सभागृह चुहिने भएपछि गण्डकी प्रदेशसभा बैठक सर्‍यो | Samacharpati सभागृह चुहिने भएपछि गण्डकी प्रदेशसभा बैठक सर्‍यो – Samacharpati
Samacharpati
आइतवार, अशोज १०, २०७८
  • होमपेज
  • सभागृह चुहिने भएपछि गण्डकी प्रदेशसभा बैठक सर्‍यो

सभागृह चुहिने भएपछि गण्डकी प्रदेशसभा बैठक सर्‍यो

सभागृह चुहिने भएपछि गण्डकी प्रदेशसभा बैठक सर्‍यो

पोखरा । गण्डकी प्रदेश सरकारको बजेटमाथि आइतबारदेखि छलफल शुरु हुने भएको छ । सभामुख नेत्रनाथ अधिकारीले असार २७ गते ११ बजेदेखि शुरु गर्ने तयारी रहेको जानकारी दिए । ‘सचिवालयलाई जानकारी आएको छ । अब हामीले सूचना निकाल्नमात्रै बाँकी हो,’ उनले भने ।

यसअघि सामाजिक विकासमन्त्रीसमेत रहेका गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले असार २५ गतेदेखि संसद शुरु हुने बताएका थिए । तर, सदन सञ्चालन हुने पोखरा सभागृह मर्मत गर्नुपर्ने भएपछि आइतबारमात्रै बैठक शुरु हुन लागेको जानकारी दिए ।

‘सभागृह बढी पानी परेको बेला चुहिने समस्या आएको रहेछ । नत्र हामीले शुक्रबारबाटै गर्ने भनेर सबै डकुमेन्ट सचिवालयलाई दिइसकेका थियौं,’ प्रवक्ता खड्काले भने, ‘टाढाका साथीहरु आउन पनि असजिलो छ । सभागृह मर्मत गर्नुपर्ने पनि रहेछ । फेरि हामीले बल गरेरमात्रै भएन ।’

सभागृह वर्षैपिच्छे मर्मत, अवस्था उस्तै !

गण्डकी प्रदेश सभा भवन सानो भएको र कोभिड महामारीमा भौतिक दूरी कायम नहुने भन्दै ‘कोभिड काल’ पछि प्रदेशले पोखरा सभागृहमा अधिवेशन गर्दै आएको छ । तर, महानगरको एकमात्र सभागृहको अवस्था भने टालटुलमै सीमित छ ।

अघिल्लो आर्थिक वर्षमा पनि प्रदेश सभाको अधिवेशनको लागि सभागृह मर्मत गरिएको थियो । त्यतिबेला पोखरा महानगर र प्रदेश सरकारले सभागृह मर्मतका लागि २५ लाख रुपैयाँ खर्चेको थियो । सभागृहमा भएका करिब ४ सय ५० कुर्ची मर्मत गरिएको थियो ।

भएको सभागृह पनि मर्मत सम्भार गर्न नसकेर आलोचित भइरहेको महानगरले २ वर्षअघि सभागृह भएकै ठाउँमा मिनी हल बनाउने घोषणा गरेको थियो । करिब ५० लाख रुपैयाँ लगानीमा २ सय सिट क्षमताको मिनी हल बनाउने घोषणा गरेको महानगरले उक्त योजना घोषणामात्रै सीमित भएको छ ।

आजको ट्रेन्डिङ समाचार