पोखरा, २ पुष । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा पोखरामा बिहीबारबाट नाटक लेखन कार्यशाला सुरु भएको छ ।
कार्यशालाको उद्घाटन समारोहमा बोल्दै सहजकर्ता समेत रहनुभएका लेखक, निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले पछिल्लो क्रममा पोखरामा नाट्य गतिविधि बढ्दै गएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यशालामा सहभागी भएका सबैजनालाई नाटक लेख्ने बनाएर छोड्ने उहाँको प्रतिबद्धता छ । ‘कार्यशाला सफलता उन्मुख छ, विभिन्न ठाउँबाट सहभागी आउनुभएको छ, प्रोसेसको बारेमा सिकाएर सबैलाई नाटक लेख्ने बनाएर छोड्छु’ प्रशिक्षक लामिछानेले भन्नुभयो ।
पोखराबाटै आफ्नो कलाकारिता क्षेत्रको यात्रा सुरु गर्नुभएका लामिछानेले पोखरामा आफैले नाटकघर सञ्चालन गर्ने सपना देखेको भएपनि पुरा नभएको खुलाउनुभयो । ‘करियर पोखराबाट सुर भएको हुनाले मेरो पोखरासँग विशेष सम्बन्ध रहेको छ, हुनत मेरो जन्म पनि पोखरामानै भएको हो । काठमाण्डौमा नाटक घर गर्दाखेरी पोखरामा नाटकघर खोलेर बस्छु भन्ने सपना देखें, जग्गा हेर्न धेरैं ठाउँमा हिडे, तर भनेजस्तो ठाउँ भेटिन, मलाई लेखेको थिएन सायद, काठमाण्डौ फर्किए, पछि सुने नाटक घर खुल्यो भनेर त्यतिबेला म निकै खुशी भएको थिए’ उहाँले सुनाउनुभयो ।
पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालको अध्यक्षतामा भएको नाटक लेखन कार्यशाला उद्घाटन कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्य सचिव मनकुमार श्रेष्ठ र कार्यक्रम संयोजक सुरेन्द्र गुरुङले बोल्नुभएको थियो ।
कार्यशालामा ८ जना सहभागी छन् । जसमा गुल्मीकी रिता ज्ञवाली, झापाकी गीता बुढाक्षेत्री, संखुवासभाकी पत्रिका घिमिरे, हुम्लाका नरेन्द्र बुढाथोकी रहेका छन् । यसैगरी कास्कीका शरद भण्डारी, दर्शन कुँवर, अजय जिसी र रोशनी श्रेष्ठ समेत कार्यशालामा सहभागी छन् ।
देशभरबाट आवेदन दिन मिल्ने गरी खुल्ला रुपमा आवेदन खुलाइएकोमा आवेदन दिने मध्येबाट उनीहरु छानिएको कार्यशालाका संयोजक एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका संगीत नाट्य तथा संस्कृति विभाग प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । पोखरा थिएटरसँगको सहकार्यमा सञ्चालन हुने कार्यशाला पौष ११ गतेसम्म चल्नेछ ।