हेलम्बुमा सडक न सञ्‍चार | Samacharpati हेलम्बुमा सडक न सञ्‍चार – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८

हेलम्बुमा सडक न सञ्‍चार

हेलम्बुमा सडक न सञ्‍चार

५ असार हेलम्बु, सिन्धुपाल्चोक — अविरल वर्षासँगै आएको मेलम्ची बाढीले हेलम्बु गाउँपालिकाका चार गाउँको अस्तित्व नै मेटाएको छ । चिउरेखर्क, चालिसे, तल्लो तिम्बु बजार र गणेश बगरको बस्ती मेलम्चीले बगाएको हो । गाउँ भएको ठाउँ बगरमा परिणत भएको छ ।

नदीमा पानीको सतह बढेपछि सतर्क भएका गाउँलेले मंगलबारको रात घर छाड्दा धेरैको ज्यान जोगियो । उक्त रात भाग्न नसकेर बेपत्ता केही मत्स्य फार्म सञ्चालक र स्थानीयसहित १४ जनाको अवस्था शुक्रबारसम्म केही खुलेको छैन ।

सिन्धुपाल्चोक सरदमुकाम चौताराबाट करिब ४० किलोमिटर पश्चिमको हेलम्बु बाढीपछि सडक र सञ्चार सम्बन्धविच्छेदको अवस्थामा छ । बाढीले ठाउँठाउँमा सडक, पुल, बिजुली र फोनका पोल बगाएको छ । पर्यटकीय गाउँ हेलम्बु यतिबेला उजाड बगर बनेको छ । बाढीपीडितका लागि टेन्ट र खाद्यान्नको जोहो गर्दै रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘यहाँ बिजुली, फोन छैन । मोबाइलको नेटवर्क पनि छैन । सडक पनि बाढीले लगेकाले हामीलाई साह्रै सकस भएको छ ।’ बाढीले यहाँका अनुमानित सय घर बगाएको उनले बताए । ६ सयभन्दा बढी परिवार घरबारविहीन भएका छन् । ‘यस्तो विपद्का बेला यहाँ कोही आउँदैनन्,’ उनले गुनासो गरे, ‘यताउति विपद्को बैठक पनि मेलम्चीमै बस्छन्, हामीलाई कसले हेर्ने ?’

मेलम्चीको मुहानस्थलबाट एक्कासि उर्लिएर आएको बाढीले हेलम्बुका पुराना चार गाउँका सबै संरचना बगाएको हो । झन्डै १८ हजार जनसंख्या भएको हेलम्बुको तालामाराङ, चनौटे, किउल, तिम्बुका बजारभर बाढीले बालुवा ल्याएर थुपारेको छ । ‘विस्थापितका लागि बास र गाँसको व्यवस्थापन गरिरहेका छौं । साँखु, मेलचौर हुँदै कुटुम्साङ हेलम्बु जोड्ने वैकल्पिक बाटोका लागि प्रयासरत छौं,’ अध्यक्ष शेर्पाले भने ।

आजको ट्रेन्डिङ समाचार