पहिरोले सात जनाको मृत्यु | Samacharpati पहिरोले सात जनाको मृत्यु – Samacharpati
Samacharpati
शनिबार, मंसिर १८, २०७८
शनिबार, मंसिर १८, २०७८

पहिरोले सात जनाको मृत्यु

पहिरोले सात जनाको मृत्यु

२५ असार – अविरल वर्षापछिको पहिरोले घर पुरिँदा दार्चुलामा तीन, पाल्पा र तनहुँमा दुई/दुई गरी सात जनाको ज्यान गएको छ। दार्चुलामा बिहीबार बिहान एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा नौगाड गाउँपालिका–३ देउलाडका ७२ वर्षीया देवरुदेवी ठगुन्ना र उनकी तीन महिनाकी नातिनी मञ्जरी ठगुन्ना छन्। यस्तै २९ वर्षीय लक्ष्मण सितोलीको मृत्यु भएको गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले बताए।

प्रहरी र स्थानीयले तीनै जनाको शव निकालेका थिए। नौगाडमा तीनवटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। दर्जनौं घर बाढीको उच्च जोखिममा रहेका स्थानीयले बताएका छन्। बाढी गएको क्षेत्रमा उद्धार गर्न बाटो अवरुद्ध भएको छ।

जामिरमा पहिरोले झोलुंगे पुल बगाएको छ। जामिर खोलामा बाढी पसेपछि एक गाउँबाट अर्को गाउँ जाने बाटो बन्द भएका छन्। खहरेहरूमा बाढी आएकाले नेपाल प्रहरीलाई घटनास्थलहरूमा पुग्न कठिनाइ भइरहेको छ।

प्रहरी चौकी दल्लेख र होपरीगाडबाट प्रहरी खटिएको दार्चुलाका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए। बाढीले नौगाड–३ मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत् आयोजना बगाएको छ। आयोजनाका सबै संरचना ध्वस्त भएको स्थानीय हरकसिंह धामीले बताए। बाढीले खार र जामिर जोड्ने झोलुंगे पुल, तीनवटा निर्माणाधीन आरसीसी पुल, तीनवटा घट्ट र तीनवटा पानीको मुहान पनि बगाएको छ। कति घर क्षति भए भन्ने यकिन नभएकोे धामीले बताए। गोकुलेश्वर हुँदै देथला खार खलंगा जोड्ने सडक अवरुद्ध भएको छ। सुदूरपश्चिम प्रदेशको गौरव योजनाअन्तर्गत कालोपत्रे भइरहेको सडक अवरुद्ध भएको हो। बाटो अवरुद्ध हुँदा शव पोस्टमार्टम गर्न समस्या भएको छ। नौगाडबाट शैल्यशिखर नगरपालिकाको गोकुलेमा पोस्टमार्टमका लागि ल्याउनुपर्ने शव ल्याउन गाह्रो भएको छ।

चुनढुंगा खानीको पहिरोले बगायो बस्ती
पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टीखानीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय वीरबहादुर गुरुङ र ४ वर्षीय बालक आरोप परियार छन्। गुरुङको शव बिहीबार बिहान र परियारको शव दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।

७५ वर्षीया सुन्दरी गुरुङ, २६ वर्षीय रमेश परियार, २४ वर्षीया पूजा परियार, ७५ वर्षीय बलबहादुर पुन, २० वर्षीय आकाश तामाङ, २२ वर्षीय दिलबहादुर राना र १५ वर्षीय दीपेश पुन घाइते भएका छन्। घाइतेमध्ये ७५ वर्षीया सुन्दरी गुरुङको अवस्था गम्भीर छ। घाइतेहरूको उपचार लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनमा भइरहेको छ।
पहिरोले घरसँगै सडकसमेत बगाएको छ। सडकमा ठूला ढुंगा खसेका छन्। कतै सडकभरि पहिरोको लेदो जमेको छ।

पहिरोले वीरबहादुर गुरुङ, रमेश परियार, नरबहादुर राना, हरि दर्लामी र बलबहादुर पुनको घर पुरिएको छ। पहिरोबाट विस्थापितलाई कल्याणी आधारभूत विद्यालयमा बस्नेखाने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए। सडकबाट माथि चुनढुंगा उत्खनन क्षेत्र छ। सडक किनारमा रहेको घरबस्ती चुनढुंगा खानी क्षेत्रबाट खसेको पहिरोले बगाएको हो। गिट्टी खानी क्षेत्रमा १२ घरपरिवार बस्दै आएका थिए।

पहिरोका कारण बुधबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्ड बिहीबार रातिसम्म खुलेको छैन। सिद्धबाबा, झुम्सा, पानीमिल, हिउँदे खोला, लामेदमारमा खसेको पहिरो हटाउने काम भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए। जिल्लाका अन्य स्थानमा भने खसेका पहिरो पन्छाएर यातायात निरन्तर भएको छ।
दाङमा एक जनाको मृत्यु
दाङको घोराही उपमहानगरपालिका–१७ मा घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ। ३० वर्षीया मनीषा चौधरीकी छोरीको मृत्यु भएको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए। पर्खालमा पुरिएर चौधरीसहित उनकी नौ वर्षीया छोरी बाटुली घाइते भएका छन्। घाइते दुवैको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ।

तनहुँमा २ को मृत्यु
तनहुँको ऋषिङ–७ दधिवनमा पहिरोले घर पुरिँदा एक वृद्धाको ज्यान गएको छ। पहिरोले ६० वर्षीया देवीसरा मगरको घर बगाएको र उनी पुरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए। श्रीमान् भागे पनि उनी भने भाग्ने क्रममा पहिरोले पुरिएको जनाइएको छ। यसअघि घरगोठ पहिरोले पुर्दा बेपत्ता ऋषिङ–८ मझकोटका खुमबहादुर आलेको शव भेटिएको छ। सैनिक, प्रहरी र स्थानीयले करिब १२ घण्टापछि शव भेटेका हुन्। ढुंगाले च्यापेको अवस्थामा उनको शव भेटिएको रेडक्रस सोसाइटी कोटादरबार सभापति इन्द्र आलेले बताए।
त्यस ठाउँमा अरू तीन घर पहिरोले बगाएको छ। अरुमा मानवीय क्षति नभए पनि विस्थापित भएका छन्। त्यस क्षेत्रमा उद्धारका लागि सैनिक र प्रहरी परिचालन गरिएको थियो। गाउँपालिकाका अधिकारी दानबहादुर श्रेष्ठले विभिन्न स्थानमा भूस्खलन भएको जानकारी दिए।

ऋषिङ गाउँपालिकाले भीमाद देउराली तर्फबाट र भिर्कोट तर्फबाट सडकको अवरोध खोल्ने तथा सम्बन्धित स्थानमा जेसिभिसम्म पु¥याउन प्रयास गरिरहेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। निरन्तर दर्किरहेको झरी र ठाउँठाउँका पहिरोको अवरोधले समस्या गरिरहेको उद्धारमा संलग्न अधिकारीले बताएका छन्। गाउँपालिकाका धेरै ठाउँमा दर्जनौं घर जोखिममा रहेको जानकारी प्राप्त भएको आलेले बताए।

खोला तर्ने क्रममा एक बेपत्ता
खोला तर्ने क्रममा म्याग्दे ४ घुम्तीबाट स्थानीय करिब ४२ वर्षका मैते नेपाली बेपत्ता भएका छन्। म्याग्दे खोला निकै बढेकाले उनलाई बगाएको तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार एकाइ सभापति भीमलाल श्रेष्ठले बताए। बेपत्ताको खोजी भइरहेको प्रहरीले बताएको छ। यस्तै अत्यधिक वर्षा भएपछि बन्दीपुर गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेको छ।

बाढीले बन्दीपुर २ खहरेमा ६ घर बगाएको गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए। उनका अनुसार मानवीय क्षति भने भएको छैन। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले अत्यधिक वर्षा भइरहेकाले नागरिकलाई सचेत गराइएको बताए।

आजको ट्रेन्डिङ समाचार