तेक्वान्दो संघ अध्यक्षमा प्रकाश शम्शेर राणाको निरन्तरता | Samacharpati तेक्वान्दो संघ अध्यक्षमा प्रकाश शम्शेर राणाको निरन्तरता – Samacharpati
Samacharpati
मङ्लबार, अशोज २६, २०७८
  • होमपेज
  • तेक्वान्दो संघ अध्यक्षमा प्रकाश शम्शेर राणाको निरन्तरता

तेक्वान्दो संघ अध्यक्षमा प्रकाश शम्शेर राणाको निरन्तरता

तेक्वान्दो संघ अध्यक्षमा प्रकाश शम्शेर राणाको निरन्तरता

भैरहवा, १७ असाेज । नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाश शम्शेर राणाले नै निरन्तरता पाउनभएकाे छ । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएकाे हाे । राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आउनुभएकाे छ । उहाँ २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।

यसैगरी उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रुपमा चयन हुनुभएकाे छ । उपाध्यक्षका अर्का उम्मेदवार भोजबहादुर शाहले अन्तिम समयमा नाम फिर्ता लिएपछि रेग्मी, पोखरेल र राई सर्वसम्मत हुनुभएकाे हाे । यसैगरी महासचिवमा दीपराज गुरुङ र कोषाध्यक्षमा कासिममिया धोबी सर्वसम्मत रुपमा चयन हुनुभएकाे हाे ।

यसैगरी सदस्यहरुमा कुमार लामा घिसिङ, साम्राज्यविक्रम पाण्डे, सुमन पराजुली, नन्दा बस्याल, रवि थापा, राम गिरी, दीपेन्द्र चन्द ठकुरी, मदन केसी, गुरुप्रसाद गौतम, मणिराज विष्ट र कोशिस खड्का सर्वसम्मत रुपमा चुनिनुभयाे । चौथो अधिवेशनको उद्घाटन संघीय सांसद प्रमोद यादवले गर्नुभएकाे थियाे ।

उहाँले तेक्वान्दो देशलाई सर्वाधिक पदक दिलाउने खेल भएको बताउँदै राज्यले विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयाे । यसैगरी संघीय सांसद  इस्तियाक अहमद खान, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश शिवाकोटी, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव फणिन्द्र पौडेललगायतले चौथो अधिवेशन सफलता र नयाँ पदाधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएकाे  थियाे ।

उद्घाटन समारोहमा इन्जिनियर सञ्जीव रेग्मी र कासिममिया धोबीलाई ‘एनटीए प्रेसिडेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यसैगरी अर्पण
पराजुलीलाई ‘एनटीए हिरोज’, दीपेन्द बहादुर नेपालीलाई ‘एनटीए इन्स्ट्रक्टर’ र गोपाल राईलाई ‘मास्टर्स’ अवार्ड प्रदान गरिएको थियो । पराजुलीलाई नगद ३० हजार, राईलाई १५ हजार र नेपालीलाई १५ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

यस्तै रोसिद खान, दीपेन्द्रमान श्रेष्ठ र सञ्जय बजिमयलाई प्रसंशापत्र सम्मानित गरिएको थियो । अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने थियो । अध्यक्ष राणाले खेलकुद विकास ऐन अनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने जानकारी दिनुभयाे ।

उहाँले देशका विभिन्न पालिकाहरुमा तेक्वान्दो विकास समिति गठनको काम पनि निरन्तर रुपमा भइरहेको बताउनुभयाे । २०३९ सालमा नेपाल मार्सल आर्ट्स संघअन्तर्गत रहेको तेक्वान्दो २०४६ पछि छुट्टै संघका नाममा स्थापित भएको हो । लामो समय तदर्थ रुपमा सञ्चालन
हुँदै आएको संघको २०६६ मा वीरगञ्जमा पहिलो पटक लोकतान्त्रिक विधिबाट पदाधिकारी चयन गरिएको थियो । यसैगरी संघको २०७० मा
दोस्रो र २०७४ मा तेस्रो अधिवेशन सम्पन्न भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता