरिएको हो ।

आगामी माघ २ मा भूकम्प दिवसका दिन उद्घाटनको तयारी भइरहेको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए ।  उद्घाटनकै दिन काष्ठमण्डपको ऐतिहासिक महत्व र पुनः निर्माणका क्रममा भएको जानकारी समावेश गरिएको पुस्तक प्रकाशनको तयारी छ । यही पुस मसान्त्सम्म पुस्तक प्रकाशनको काम पूरा हुने शाक्यले बताए ।

मंसिरमै सम्पदा पुनःनिर्माणको काम सकिएको हो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएको उक्त सम्पदा ६ वर्षपछि पुनःनिर्माण गरिएको हो । विसं २०७५ वैशाख १६ गतेदेखि पुनःनिर्माणको काम समितिमार्फत सुरु गरिएको थियो ।

६ जिल्लाबाट ल्याइयो काठ 

काष्ठमण्डप पुनःनिर्माणका लागि तराईका ६ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको छ । अध्यक्ष शाक्यका अनुसार काष्ठमण्डप पुनःनिर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ । अन्यको तुलनामा सालको काठ बढी टिकाउ हुने भएकाले काष्ठमण्डप पुनःनिर्माणमा सालको काठ प्रयोग गरिएको शाक्यको भनाइ छ ।

काष्ठमण्डपको मूल थाममा प्रयोग भएको काठ महोत्तरीबाट ल्याइएको हो । ‘काष्ठमण्डपका मूल चार  थाममध्ये एउटा थाम पुरानै र तीन नयाँ प्रयोग गरिएको छ । पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्याइएको अग्राखको हो । पुनःनिर्माणका क्रममा धेरै नयाँ काठको प्रयोग भए पनि केही पुराना काठको पनि प्रयोग छ ।

पुनःनिर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ । त्यसैगरी भूकम्पका कारण क्षति भएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको हालसम्म ३० सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । यहाँ ७० सम्पदामध्ये १२ मा भूकम्पले क्षति गरेको थिएन ।

भूकम्पले क्षतिग्रस्त ५८ सम्पदामध्ये २५ को पुनःनिर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । यस क्षेत्रका सम्पदामध्ये नासल चोक, राणाकालीन सेतो भवन, फरास खाना, पृथ्वीनारायण शाहको शयनकक्ष, त्रिभुवन स्मृति भवन, देगु तलेजु मन्दिरको आगामी दुई वर्षमा सक्नेगरी काम सुरु गरिएको छ । अहिले बनिरहेका सम्पदाको काम पूरा नगरी अन्य नयाँ काम सुरु गर्न नसकिने भएकाले अझै पुनःनिर्माणको काम हुन नसकेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका