एमसीसी के हुँदैछ ? – Samacharpati Samacharpatiएमसीसी के हुँदैछ ? – Samacharpati

एमसीसी के हुँदैछ ?

एमसीसी के हुँदैछ ?

 

काठमाडौँ ।

झन्डै ६० अर्ब रुपैयाँ बराबरको अमेरिकी आर्थिक अनुदान सहायता कार्यक्रम अघि बढाउने विषयमा छलफल गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका छन् । अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसी सांसदबाट पारित गर्ने योजनासहित सरकारले संसदको हिउँदे अधिवेशन आह्वान गरेको आंकलन गरिए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाट यो सम्झौता अघि बढाउन तीन अड्चन देखिन्छन् । सांसदबाट यो सम्झौता पारित गर्न चाहिने आवश्यक बहुमत प्रधानमन्त्री देउवाको पार्टीसँग छैन । बहुमतको सरकार बनाउन उनलाई सहयोग गरेको प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र नै एमसीसीबारे अनिर्णीत छ ।

कांग्रेस र माओवादी नेतृत्वको संयुक्त सरकारका पालामा हस्ताक्षर भएको र एमाले नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको सम्झौतामा अपनत्व लिन एमाले र माओवादी दुवै पछाडि हटेको विश्लेषकहरूको बुझाइ छ । सम्झौताको अपनत्व लिनबाट दलहरू पछि हट्नुको एउटा कारण एमसीसीबारे सर्वसाधारणमा फैलिएका भ्रम र कतिपय राजनीतिक दल र विज्ञहरूले यसबारे उठाएका आशङ्का रहेको जानकारहरू बताउँछन्। त्यही कारण निर्वाचनको सँघारमा सत्तापक्षले यो सम्झौता संसद्बाट अघि बढाउन नहुने बुझाइ सरकारमै रहेका दल र कतिपय नेताहरूमा देखिन्छ ।

एमसीसीबारे अमेरिकाको प्रतिस्पर्धी विश्व शक्तिको रूपमा उदीयमान चीनको चासोका कारण पनि चीनसँग नजिकको सम्बन्ध भएका विशेषगरी कम्युनिस्ट पार्टीहरू यसको विपक्षमा देखिएको बताइन्छ ।

कतिपय दल र समूहले एमसीसी पारित नगर्न दबावसहित प्रदर्शनहरू जारी राखेका छन्।
सम्झौतामा हस्ताक्षर गरेको चार वर्षसम्म पनि कार्यान्वयनमा नआएको एमसीसी अघि बढाउने प्रतिबद्धता नेपालले बारम्बार दोहो¥याउँदै आएको छ ।

अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशनले गत बुधवार आफ्नो समीक्षा बैठकपछि जारी गरेको एक विज्ञप्तिमा ‘निकट भविष्यमा अनुमोदन गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गरेको’ जनाएको छ ।

गएको सेप्टेम्बरमा एमसीसी उपाध्यक्ष फातिमा जी सुमार र नोभेम्बर महिनामा अमेरिकी सहायक विदेशमन्त्री डोनल्ड लूले प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता पक्षीय र प्रतिपक्षका प्रमुख नेताहरूसँग भेटेका थिए ।

सरकारले नियमित समयभन्दा केही अघि बोलाएको संसदको जारी हिउँदे अधिवेशनमा एमसीसी अघि बढ्ने अनुमान गरिए पनि आफ्नो तयारीबारे सरकार पक्षले कुनै प्रतिक्रिया दिएको छैन ।

सम्झौताबारे दलहरूको धारणामा आएको परिवर्तनका कारण अमेरिकाको ताकेता र प्रधानमन्त्रीको चाहना भएपनि सदनबाट पारित गर्ने प्रक्रिया अघि बढाउन सरकारलाई असहज देखिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका