मेलम्चीका बाढीपीडित भन्छन्– ‘ज्यानबाहेक केही जोगिएन’ | Samacharpati मेलम्चीका बाढीपीडित भन्छन्– ‘ज्यानबाहेक केही जोगिएन’ – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • मेलम्चीका बाढीपीडित भन्छन्– ‘ज्यानबाहेक केही जोगिएन’

मेलम्चीका बाढीपीडित भन्छन्– ‘ज्यानबाहेक केही जोगिएन’

मेलम्चीका बाढीपीडित भन्छन्– ‘ज्यानबाहेक केही जोगिएन’

४ असार सिन्धुपाल्चोक-  वर्षा अझै रोकिएको छैन । कालो लेदोले भरिएको डरलाग्दो बाढीले बजारलाई क्रमशः कटान गर्दै छ । तटीय क्षेत्रका अधिकांश दुईतले घर बाढीमै हराइसके, केहीको अवशेष देखिएको छ । बजारका चार, पाँचतले चिटिक्क देखिने घरलाई लेदोले ढाकेको छ । जिल्लाको समृद्ध नगरमा गनिने मेलम्ची बजारलाई बाढीले मंगलबार एकै रातमा बगर बनाएको छ ।

त्यही बगरबीच नदीछेउमा चुर्लुम्म डुबेको आफ्नो घर हेर्दै बसिरहेका मेलम्ची नगरपालिका–११ का ४६ वर्षीय हीराकाजी श्रेष्ठ बेलाबेला मुख छोपेर रोइरहेका छन् । मेलम्चीको इन्द्रेश्वरी माध्यमिक विद्यालयको एउटा कोठामा आश्रय लिइरहेका उनको चार जनाको परिवार निदाएको छैन । ‘ज्यानबाहेक केही जोगिएन, यही एकसरो कपडा ज्यानमा छ त्यत्ति हो, ऋण गरेर बनाएको घरजग्गा सबै बाढीले निल्यो, कहाँ जानु, के गर्नु ?’ बिहीबार दिउँसो मेलम्ची बजार देखाउँदै उनले भने । श्रेष्ठले ७० लाख रुपैयाँ लगानी गरेर चारतले घर बनाएका थिए । उनले घर बनाउँदा लागेको १० लाख ऋण तिर्न अझै बाँकी छ । अब उनी कहाँ गएर बस्ने अन्योलमा छन् ।

मेलम्ची बजारको माथिल्लो भेग टारबाट घर हेर्दै गरेकी मेलम्ची नगर टारकी ३४ वर्षीया मनिता थापाका आँखा अझै ओभाएका छैनन् । ‘घर त डुब्यो, यो स्कुले कोठामा कतिन्जेल बसिरहनुपर्ने हो थाहा छैन, राहतको भरमा पेट भरिएको छ, जग्गा, सम्पत्ति सबै एकै रातमा बगर बनाइदियो,’ उनले भनिन् । सवारी चालक श्रीमान्को काम खोसियो, दुईसरो लत्ताकपडा र साथमा भएको नगदबाहेक घरबाट केही निकाल्न नपाएपछि उनको तीन जनाको परिवारलाई यहाँ बस्न मन लागेको छैन । ‘हामीजस्तै सबै एकअर्कालाई हेरेर चित्त बुझाउनुपरेको छ । कतै जान पनि कोरोनाको डर छ, कहाँ जानु र ?’ उनले भनिन् ।

बाढीको विध्वंस बिहीबारबाट केही सामान्य भएको छ । मेलम्ची र इन्द्रावतीमा पानीको सतह घट्दो छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ह्योल्मोभूमि, हेलम्बु हुँदै मेलम्ची खोलामा आएको बाढीमा परेर मेलम्चीका ६ सय र हेलम्बुका ३ सय जना प्रभावित भएका छन् ।

 

आजको ट्रेन्डिङ समाचार