पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन | Samacharpati पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन – Samacharpati
Samacharpati
आइतवार, भदौ २०, २०७८
  • होमपेज
  • पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन

पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन

पाठ्यपुस्तक ढुवानीमै समस्या, अनलाइनसँगै टोल सिकाइ विधिबाट पठनपाठन

२३ असार काठमाडाैं : कोभिड-१९ को महामारीका कारण शैक्षिक सत्र दुई महिनापछि धकेलियो। असार १ गतेबाट सुरु भएको शैक्षिक सत्र वि.सं. २०७८ मा पठनपाठन हुने समय करिब ९ महिनामात्रै बाँकी छ।

तर शैक्षिक सत्र सुरु भएको महिना दिन बित्नै लाग्दा पनि सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छैन। जारी निषेधाज्ञा र निरन्तरको वर्षाले सडक अवरुद्ध बनेपछि हिमाली जिल्लाका केही विद्यालयमा पुस्तक पुर्‍याउन नसकिएको हो।

कतिपय शहरी वा बजार क्षेत्रका सामुदायिक विद्यालयहरुमा भने वैकल्पिक विधिबाट पठनपाठन सुरु भईसकेको छ।

पाठ्यपुस्तक ढुवानीमै समस्या

हिमाली भेगमा पर्ने धेरैजसो विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन। ‘मौसम खराबीका कारण पाठ्यपुस्तक बिक्रेताहरूले नै ल्याउन सकेका छैनन्। यहाँ पुस्तक जहाजबाट ल्याउनुपर्छ।’ हुम्ला खार्पुनाथ गाउँपालिकाका प्रशासन सहायक कृष्णप्रसाद आचार्यले भने ‘यहाँ आउने किताब नेपालगञ्जमा तयारी अवस्थामा छ।

आन्तरिक उडान भर्खरै सञ्चालनमा आयो, मौसम राम्रो भए केही दिनमै किताब आइपुग्छ।’ हुम्ला त धेरै टाढाको कुरा, संघीय राजधानी काठमाडौंसँगै जोडिएको उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाका केही विद्यालयहरुमा अझै पाठ्यपुस्तक पुग्न बाँकी छ।

विद्यालयमा पुगेको पाठ्यपुस्तक पनि कोरोना संक्रमण फैलने डर र भौगोलिक विकटताकै कारण थोरै विद्यार्थीको हातमा मात्र पुगेको छ।

‘अनलाईन कक्षा सञ्चालन गर्न यहाँ इन्टरनेटको पहुँच छैन, टोल समुह बनाउन पनि भुगोलका कारण सम्भव छैन। किताब लैजाने विद्यार्थी पनि स्वअध्ययनकै भरमा छन्। स्वअध्ययन नै यहाँको अन्तिम विकल्प बनेको छ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीले भने, ‘जारी निषेधाज्ञा विस्तारै खुकुलो हुँदैछ। हामी भौतिक उपस्थितिमै पठनपाठन हुने दिनको पखाईमा छौं।’

मन्त्रालय भन्छ, वैकल्पिक शिक्षाको विकल्प छैन

कोरोना महामारीका कारण गतवर्षको शैक्षिक सत्र पनि प्रभावित बन्यो। विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै सरकारले गतवर्ष (२०७७ भदौ १९ को मन्त्रिपरिषद् बैठकले) ‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका -२०७७’ स्वीकृत गर्यो।

सोही अनुरुप वैकल्पिक शिक्षाबाट पठनपाठनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयहरुलाई निर्देशन दिएको थियो।

‘कोभिड नियन्त्रणमा आईसकेको छैन, शैक्षिक गतिविधि गत वर्ष जस्तै वैकल्पिक विधिबाट चल्नुको विकल्प छैन।’ मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने ‘सबै विद्यालयले निर्देशिका अनुसार वैकल्पिक शिक्षा दिनुपर्छ। कसलाई कसरी पढाउने भनेर निर्देशिकाले मार्गदर्शन गरेको छ।’

यस्तो छ निर्देशिकाको व्यवस्था

प्रविधि पहुँचको आधारमा एउटा विद्यालयमा ५ किसिमका विद्यार्थी हुन सक्छन् निर्देशिकामा प्रस्ट भनिएको छ।

सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी समूहका लागि चालु शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकिन गरी त्यसको अभिलेख राखी पाठ्यपुस्तक उपलब्ध गराउने। ​

केन्द्रबाट स्व–अध्ययन वा सामग्रीको विद्युतीय प्रति तयार गरी वेबसाइटमा राख्ने, प्रदेश र स्थानीय तहले समन्वय गरी त्यस्ता सामग्रि छपाई गरी विद्यालयलाई उपलब्ध गराउने र स्थानीय तहले अभ्यास पुस्तिकाहरू छपाइ गरी वितरण गर्ने।​

प्रदेश, स्थानीय तह वा विद्यालयबाट अभ्यास पुस्तिका वा अन्य शैक्षिक सामग्री विकास तथा छपाई गरी विद्यार्थीलाई सहज रुपमा उपलब्ध गराउने।

समुदायमा रहेका वा रहने सिकाई केन्द्र वा विद्यालयहरुमा एक आपसमा भौतिक दुरी कायम गरी बसाई ब्यवस्था मिलाई पाठ्यपुस्तक, स्वअध्ययन सामग्री वा छपाइका सामग्री प्रयोग गरि शिक्षक वा स्वयंसेवकमार्फत सिक्ने र सिकाउने व्यवस्था गर्ने।​

स्थानीय समुदायमा रहेका शिक्षक र शिक्षक नभएको अवस्थामा स्थानीय तह वा विद्यालयबाट तोकेका स्वयंसेवकबाट विद्यार्थीका लागि सिकाइमा प्रत्यक्ष रुपमा सहयोग पुर्याउने ब्यवस्था गर्ने।

अभिभावक शिक्षाका माध्यमबाट अभिभावकलाई बालबालिकाको सिकाइका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न प्रोत्साहन गर्ने।

महामारीकै बीचमा सुरु भयो वैकल्पिक विधि

शैक्षिक सत्र सुरु भएसँगै भर्ना अभियानका साथसाथै केही सामुदायिक विद्यालयहरूले अनलाइन विधि र टोल समूह सिकाई सुरु गरिसकेका छन्।

काठमाडौंको नीलबाराही मा.वि.ले असार ६ गते बाट नै अनलाईन कक्षा सञ्चालन गरिरहेको छ। तर सबै विद्यार्थीलाई अनलाईन कक्षामा जोड्न भने नसकिएको विद्यालयले जनाएको छ।

‘अनलाइन कक्षामा ६० प्रतिशत विद्यार्थी मात्रै सहभागी हुन्छन्। बाँकीलाई मोवाईल र इन्टरनेटको पहुँच नभएकाले जोड्न सकिएको छैन।’ नील बाराहीकी प्रधानाध्यापक जानुका नेपालले भनिन् ‘उपल्लो कक्षाका भन्दा तल्लो कक्षाका बालबालिकाको सहभागिता निकै कम छ।’

टोल सिकाइमा गत शैक्षिक सत्रबाट अभ्यस्त बनेको दार्चुलाको व्याँस गाउँपालिकाका विद्यालयहरु यसपटक पनि सोही तयारीमा छन्।

‘टोलटोलमा समूह बनाएर पढाउँदा बालबालिकाको अध्ययन गर्ने बानी बसेको गत वर्षबाट पाएका छौं। यो शैक्षिक सत्रमा पनि भौतिक उपस्थितिमा नमिल्दासम्म त्यसरी नै पढाउन निर्देशन दिएका छौं।’ गाउँपालिकाका शिक्षा अधिकृत केशवराज ओझाले भने ‘आफ्नो पराई विद्यालय नभनी जुन शिक्षकले जुन टोलमा सहज हुन्छ त्यहाँ पढाउनुहुन्छ। यसो गर्दा संक्रमण फैलने डर हुन्न।’

सल्यानमा टोल सिकाइबाट अध्यापन गराइँदै ।

ओखलढुङ्गा मानेभञ्ज्याङको भगवती माविले पनि टोलटोलमा शिक्षक पठाएर पठनपाठन सुरु गरेको प्रधानाध्यापक नारायण बास्तोलाले जानकारी दिए।

यस्तै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका पनि टोल समूह सिकाई गर्ने तयारीमा छ। शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले भने ‘प्रविधिको पहुँच नभएको विद्यालयलाई टोलटोलमा शिक्षक गएर पढाउन विद्यालयलाई परिपत्र गरिसकेका छौं।’

शिक्षाविद् भन्छन् : वैकल्पिक शिक्षाका लागि सरकारको तयारी पुगेन

शिक्षा विकासको प्रमुख आधार भए पनि सरकारले यसलाई विकासको रुपमा नलिएको शिक्षाविद्को भनाई छ।

गत वर्षदेखि वैकल्पिक विधिबाट पठनपाठन गर्न निर्देशन दिएको सरकारले यसको तयारीमा भने उदासिनता देखाएको उनीहरुको धारणा छ। ‘पठनपाठनको माध्यम प्रविधि हुँदा पाठ्यक्रम र सिकाई प्रक्रिया भने प्रविधिमैत्री बनाएनन्।’

शिक्षाविद् डा. टंकनाथ शर्माले भने ‘पढाउन टेक्नोलोजीको प्रयोग गरेको अहिलेको अवस्थामा त्यो प्रणालीमा आवश्यक पर्ने पाठ्यक्रम, शैक्षिक सामग्री, प्रकृया र परीक्षाको तालमेल मिलाउन सकेको छैन।’ उनले थपे ‘तीनै तहको सरकार बालबालिकाको भविष्य र शैक्षिक गुणस्तरमा संवेदनशील बन्न सकेनन्। ’

आजको ट्रेन्डिङ समाचार