अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम (पुर्ण पाठ) | Samacharpati अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम (पुर्ण पाठ) – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)

अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)

अन्नपूर्ण गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम (पुर्ण पाठ)

अन्नपूर्ण गाउँपालिकाको दशौं
गाउँसभामा
गाउँपालिका अध्यक्ष श्री युवराज कुँवरद्धारा प्रस्तुत
आर्थिक वर्ष २०७८/०७९ को
नीति तथा कार्यक्रम
अन्नपूर्ण गाउँपालिका
माछापोखरी,कास्की
२०७८ साल जेठ ३१ गते 

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्षज्यू,प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, गाउँकार्यपालिका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु,सबै राष्ट्रसेवक कर्मचारीहरु, विभिन्नराजनीतिक दलका प्रतिनिधिज्यूहरु लगायत सम्पूर्ण स्थानीय गाउँपालिकाबासीहरु, सञ्चारकर्मी/पत्रकारज्यूहरु सबैलाई गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्न आयोजित दशौंगाउँसभामा हार्दिक स्वागत गर्न चाहन्छु ।
सर्वप्रथम यस पावन अवसरमा म, राष्ट्र र जनताको लागि आफ्नो जीवन सर्मपण गर्नु हुने ज्ञात अज्ञात वीर शहीदहरु प्रति सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । शहीदहरुका सपना र अग्रजहरुको मार्गदर्शन बमोजिम नयाँ नेपाल निर्माणलाई सार्थक तुल्याउने यात्रामा हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षा गर्दछु ।
कोभिड-१९ महामारीका कारण मानव जातिमाथि शताब्दीकै सबैभन्दा ठूलो सङ्कट पैदा भएको छ । विश्वस्तरमै यस महामारीविरुद्ध लड्न मौजुदा स्वास्थ्य सेवा र सुविधाहरु अपयार्प्त देखिएका छन् । यस महामारीबाट लाखौं मानिसको ज्यान गइसकेको छ, अरु लाखौं सङ्क्रमित छन् । यस महामारीबाट सङ्क्रमित भई नेपालभित्र र नेपालबाहिर जीवन गुमाउनुहुने तथा अन्य मित्रराष्ट्रका नागरिकहरुका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । उपचाररत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

आज सारा विश्व यस साझा तर अदृष्य दुश्मनका विरुद्ध कठिन युद्ध लडिरहेको छ । मानवजातिले जित्नैपर्ने यो युद्ध कहिले र कसरी समाप्त होला भन्ने भय, चिन्ता र अन्यौल व्याप्त छ । यतिवेला विश्व समुदायबीच ऐक्यबद्धता, सहकार्य, आत्मविश्वास र आशावादको ठूलो खाँचो छ । यस महामारीबाट हुने आर्थिक क्षतिको पूर्ति त आगमी दिनमा हुनसक्छ, प्रविधिको अन्वेषण गर्दै जान सकिन्छ, समाज फेरि समृद्ध बन्न सक्छ तर गुमेको अमूल्य मानव जीवनको पूनःप्राप्ति र क्षतिपूर्ति हुन सक्दैन । त्यससँगै क्षति हुने मानवीय पुँजी, दक्षता, विज्ञता र विचारको क्षति पनि अपूरणीय हुन्छ । त्यसैले यतिखेर मानिसको जीवन रक्षा र मानवजातिको संरक्षण सरकार र गाउँपालिकाको सर्वोच्च कर्तव्य हुन आएको छ ।
अन्नपूर्ण गाउँपालिकाको दशौंसभा मार्फत गाउँपालिकाको वार्षिक बजेटसम्बन्धी ऐतिहासिक पाँचौनीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा म गौरवान्वित भएको छु । अन्नपूर्ण गाउँपालिकाको विकासका निम्ति नीति, योजना तथा कार्यक्रम तर्जुमाका विभिन्न चरणहरुमा सहयोग पुर्याउनु हुने उपाध्यक्षज्यू, लगायत निर्वाचित जनप्रतिनिधिज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरु, विभिन्न राजनीतिक, सामाजिक, शैक्षिक, प्रशासनिक तथा गाउँपालिका बासी दाजुभाई, दिदीबहिनीहरु सबैमा धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
हाम्रो गाउँपालिका भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वका दृष्टिले अत्यन्त प्रबल सम्भावना भएको पालिका भएर पनि द्रुत विकासको लागि हाम्रा सामुकेही चुनौतिहरु विद्यमान छन् । विकासको क्रममा पछाडि परेका वर्ग तथा समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने, उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गरी आर्थिक गतिविधिहरुको माध्यमद्वारा रोजगारी विस्तार गर्ने, कृषि क्षेत्रको व्यवसायिकरण र आधुनिकीकरण गर्ने, सुशासन प्रर्वद्धन गरी सेवा प्रवाहमा प्रभावकारिता कायम गर्ने, पर्यटन विकासबाट प्राप्त लाभ लिई सबै क्षेत्रसम्म पुर्याउने, वनजङगलको संरक्षण गर्दै वातावरणीय सन्तुलनलाई कायम राख्ने, भौतिक पूर्वाधारको विकासमा लगानी वृद्धि गर्ने तथा सामाजिक विकासलाई संस्थागत गर्दै पालिका वासीहरुमा आफ्नै ठाउँमा रही केही गर्ने वातावरण सृजना गरी अपेक्षित विकासको प्रतिफल हासिल गर्ने एवम् आन्तरिक आयको दायरालाई फराकिलो बनाउने र आन्तरिक व्यवस्थापनलाई सुशासनमैत्री बनाई संस्थागत सुदृढीकरण गर्ने जस्ता जिम्मेवारी स्थानीय सरकारको रूपमा हाम्रो सामु रहेका छन् ।
जनताको सबैभन्दा नजिकको सरकारको रूपमा प्रत्यक्ष सरोकारका उल्लेखित विषयहरुलाई सम्वोधन गर्नका लागि गाउँपालिकाबाट घोषित लक्ष्य र उद्देश्यका साथ जनताबाट प्राप्त भएको जिम्मेवारीलाई इमान्दारिता पूर्वक पूरा गर्न यस पालिकालाई “कृषि, पर्यटन र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार”को दीर्घकालीन भिजन तय गरी पालिकाको विकासको समग्र योजना तथा कार्यक्रमहरु तय गर्दै कार्यान्वयन गर्दै आईरहेहको सन्दर्भमा गाउँपालिकाको स्थापना र जनप्रतिनिधिकको बहाली प्रश्चात बिगत चार बर्षमा भए गरेका मुख्य-मुख्य उपलब्धिहरुलाई संक्षेपमा प्रस्तुत गर्न चाहान्छु ।
क) पूर्वाधार विकास अन्तर्गत
१. सडक निर्माण तर्फः
नयाँट्रयाक ओपन तथा लिकं रोड निर्माण १४३ कि.मि., सडक स्तरोन्नती नाली निर्माण तथा ग्राबेल ८२ कि.मि., कालोपत्रे स्तरोन्नती मध्यपहाडी लोकमार्ग २७ कि.मि(संघीय सरकारबाट), ढलान बाटो निर्माण १५.६ कि.मि, सिढि बाटो निर्माण तथा स्तरोन्नती ६४ कि.मि., १६ वटा कल्बोर्ड तथा कज्वय निर्माण र ११ वटा झोलुङ्गे पुल निर्माण गरिएको ।

२. भवन निर्माण तर्फः
गाउँपालिकाको प्रशासनिक भवनको अभाव एवं समस्या रहेकोले माछ्रापुच्छ्रे मा.वि. को भवन मर्मत संभार गरी गाउँपालिकाको कार्यालय संचालन गरिएको, वडा कार्यालयका भवन तर्फ वडा नं. १, ३, ४, ५, ७, ८, ९ र ११ गरी ८ वटा भवनहरु निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढाईएको, स्वास्थ्य तर्फका भवनहरुमा नागडाँडा स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल निर्माण कार्य सुरुवात गरिएको, आधारभूत स्वास्थ्य केन्द्रहरुका ६ वटा र खोप केन्द्रहरुका ९ वटा भवन निर्माण गरिएको, विद्यालय भवनहरु निर्माण तर्फ माछापुच्छ्रे नमुना मा.वि. को छात्र/छात्रा वास भवन निर्माण शुरु गरिएको, विभिन्न विद्यालयहरुमा ११४ वटा थप कक्षाकोठाहरु निर्माण गरिएको, २२ वटा शौचालय निर्माण गरिएको, ७ वटा विज्ञान प्रयोगशाला, १० वटा कम्प्युटर प्रयोगशाला, ८ वटा विद्यालय पुस्ताकालय र२४ वटा विद्यालयहरुमा कम्पाउन्डिङ तथा छेकबार निर्माणको काम गरिएको, अन्य संघसंस्थाका तथा सामुदायिक भवन निर्माण तर्फ २६ वटा विभिन्न भवनहरु निर्माण गरिएको, राष्ट्रिय पुनः निर्माण प्राविधिकरण अन्तर्गत २६८ वटा निजि आवास निर्माण गरिएको, गाउँपालिकाबाट १५५ घरधुरीहरुलाई सुरक्षित नागरिक आवास अन्तर्गत जस्तापाताहरु उपलब्ध गराई टिनको छाना फेर्ने काम भएको ।

३. खानेपानी तर्फः
लान्द्रुक अन्नपूर्ण गाउँपालिका बृहत खानेपानी आयोजनालाई यस गाउँपालिकाको गौरवको आयोजनाको रूपमा निर्माण गर्नका लागि संघीय आयोजना कार्यालयसँग आवश्यक समन्वय गरी यथासक्य कार्यान्वयन चरणमा अगाडि बढाईएको,एक घर एक धारा कार्यक्रमलाई अभियानका रुपमा संचालन गरिएकोमा हाल सम्म ४७८७ घरहरुमा एक घर एक धारा सम्पन्न गरिएको, विभिन्न ६३ वटा खानेपानी आयोजनाहरु संचालन गरिएको, सो अन्तर्गत ७० वटा इन्टेक निर्माण, ६५ वटा कलेक्सन च्याम्बर निर्माण, ५७ वटा आरबिटी निर्माण गरिएको, समथल खोला खानेपानी आयोजनालाई बहुबर्षे खानेपानी आयोजनाको रुपमा संचालन गरिएको ।

४. पर्यटकीय पूर्वाधार तथा कार्यक्रम तर्फः
गुम्बा, मठ-मन्दिर, पर्यटकीय गन्तव्यहरु २४ वटा, सिँचाई पोखरी १५ वटा, चौतारा ४० वटा, सडक बत्ती(नौडाँडा, काँडे, लुम्ले) १६२० मिटर, वडा नं. ५ को झोबाङ् शितल गुफा पर्यटकी पूर्वाधार निर्माण, नागडाँडा पर्यटकीय भ्यू टावर निर्माण, वडा नं. ११ को ३६३७ मिटरको उचाईमा मुन्डे भ्यू पोइन्ट तथा पार्क निर्माण गरिएको, घान्द्रुक-टाढापानी- दोबाटो-मुन्डे हुँदै हिडनलेक-छ्रोमोङ पदमार्ग, उल्लेरीबराहताल-मरेडाँडा हुदै बनठाटी पदमार्ग,बिरेठाँटी-दाङसिङ-थामडाडा हुदै घान्द्रुक पदमार्ग, पञ्चासे पदमार्ग, घान्द्रुक देखि वेशक्याम सम्मको पदमार्गको DPRतयार गरिएको, अन्नपूर्ण वेशक्याम ४२०० मिटर देखि घान्द्रुक १९५० मिटर सम्म ४२.५ कि.मि. अन्नपूर्ण म्याराथुन दौड संचालित, कोदो महोत्सव, अन्नपूर्ण सेन्चुरी महोत्सव, प्रविण गुरुङ एकल तथा दोहोरी गायन प्रतियोगिता लगायत विभिन्न पर्यटन महोत्सवहरु र तिज मेला जस्ता कार्यक्रमहरु संचालन गरिएको ।

ख) आर्थिक विकास अन्तर्गत
१. कृषि तर्फः
अनुदान स्वरुप आलु बिउ वितरण ३०,००० के.जि., बहुउद्देश्य नर्सरी निर्माण सहयोग १५ वटा, आधुनिक च्याउ टनेल ७ वटा, प्लास्टिक सिट टनेल ११२८ वटा, भर्मी कम्पोस्ट मल उत्पादन ४ वटा, मौरी सहित घारवितरण १४० वटा, फलफुल बिरुवा वितरण १,४५,०००, मसलाजन्य बालीको विरुवा वितरण अलैची, तेजपात, कफि, टिमुर हरु १,९०,०००, हाते ट्याक्टर ३०५ वटा, थ्रेसर मेसिन ४ वटा, मौसमी तथा बेमौसमी तरकारी बिउ वितरण १८,००० प्याकेट, साना सिँचाई कार्यक्रम अन्तर्गत ५०० क्वाईल पाईप वितरण, तरकारी पकेट ३ वटा, धान पकेट १ वटा , सुन्तला पकेट १ वटा, कफि ब्लक १ वटा, अलैची ब्लक १ वटा, रैथाने बाली संरक्षण (कोदो) १ वटा, मुख्यमन्त्री वातावरण मैत्री कार्यक्रम १ वटा, आकस्मिक बाली संरक्षण कृषि उपचार तथा कृषि सेवा कार्यक्रम निरन्तर रुपमा संचालन रहेको, प्राङगारिक मल १२,००० के.जि. वितरण गरिएको, माटो परिक्षण तथा माटो सुधारका लागि चुना वितरण गरिएको, गाउँपालिकामा आफ्नै नर्सरी स्थापना गरी कागतीका बिरुवाहरु १०,०००, लप्सीका बिरुवाहरु ६,०००, तेजपातका बिरुवाहरु ५,००० र कुरिलोको बिरुवा ३२,००० उत्पादन तथा वितरण गरिएको र व्यवसायिक कृषकहरुलाई विभिन्न तालिमहरु संचालन गरिएको ।

२. पशु तर्फः
हिउँदे घाँस, बर्षे घाँस, बहुबर्षे घाँस र डाले घाँस गरी जम्मा ३ लाख बिरुवा वितरण गरिएको, ४९० व्यवसायक कृषकहरुलाई पशुपंछि पालन सम्बन्धी तालिम दिईएको, २९० वटा भकारो सुधार, पाडापाडी संरक्षण, कुखुराका चल्ला वितरण, बाख्रा भैसी पालक समूहलाई अनुदानमा १०० वटा बाख्रा, ५० वटा भैसी र ५० वटा भेडा वितरण गरिएको, भैसी,बाख्रा,भेडा पकेट क्षेत्र संचालन गरिएको, कृतिम गर्भाधानको कार्यक्रमका साथै प्राकृतिक गर्भाधानको लागि उन्नत जातका ६ वटा रागाँ, १५ वटा वोयर बोका, ३ वटा भेडाको थुमा वितरण गरिएको, पशुहरुको रोग निधान तथा औषधी उपचार, खोप, गोबर परिक्षण, डिपिङ कार्यक्रम, लजिष्टिक सपोर्ट जस्ता कार्यक्रमहरु र व्यवसायिक फर्महरुलाई जैविक सुरक्षा सामाग्री वितरण गरिएको ।

ग) सामाजिक विकास अन्तर्गत
१. शिक्षा तर्फः
अन्नपूर्ण बहुप्राविधिक शिक्षालयको अनुमति प्राप्त गरी बालि विज्ञानतर्फको कक्षा तथा CTEVTअन्तर्गत छोटा तथा लामा अवधिका विभिन्न तालिमहरु संचालन, माछापुच्छ्र मा.वि लाई नमुना विद्यालयका रुपमा विकास, सिर्जना मा.वि लाई आदर्श विद्यालयका रुपमा संचालन, बिरेठाँटी मा.वि प्राविधिकधार तर्फको कम्प्युटर इन्जिनियरिङ (कक्षा ९-१२) कक्षा सुरु, उमा मा.वि संगित तथा खेलकुद विद्यालयको रुपमा सुरुवात, दुर्गा भवानी आदर्शमा नमुना बालविकास केन्द्रको सुरुवात, प्राविधिक बिषयमा उच्च शिक्षा छात्रवृति, विद्यालय छात्राहरुलाई सेनेटरी प्याड वितरण, विद्यार्थीहरुलाई दिवा खाजा, बालविकास कक्षा सुधार र बालविकास केन्द्रका शिक्षकका लागि प्रोत्साहन, शिक्षकहरुलाई मासिक तलब उपलब्धगराईएको र विद्यालयमा अतिरिक्त क्रियाकलाप शैक्षिक प्रदर्शनी तथा प्रतिभा पहिचान जस्ता विभिन्न शैक्षिक कार्यक्रमहरु संचालन गरिएको,कोभिड-१९को प्रभावबाट विद्यालयमा भएको शैक्षिक क्षति न्यूनिकरण गर्नका लागि आवश्यक पढनपाढन सामाग्री (अभ्यास पुस्तिका) र सम्पूर्ण विद्यालयहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको साथै गाउँपालिका भित्र विद्यालय उमेर समूहका बालबालिकाहरु विद्यालय क्षेत्र बाहिर नरहेको घोषणा गरिएको ।

२. स्वास्थ्य तर्फः
नियमित राष्ट्रिय कार्यक्रमतर्फका पोषण, क्षरोग, दादुरा रुवेला खोप, आमा सुरक्षा जस्ता कार्यक्रमहरु सम्पन्न, लामो गर्भान्तर तथा बन्ध्वयाकरण र क्यान्सर सम्बन्धी शिविर संचालन गरिएको, आवश्यकता अनुसारका औषधी तथा स्वास्थ्य सामाग्रीहरुको नियमित आपुर्ती गरिएको, पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको, प्राथमिक तथा आधारभूत स्वास्थ्य सेवाका लागि सबै वडाहरुमा स्वास्थ्य संस्था स्थापना तथा संचालन गरी सेवा उपलब्ध गराईएको, आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन नियमित सेवाको अतिरिक्त सबै वडाहरुमा मासिक सेवा उपलब्ध गराउने व्यवस्था गरिएको, नागडाँडा स्वास्थ्य चौकीमा स्वास्थ्य ल्याब स्थापना शुरुवात गरिएको,कोभिड-१९ सँग जुध्न आन्तरिक लकडाउन, क्वारेन्टाईन केन्द्र स्थापना तथा संचालन, प्रचारप्रसार तथा प्रवर्धनात्मक कार्यक्रमहरु, क्वारेन्टाईनमा राख्ने, आईसुलेसनमा राख्ने, पिसिआर तथा एन्टिजेन टेस्ट गर्ने, स्वास्थ्य तथा सुरक्षात्मक(माक्स, सेनिटाईजर, पन्जा, साबुन, थर्मगन, पिपिई,अक्सिमिटर, थर्मामिटर, कन्सन्टेटर मेसिन लगायतका)सामाग्रीहरु वितरण गरिएको, नेपाल सरकारद्धारा तोकिएको वर्ग र उमेर समूहका व्यक्तिहरुलाई खोप लगाईएको ।

३. अन्य तर्फः
विभिन्न २५ वटा आमा समूहहरु दर्ता गरिएको, २३ वटा घ वर्गका निर्माण व्यवसायिहरुलाई ईजाजतपत्र दिईएको, १५ वटा बालक्लबहरु गठन, कृषक तथा पशुपालक समूह ४९ वटा, ६३ वटा विभिन्न संघसंस्थाहरु गठन गरी दर्ता गरिएको, ४४०७ जनालाई चौमासिकसामाजिक सुरक्षा भत्ता प्रदान गरिएको, जेष्ठ नागरिक तथा वृद्धहरुलाई सम्मान कार्यक्रम संचालन गरिएको, २४३ जनालाई अपागंताको परिचयपत्र वितरण गरिएको,गाउँपालिका अन्तर्गतका ६० वर्ष उमेर माथिका जेष्ठ नागरिकहरुलाईजेष्ठ नागरिक परिचयपत्र वितरण गरिएको, उपाध्यक्षसँग महिला कार्यक्रम तथा सुत्केरी भेटघाट कार्यक्रम संचालनमा रहेको, महिलाहरुको नेतृत्व तथा क्षमता विकासका लागि विभिन्न अनुशिक्षण तथा तालिमहरु संचालन गरिएको, साविक सहकारी डिभिजनबाट हस्तान्तरण भएका सहकारीहरु २४ वटा रहेकोमा गाउँपालिकामा थप ८ वटा दर्ता भई २ वटा सहकारी मर्जरमा गएकोले हाल ३० वटा सहकारीहरु क्रियाशिल रहेकोले उक्त संस्था मार्फत विभिन्न उत्पादन उत्पादकत्व अभिवृद्धि, आयआर्जन र आर्थिक गतिविधिहरु संचालनमा रहेका, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचिकृत बेरोजगारहरुका लागि विभिन्न आयोजना मार्फत रोजगारी उपलब्ध गराईएको, गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत अतिविपन्न गरिब युवाहरुका लागि विभिन्न सिपमुलक आधारभूत तथा स्तरोन्नतीका तालिमहरु उपलब्ध गराईएको, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्नका लागि सामि परियोजना मार्फत विभिन्न कार्यक्रमहरु संचालन गरिएको,गाउँपालिकामा न्यायिक समिति गठन भई छुट्टै न्यायिक इजलास कक्षको व्यवस्था गरिएको, मेलमिलापकर्ताहरुका लागि आधारभूत तथा पूर्नताजगी तालिम प्रदान गरी २४ जना मेलमिलापकर्ताहरु सूचिकृत गरिएको, हालसम्म न्यायिक समितिमा परेका जम्मा उजुरी संख्या २६ वटा मध्ये २१ वटा उजुरीहरु फर्छौट भई ५ वटा निर्णय प्रकृयामा रहेका, गाउँपालिका अन्तर्गतका विभिन्न पेशा व्यवसायहरुलाई दर्ता प्रकृयामा संलग्न गराई दर्ता तथा निविकरण गर्दै आईरहेकोमा चालु आ.ब.मा १९५ नयाँ व्यवसाय दर्ता गरिएको हालसम्म गाउँपालिका अन्तर्गत १४०६ वटा व्यवसायहरु दर्ता भई क्रियाशिल रहेका, गाउँपालिका र वडा कार्यालयहरुबाट नागरिकहरुलाई प्रवाह गरिने नियमित सेवा प्रवाह जनप्रतिनिधि र कर्मचारीको संयुक्त प्रयासबाट गुणस्तरीय, प्रभावकारी र समयमै उपलब्ध गराईएको ।

घ) कोभिड-१९ को प्रभाव अन्तर्गत
विश्वव्यापी रुपमा फैलिएको कोभिड -१९ को प्रभावबाट सुरक्षित रहन र नियन्त्रण गर्नका लागिनेपाल सरकारबाट मिति २०७६/१२/११ देखि लकडाउन शुरु भयो सो समयमा पालिकाबासीहरुको स्वास्थ्यलाई दृष्टिगत गरी संक्रमित क्षेत्र वा अन्य विदेशबाट पालिकामा प्रवेश गर्ने व्यक्तिहरुको लागि विद्यालयहरुमा सार्वजनिक भवनहरुमा बस्नका लागि ३४ वटा क्वारेन्टाईनको व्यवस्था, कोभिड उपचारको लागि गाउँपालिकामा अस्थाई कोभिड अस्पतालको स्थापना, दीर्घरोगी बिरामीका लागि निजहरुको खर्चमा घर-घरमा औषधीको उपलब्धता, PCR परिक्षणका लागि यातायातको व्यवस्था, बिरामीहरुको औषधी उपचारकालागि अस्पतालसम्म जान र अति आवश्यक कार्यका लागि अन्य ठाउँमा जानको लागि स्थानीय प्रशासनसँगको समन्वय र सहजिकरणमा निजहरुको आवतजावतलाई सहजिकरण तुल्याईएको, श्रमजिवि वर्ग र कोभिडको कारणले रोजगारी गुमाएका विपन्न व्यक्तिहरुका लागि गाउँपालिका अन्तर्गतका सबै वडाहरुमा चामल, नुन, तेल, साबुन, दाल सहितको राहत सामाग्री प्याकेज वितरण गरिएको, लकडाउनका कारण खाद्य संकट उत्पन्न हुन सक्ने परिस्थितिलाई विचार गरी गाउँपालिकाकै कृषकहरुद्धारा उत्पादन भएको कोदो खरिद गरी खाद्य बैंकको रुपमा संचिती गरी राखिएको, नेलोम्बो नेपाल ढिकुरपोखरी काठमाडौं समाजको सहयोग र पालिकाको समन्वयमा पालिकाबासीहरुलाई एक घर एक साबुन, एक व्यक्ति एक माक्स, प्रत्येक घरमा सेनिटाईजर, सचेतना मुलक ब्रोसर वितरण गरिएको,गाउँपालिका अन्तर्गतका प्रत्येक घरहरुमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, स्वास्थ्य स्वयंमसेविका र टोल विकास समितिको प्रतिनिधि सहितको उपस्थितिमा सबैलाई सानत्वना दिई मनोवल बढाउने कार्य गरिएको ।
कोभिड महामारीको प्रभावसँगै आर्थिक तथा सामाजिक विकास निर्माणका कार्यहरुमा केही अवरोध आउँदा आउदै पनि गाउँपालिकाका स्थानीय स्रोत साधन प्रयोग गरी आयोजनाहरु सम्पन्न गरिएको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहान्छु र उक्त आयोजनाहरु सम्पन्न गर्न यहाँहरुले खेलेको भूमिका प्रति हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्न चाहान्छु । कोभिड-१९ को प्रभाव चालु आर्थिक वर्षको पुरा अवधिनै रहेको र पछिल्लो समय अझ भयाभय अवस्थामा रहेको हुँदा गाउँपालिकाबाट तोकिए बमोजिमका लक्ष्य एवं उद्देश्यहरु हासिल गर्न थुप्रै कठिनाईहरु हामीले सामना गर्नुपर्योभ र यो अवस्था कहिले सम्म रहन्छ भन्ने समेत निश्चित नभएकोले नागरिकहरुको स्वास्थ्य सुरक्षानै हाम्रो प्रमुख दायित्व र जिम्मेवारी हो भने कोभिड मैत्री ढंगले सेवा प्रवाह र विकास निर्माणका कार्य अगाडि बढाउनु नै हाम्रो बाध्यताको रुपमा रहेको छ ।
राज्यको पूर्न संरचना पश्चात नवगठित जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहको जिम्मेवारीमा अन्नपूर्णबासीबाट हाम्रो गाउँपालिकाको निर्वाचित टिमलाई सुम्पिएको जिम्मेवारी बमोजिमउपलब्ध स्रोत र साधनको महत्वम उपयोग गर्दै स्थानीय तहमा रहेका केही चुनौतीहरुको सामानाका साथ ईमान्दारिता पूर्वक गरिएको अथक प्रयासबाट नै उल्लेखित उपलब्धिहरु हासिल हुन सकेको र सो अनुरुप हामीले गरेको सकारात्मक प्रयासहरु पालिकाबासीहरुको अगाडि जगजायर नै छ । गाउँपालिकाको घोषित लक्ष तथा उद्देश्य अनुसार अन्नपूर्ण गाउँपालिकालाई समुन्नत, समृद्ध र बस्नयोग्य गाउँपालिका तुल्याउन आगामी आर्थिक वर्षको लागि देहाय बमोजिमका क्षेत्रगत नीतिहरु प्रस्तुत गरेको छु।
क. आर्थिक विकासः
१. कृषि विकास
1.1. “कृषि क्षेत्रको अभिवृद्धि अन्नपूर्ण गाउँपालिकाको समृद्धि” भन्ने मूल नाराका साथ युवाहरुलाई कृषिमा आकर्षण गराउन युवा स्वरोजगार र युवा लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ । यस कार्यक्रमबाट कोराना भाइरसको विश्वव्यापी महामारीको प्रकोपबाट सृजित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवाहरुलाई निजको ज्ञान, सिप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिनेछ ।
1.2. अन्नपूर्ण गाउँपालिका भित्र एक घर एक बहु पोषणयुक्त करेसाबारीलाई बिशेष आयोजनाका रुपमा अगाडि बढाईनेछ । यस्तो करेसाबारीमा पदमिना, कुरिलो, कागती, तुलसी, मरहठ्ठी, लेमनग्रास, मेवा, धनियाँ, घ्युकुमारी जस्ता आयुर्वेदिक महत्व रहेका बिरुवाहरुको उत्पादन सहित उपयोग गर्ने कार्यक्रम रहने छ ।
1.3. कृषि क्षेत्रको विकास र प्रवर्द्धन गर्न गाउँपालिका भित्रका विभिन्न कृषियोग्य जामिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रूपमा घोषणा गरी मौसमी तथा वेमौसमी तरकारी तथा फलफूल उत्पादनका साथै माटोको परीक्षण गरी आधुनिक तरिकाले कृषिलाई व्यवसायिकरण गर्न प्रोत्साहन गर्दै अन्नपूर्ण गाउँपालिकाको वडा नं.१, २, ३ मा कफी पकेट क्षेत्र त्यस्तै वडा नं. ४, ५, ६ र ७ मा कोदो पकेट क्षेत्र , वडा नं. ८ मा सुन्तला पकेट क्षेत्र र वडा नं. ९, १० र ११ मा आलु पकेट क्षेत्रको रुपमा विकास गरिनेछ ।
1.4. कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रीकरण, विशिष्टीकरण र व्यवसायिकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिइनेछ। सोका लागि जग्गा चक्लाबन्दी, गह्रासुधाररयन्त्र उपकरणहरुमा दिँदै आएको ५०% अनुदान, प्लास्टिक टनेल, पक्की टनेल निर्माण र एक घर एक टनेल निर्माण कार्यलाई अभियानको रूपमा सञ्चालन गर्नुका साथै पेशागत रुपमा जमिन जोत्ने अति विपन्न कृषकलाई पूर्ण अनुदानमा ट्याक्टर उपलब्ध गराईनेछ ।
1.5. यस गाउँपालिकामा सङ्घीय सरकारबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गण्डकी प्रदेश सरकारबाट सञ्चालित मुख्यमन्त्रीवातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रमलाई प्रभावकारी तुल्याउँदै त्यस क्षेत्रमा कृषिको विशेष पकेट क्षेत्र स्थापना गर्ने नीति अङ्गिकार गरिनेछ ।
1.6. यस गाउँपालिका भित्र कृषिको सम्भावना भएका वडाहरुमा चिस्यान केन्द्र स्थापना गर्ने एवमं उत्पादीत कृषि उपजहरुलाई बजारीकरणका लागि ढिकुरपोखरी र नयाँपुलमा कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र स्थापना गरी सो केन्द्रहरु कृषक समुहहरुमार्फत सञ्चालन गरी कृषकहरुले उत्पादित वस्तुको उचित मुल्य प्राप्त गर्ने अवस्थाको सृजनाको लागि प्रेदशसँगको साझेदारीमा आवश्यक प्रकृयाहरु अगाडि बढाइनछ ।
1.7. दिगो कृषि विकास, जैविक विविधता, प्राकृतिक स्रोत तथा वातावरण संरक्षण बीच सन्तुलन कायम राख्दै, बाँझो निजी जमिन, सार्वजनिक खुला क्षेत्र तथा खोला किनारमा अलैंची, कागती, इस्कुस, एभोकार्डो, किवि, घाँस खेती गर्न सर्वसाधारण व्यक्ति तथा समूहलाई प्रोत्साहन गरिनेछ ।
1.8. कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि विगतमा सञ्चालित अधुरा सिंचाई आयोजनाहरुलाई सम्पन्न गर्नका लागि सङ्घीय र प्रदेश सरकारसँग समन्वय गर्दै साना सिंचाई कार्यक्रमहरु गाउँपालिकाबाट सञ्चालन गरी सिञ्चित भूमिमा उत्पादनमुखी विशेष कार्यक्रम सञ्चालनगरिनेछ ।
1.9. हिमाली उच्च समस्थलीहरुमा जडिबुटी, सतुवा, चिराईतो, स्याउ र दाँते ओखर खेतीको लागि माटो परीक्षण लगायत स्थलगत अध्ययन गरी कृषकहरुलाई त्यस तर्फ उत्प्रेरित गर्दै अनुदानमा विरुवाहरु उपलब्ध गराईनेछ ।
1.10. नदी किनारका जमिन ,वेशी, टार तथा खेतबारीका कान्लाहरुमा सम्भाव्य फलफूल खेती गरी फलफुलको उत्पादन बढाईफलफूलमा आत्मनिर्भरताका लागि प्रत्येक घरधुरीमा एक सदस्य एक फलफूलको बिरुवा रोपण कार्यलाई अभियानका साथ अगाडि बढाइनेछ, साथै सोका लागि गाउँपालिका क्षेत्र भित्र एक फलफूल नर्सरी सञ्चालन एवमं विस्तार गरिनेछ ।
1.11. गाउँपालिका भित्र मौरीपालनको सम्भावन रहेको क्षेत्रहरुमा मौरी पालन व्यवसायलाई व्यवसायिकरण गर्दै मह उत्पादनबाट कृषकको आय आर्जनमा टेवा पुर्याउने नीतिलाई निरन्तरता दिइनेछ।
1.12. कृषिलाई आधुनिकीकरण गर्न गाउँपालिकाको आन्तरिक स्रोत र प्रदेश सरकारसँगको साझेदारीमा चक्लाबन्दी गर्न चाहने कृषक र कृषक समूहहरुलाई आवश्यक प्रोत्साहन र अनुदानको व्यवस्था गरिनेछ ।
1.13. कृषि सामाग्री, उन्नत विउ विजन खरिद, दुग्ध सङ्कलन, घाँस खेती आदिका लागि व्यवसायिक कृषक एवमंकृषि समूहलाईसमय समयमा अभिमुखीकरण एवमंम विशेष अनुदानका कार्यक्रम साथै कृषि बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याइनेछ ।
1.14. बाँझोखेतको प्रयोग नीति अबलम्वन गर्न भूमि बैंक खडा गरी गाउँपालिकाले कम्तीमा २० बर्षका लागि जग्गा लिजमा लिईव्यवसायिक खेती गर्न गाउँपालिकामार्फत प्रस्ताव आव्हान गरी उपयुक्त प्रस्तावलाईछनौट गरिनेछ र उक्त जग्गाको भौतिक पूर्वाधार ग्रामिण सडक, सिंचाई, विद्युत, खानेपानी, शित भण्डार आदिप्राविधिक सहायता, मल,बिउ, विजन र बजार प्रवर्द्धनमा गाउँपालिकाले पहल गर्नेछ । बाँझो जमिन निरुत्साहित गर्न बाँझो खेत राख्ने कृषकलाई कृषि सुविधाबाट बन्चित गरिनेछ ।
1.15. कम्तीमा ५ रोपनी जग्गा वा सो भन्दा बढी जग्गामा मौसम अनुसार एकै प्रकारको खेती गर्ने कृषकलाईव्यवसायिक कृषकको रूपमा पहिचानका साथ कृषि गणना र कृषक परिचयपत्र वितरण गर्ने कार्यलाई अगाडि बढाईनेछ ।
1.16. पालिकालाई कोदोमा आत्मनिर्भर बनाउदै रैथाने बालीका रुपमा कोदो संरक्षण/सम्वर्द्धन गर्न अनुदानको व्यवस्था गरी सबै होटल तथा रेष्टुरेण्टहरुमा कोदाको परिकार मेनुमा राख्न अनिवार्य गरिनेछ साथै कोदो प्रवर्द्धनका लागि विगत वर्षदेखि सञ्चालित कोदो महोत्सवलाई निरन्तरता दिईनेछ ।
1.17. गाउँपालिकाको कृषि श्रोतमा आधारित रैथाने बाली¸जडिबुटी र फलफुल लगायतका कृषि उपजहरुको उद्योग स्थापना गर्न निजि क्षेत्रलाइ आकर्षण गरिनेछ । अन्नपूर्ण गाउँपालिका भित्रका कृषि समूह, विभिन्न मोडलका कृषि फर्मका कार्यक्रमहरुलाई सम्बन्धीत सरोकारवालाहरुसँग समन्वय गरी व्यवसायिककृषिको रूपमा विकास गरिनेछ ।
1.18. स्थानीय तहमा उत्पादित खाद्यान्नहरु संचिती एवमं संरक्षण गर्ने र कुनैपनि प्रकारका खानेकुराहरु खेर नफाल्न गाउँपालिकाबासीलाई सचेतनाका साथ उत्पादन, उत्पादकत्व अभिवृद्धि गर्दै“खाना नफालौ” कार्यक्रमलाई विशेष अभियानका रूपमा सञ्चालनगरिनेछ ।
२. पशु विकास
2.1. पशुपालक एवमं दूग्धउत्पादक कृषकहरुको साथै गाउँपालिकाकै ग्रामिण अर्थतन्त्रको बलियो आधारको रूपमा विगत लामो समयदेखि रहदै आएकोमा यस गाउँपालिकाअन्तर्गतका सहकारी संस्थाहरुलाई सबल रूपमा सञ्चालन गर्न पशुधन बिमा कार्यक्रम सञ्चालन गर्ने, बहुवर्षे भुई घाँस, पोषिलो हिउँदे घास, बहु वर्षै डालेघासका बिरुवाहरु लगाउने तथा नर्सरी स्थापना गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरी कृषकहरुको दुग्ध उत्पादन लागत घटाउने कार्यक्रमहरु अगाडि बढाउदै दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवमं विस्तार गर्ने नीति अङ्गिकारगरिनेछ ।
2.2. “एक कृषक एक दुहुनो गाई/भैसी”कार्यक्रम अभियानका रूपमा सञ्चालन गरी दुधलाई आफ्नो दैनिक आयआर्जनको माध्यम बनाउदै दुध उत्पादनमा सहकारीताको विकास गरी पशुपालक कृषक समूहलाई गोठ निर्माण, तथा भकारो सुधार कार्यक्रमलाई निरन्तरताका साथ उत्पादनका आधारमा अनुदान उपलब्ध गराइनेछ ।
2.3. घर पालुवा जनावर कुकुरहरुमा विशेष पहिचान भएको स्वर र सुरक्षाका दृष्टिले समेत अब्बल “भोटे” प्रजातिको कुकुर यस गाउँपालिकाको उपल्लो भेकहरुमा पाइने भएकोले सो को लगत अद्यावधिक गर्ने, संरक्षण गर्ने र कुकुरको छाउराहरु उत्पादन गरी बिक्री वितरण गरी आयआर्जन गर्ने तर्फ उत्प्रेरणा अभिवृद्धि गर्ने नीति अबलम्बन गरिनेछ ।
2.4. व्यवसायिक पशुपालन, पशुबिमा, गोठ तथा भकारो सुधार उन्नत नश्लकागाई, भैंसी तथा बाच्छा-बाच्छी, पाडा- पाडी हुर्काउने कृषकहरुलाई प्रोत्साहन गर्ने, दुध र मासुको उत्पादन वृद्धि गर्न “पार्कोटे”र “लिमे” जस्ता रैथाने जातका भैसी पालन कार्यक्रमलाई प्रथामिकता दिइनेछ। प्रथामिक पशु उपचार सेवालाई निरन्तरता दिइनेछ।
2.5. व्यवसायिक पशुपालन (गाई, भैसी, भेडा, बाख्रा) मार्फत रोजगार सृजना गरी युवाहरुलाई गाउँभित्रै स्वरोजगार बनाउनको लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराई युवा लक्षित पशुपालन कार्यक्रम सञ्चालनगरिनेछ ।
2.6. पशुपालक कृषकहरुमा सिप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजाने कार्यमा जोड दिई कृषक समूह, समिति, सहकारी, गैह्र सहकारी संस्था र गाउँपालिका बीच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालनगरिनेछ ।
2.7. व्यवसायिक पशुपालकलाई उत्प्रेरित गर्न विभिन्न तालिम तथा प्रोत्साहनका साथ दलित, जनजाति, महिला तथा विपन्नवर्गमा विशेष प्राथमिकता दिई पशु विकास कार्यक्रम सञ्चालनगरिनेछ ।पशुपालनका क्षेत्रमा आधुनिक प्रविधिहरु सुधार गर्न “काम गरेर सिक्छ, देखेर विस्वास गर्छ”भन्ने नारालाई कार्यान्वयन गर्न व्यवसायिक किसानहरुलाई नमुना पशुपालन फर्महरुको अवलोकन तथा तालिम जस्ता कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

2.8. पंक्षी तर्फ कुखुरा, कालिज पालन व्यवसायलाई व्यवसायिककरण गरीएक निश्चित मापदण्डकाआधारमा अण्डा र मासु उत्पादनमा आत्मनिर्भरताका साथ निर्यात गरी आयआर्जनमा वृद्धि गरिनेछ ।
2.9. माछापालन व्यवसायलाई विस्तार तथा वृद्धि गर्न भुर्रा वितरण तथा पोखरी निर्माण गर्न जोड दिनुका साथै मत्स्यपालन क्षेत्रमा कृषकहरुको आकर्षण अभिवृद्धि गरिनेछ ।
2.10. जुनोटिक तथा महामारी किसिमका रोगहरु रोकथाम तथा नियन्त्रण गर्न भ्याक्सिनेशनका साथ पशु खोप कार्यक्रम संचालनका लागि गाउँपालिका र प्रदेश सरकारसँग सहकार्य गरी विशेष जोड दिई पशुपंक्षीमा लाग्ने विभिन्न रोग तथा परजीवीलाई रोकथाम तथा उपचार गर्नको लागि औषधी र पूर्ण खोपको व्यवस्था गर्दै यस गाउँपालिकालाई पशुको पूर्ण खोप युक्त गाउँपालिका बनाईनेछ ।

३. उद्योग तथा वाणिज्य
3.1. स्थानीय स्रोत सिप साधन एवम् प्रविधिको प्रयोगलाई बढावा दिई परम्परागत रूपमा रहेका राडीपाखी, कम्बल, भाङ्ग्रा, झोला बनाउने तानहरूलाई आधुनिकीकरण गरी व्यवसायिकताका साथ अन्नपूर्ण ब्राण्डको रूपमा विकास गरिनेछ ।
3.2. युवा, बेरोजगार तथा गरिबीको रेखामुनी रहेका व्यक्तिहरुलाई लक्षित गरी निजहरुको आयआर्जन तथा क्षमता विकासका लागि आधारभूत स्तरको र पेशागत उन्नत स्तरको सिपमुलक तालिम गरीवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत उपलब्ध गराईनेछ ।
3.3. लघु, घरेलु तथा साना उद्यमीलाई उद्यम विकास तालिम प्रदान गर्नुका साथै सफल उद्यमीहरुका अनुभव आदानप्रदान गर्ने तथा आवश्यक औजार, यन्त्र, उपकरण प्रदान गरी व्यवसायिकताको विकास गरिनेछ ।
3.4. यस गाउँपालिका क्षेत्र भित्र रहेको जलविद्युत उत्पादनको सम्भावनालाई उजागर गर्दै साना तथा ठुला जलविद्युत आयोजनाहरु संचालन गर्नका लागि लगानीकर्ताहरुलाई आकर्षण गर्नुका साथै त्यस्ता आयोजनाहरुमा पालिका बासीहरुको लगानी समेतको सुनिश्चिता गरी जलविद्युत तर्फको “एक घर एक शेयर सदस्य” हुने नीतिलाई अंगिकार गरी स्थानीय बासीहरु समेत सो आयोजनाहरुबाट लाभान्वित हुने अवसरको सिर्जना गरिनेछ ।
3.5. दलित समुदायको परम्परागत रूपमा रहेको पेशा व्यवसायलाई संरक्षण, सम्वर्द्धन र विविधीकरणका लागि आरनहरुको आधुनिकीकरण र पञ्चेवाजा खरिद अनुदान वितरण गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
3.6. स्थानीय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिबुटी, अल्लोमा आधारित उद्योगहरुगाउँपालिका तथा स्थानीयसँग साझेदारीमा स्थापना गर्न लगानीकर्ताहरुलाई उचित वातावरणको व्यवस्था गरिनेछ ।
3.7. गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, सिप विकास तालिम केन्द्र र अन्नपूर्ण पोलिटेक्नीकल इन्टिच्युट,CTEVT सँगको समन्वयमा युवाहरुलाई लक्षित गरी विभिन्न पेशागत तालिमहरु सञ्चालनगरी युवा उद्यमीहरुको विकास गरिनेछ ।
3.8. स्थानीय प्रशासनएवमं सुरक्षा निकायको समन्वयमा कालो बजारी, एकाधिकार, तथा कार्टेलिङ अन्त्य गर्ने तथा गुणस्तरीय र नियमित आपूर्ति सुनिश्चित गर्न संयुक्त बजार अनुगमन कार्यक्रम सञ्चालन गरी उपभोक्ता अधिकार संरक्षण गरिनेछ ।
3.9. हस्तकलाका सामाग्रीहरु र परम्परागत खाद्य पदार्थहरु (सिन्की, गुन्द्रुक मह, कफी, अलैंची आदि) लाई यस गाउँपालिकाको विशेष ब्राण्डको रूपमा स्थापित गरी निकासी जन्य वस्तु उत्पादन गर्न प्रोत्साहन गरिनेछ ।
3.10. यस गाउँपालिका भित्रका बजार केन्द्रहरुमा छुट्टा छुट्टै बजार व्यवस्थापन समितिहरु गठन एवमं क्रियाशील गर्ने र पालिका स्तरको एक उद्योग वाणिज्य संघ गठन एवमं क्रियाशील बनाई निजी क्षेत्रको उक्त सँगठनको साझेदारीमा सौहार्दपूर्ण व्यवशायिक क्रियाकलप सञ्चालन गर्नका लागि आवश्यक समन्वय गरिनेछ ।
3.11. एक घर एक तालिम अनिवार्य गरिनेछ । सबै वडामा तालिम मार्फत रोजगारी सृजना गर्न युवा रोजगार कार्यक्रम सञ्चालनगरिनेछ । खास गरीतीन महिने हाउस वायरिङ, प्लम्विङ, ड्राईभिङ, सिलाई बुनाई, ब्युटिसियन ट्रेडिङ, हेयरकटिङ,वर्कसप लगायतका अन्य व्यवसायिक तालिम मार्फत युवालाईस्वरोजगारतुल्याईनेछ ।
४. पर्यटन तथा संस्कृति
4.1. गाउँपालिकाको आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन भएकोले पर्यटकीय क्षेत्रहरु विकासका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरिनेछ ।
4.2. पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन गर्न गाउँपालिका स्तरीय पर्यटन गुरुयोजना निर्माण गर्नुका साथै पर्यटकीय पूर्वाधार निर्माणका लागि डिपिआर तयारी गर्ने, एवम् यस क्षेत्रको प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षहरुलाई समेटी डकुमेन्ट्री फिल्म निर्माण तथा ब्रोसर प्रकाशन गरी पर्यटकीय सम्भावनाको प्रचार प्रसार, संरक्षण र प्रवर्द्धन गरिनेछ ।
4.3. यस गाउँपालिकालाई पर्यटनहवको रूपमा स्थापित गर्न सामुदायिक होमस्टेहरुको प्रवर्द्धन र सम्वर्द्धनका साथ यस क्षेत्रको सांस्कृतिक मौलिकताको पहिचानका र अतिथि देवो भवः मूल मन्त्रलाई अङ्गिकार गर्दै स्थानीय अर्गानिक परिकारका साथ आवश्यक नियमन गर्दै पर्यटन प्रवर्द्धन गर्न जोड दिइनेछ। गाउँपालिकाको वडा नं. ८ विरेठाँटी र वडा नं. ७ को पोथनामा विदेशी पर्यटनको गणना कार्यको सुरुवात गरीसूचनाकेन्द्रको उपयोगमा ल्याईने नीति अवलम्बन गरिनेछ ।
4.4. नेपालको एक महत्वपूर्ण पर्यटकीय क्षेत्र एवम् गन्तव्यको रूपमा रहेको घान्द्रुकमा फोटो सुट केन्द्र स्थापना गर्ने र सो गाउँलाई सांस्कृतिक गाउँको रूपमा घोषणा गर्नका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरी परम्परागत सांस्कृतिक गाउँको पहिचान कायम गर्ने नीति लिइने छ । साथै गण्डकी प्रदेशसँसगको समन्वयमा सांस्कृतिक गाउँको स्थापनाको लागि आवश्यक पहल एवं समन्वय गरिनेछ ।
4.5. मठ, मन्दिर तथा गुम्बा, कोईवु, जस्ता धार्मिक पर्यटकीय क्षेत्रहरुको संरक्षण सम्वर्द्धनमा विशेष जोड दिइनेछ।पालिकामा रहेका ऐतिहासिक एवं धार्मिक स्थलहरु भुमेको थान, आरोग्यमाई, शिवालय, पाउँदुरकोट, रिनिम्यो ढुङ्गा, मेश्रमबराह ताल, ढिकुरपोखरी, छहराकुना पार्क लगायतका संभाव्य स्थलहरुको संरक्षण, सम्वर्द्धन र प्रचार प्रसार गरिनेछ । गाउँपालिका भित्र रहेका पर्यटकीय पदमार्गहरुको विस्तार तथा स्तरोन्नती गर्दै अन्नपूर्ण ग्रेटर पर्यटन पदमार्ग र पोखरा देखि पञ्चासेसम्म साईकल मार्गको निर्माण गरिनेछ ।
4.6. स्थानीय मौलिक संस्कृति, भाषा, भेष भूषालाई यहाँको पर्यटन र उत्पादनसँग जोडेर विकास गर्नुका साथै गुरुङ्ग जातिको तमु भाषाको पाठ्यक्रम तयार गर्ने नीति अङ्गिकारगरिनेछ ।
4.7. गाउँपालिकामा रहेका ऐतिहासिक¸धार्मिक एवमंपर्यटकीय स्थलहरुको प्रचार प्रसार प्रवर्द्धन गर्ने¸ परम्परागत कला संस्कृतिको संरक्षण सम्वर्द्धन गर्ने¸ धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे,अन्नपूर्ण आधार शिविर¸ (Hidden Lake) हिडन लेक¸मरेडाँडा¸ टाडापानी ताल चियाउने गह्रा क्षेत्रहरुको संरक्षण प्रवर्द्धन गरी पर्यटकीय गन्तव्यका रूपमा पहिचान गराइनेछ ।
4.8. भदौरे¸ घान्द्रुक¸ लान्द्रुक¸ पोथना¸ अष्टेलियनक्याम्प¸ पाउँदुरकोट¸ दाङ्सिङ साबेत गाउँ, उल्लेरी लगायतका स्थानहरुमा रहेका होमष्टेको प्रचार प्रसार¸प्रवर्द्धन व्यवस्थित गर्नुका साथै सम्भाव्य अन्य स्थानहरुमा समेत होमस्टेको विकास गरी सो क्षेत्रहरुलाई पर्यटन सूचना केन्द्रका रूपमा विकास गर्न पहल गरिनेछ ।
4.9. विश्वकै पर्यटकीय गन्तव्यहरु मध्येको एक उतकृष्ट गन्तव्य अन्नपूर्ण वेशक्याममा आन्तरिक र बाह्य पर्यटकीय गतिविधिको विकासका लागि सो पदमार्गको स्तरोन्नती गर्ने, रेस्क्यु सेन्टर स्थापना गर्ने र सो क्षेत्रमा प्रदुषण मुक्त तुल्याउनका लागि प्लास्टिक¸ टिन फलाम अन्य फोहोरजन्य बस्तुहरुको उचितव्यवस्थापन गरी सरसफाईमा जोड दिनुका साथै विगतबाट सञ्चालित अन्तराष्ट्रिय म्याराथुन प्रतियोगितालाई निरन्तरता दिइनेछ।
4.10. पर्यटकको बसाई अवधि लम्ब्याउन घान्द्रुक डाँडागाउँको गुरुङ संस्कृति झल्कने सङग्राहलय, मेलाचे पार्क¸नौडाँडाको भ्यु टावर एवं पार्क,भूमेको थान पार्क, मणिको डाँडो, बराह पोखरी,तालचियाउने गह्राको पार्क,शितल गुफाधार्मिक पर्यटक पार्क लगायतका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन एवमंविकास गरी व्यवस्थित बनाइनेछ, साथै नागडाँडा भ्यू टावरमा फोटोसुट सेन्टर स्थापना गरिनेछ ।
4.11. छोम्रोङ माथि अन्नपूर्ण आधार शिविरमा कुनैपनि पूर्वाधार विकासका नाममा मेशिनरी औजारको प्रयोग गरिने छैन । साथै यस क्षेत्रलाईपर्यावरण प्राकृतिक कुमारी (Virgin) क्षेत्र कायम राख्दै विपत् अवस्थामा तुरुन्त उद्धार गर्न सकिने व्यवस्था मिलाउनका लागि आवश्क पहल गरिनेछ ।
4.12. अन्नपूर्ण वडा नं. १ फल्लापानी डाँडा, वडा नं. ३ को पाउँदुरकोट र वडा नं. १० को घान्द्रुकको देउरालीबाट आले डाँडासम्म साहसिक खेल प्याराग्लाइडिङ सुरु गर्न सम्भाव्यताको अध्ययन एवं अनुमति दिई थप पर्यटक भित्र्याउने नीति अवलम्बनगरिनेछ ।
4.13. उल्लेख्य पदयात्री पर्यटकको आगमन हुने समयमा High Altitude क्षेत्रमा पर्यटकलाई सूचना दिन छोम्रोङ समुदाय संस्थासँगको सहकार्यमा पर्यटन सूचना केन्द्र एवमं Early Warning System स्थापना गर्न सम्बन्धित निकायसँग पहल गरिनेछ ।
4.14. पर्यटन क्षेत्रको कृषि क्षेत्रसँगको अग्र-पृष्ठ सम्बन्धको विकास गर्ने नीति लिइनेछ । मनोरम ग्रामीण क्षेत्रमा पर्यटकीय गतिविधि मार्फत स्थानीय समुदायको आय आर्जन वृद्धि गर्न होमस्टे तथा अर्गानिक कृषि प्रणालीलाई एकीकृत रूपमा सञ्चालन गर्ने प्रोत्साहन गरिनेछ । साथै साहसिक पर्यटनको सम्भाव्य क्षेत्रहरू लुम्लेमा रक क्लाइमिङ्, महोडाँडामा जिप फ्लायर, सार्कुको घट्टे खोलामा क्यानोनिङ्ग, वडा नं. ७ मा हनिहन्टिनङ,थमडाँडाबाट प्याराग्लाइडिङ जस्ता पर्यटकीय गतिविधिहरुकासम्भाव्यताहरुलाई उजागर गरिनेछ ।
4.15. गाउँपालिका क्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेन्टहरुको निश्चित मापदण्डका आधारमा वर्गीकरण गरी होटल रेष्टुरेन्टलाई मर्यादित पेशाको रूपमा सञ्चालन गर्न आवश्यक अनुगमन, नियमनका साथ उत्कृष्ट होटल व्यवसायीलाई पुरस्कृत गर्ने नीति अवलम्बन गरिनेछ ।
4.16. धार्मिक पर्यटनको विकासका लागि यस गाउँपालिका अन्तर्गत रहेका ऐतिहासिक एवं धार्मिक स्थलहरुको संरक्षण र विकासका लागि ऐतिहासिक ढिकुरपोखरीको संरक्षण, पालिका अन्तर्गतका मठ मन्दिरहरुको जिणोद्धार गर्दै भुमेको थान स्थित पार्कलाई नमुना पार्कको रुपमा विकास गर्नुका साथै तालचिहाउने गह्रामा पार्क निर्माण तथा हनुमानको मुर्ति स्थापना गर्ने र शितलगुफा मन्दिर एवं पार्कलाई थप व्यवस्थित र प्रभावकारी तुल्याईनेछ ।

५. सहकारी विकास
5.1. गाउँपालिकाभित्र स्थापना भएका सहकारीहरुको गुणस्तर र प्रभावकारितालाई नियमन, अनुगमन र सहकारी शिक्षामा जोड दिदै सहकारी दर्ता प्रक्रियालाई सहज र सरल तुल्याइनेछ ।
5.2. सहकारीलाई आय आर्जनको एक महत्वपूर्ण माध्यमको रूपमा विकास गरी सहकारीप्रति नागरिक उत्प्रेरणा अभिवृद्धि गर्न सहकारी भ्रमण र प्रशिक्षणमा जोड दिईनेछ ।
5.3. महिलाको आय आर्जन क्षमता विकास गर्न महिला सहकारी मार्फत महिलालाई सशक्तीकरण गरी महिलाहरुको आय आर्जन र क्षमता विकास गरिनेछ ।
5.4. सहकारीलाई पूँजी निर्माणको महत्वपूर्ण माध्यमको रूपमा स्थापित गरी स्थानीय उद्योग स्थापना, कृषि उत्पादन र औद्योगिक उत्पादनमा लगानी गर्ने वातावरणको सृजना गरिनेछ ।
5.5. सहकारी संस्थाको संस्थागत क्षमता विकास सम्बन्धी कार्यक्रमहरु सञ्चालनगरिनेछ ।सहकारीमा आबद्धगरीब, विपन्न, आदिवासी, जनजाति तथा अपांगता भएका व्यक्ति र महिला सहकारी संस्थालाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालनगरिनेछ ।एक सहकारी एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिई बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले कृषि उत्पादन तथा प्रशोधन र उत्पादनशील क्षेत्रमा कम्तीमा तीस प्रतिशत लगानी गर्नु पर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरिनेछ । सहकारी संस्थाको नियमित अनुगमन र नियमन गरी संस्थागत सुशासन कायम गरिनेछ।
६.बैंक तथा वित्तीय क्षेत्र
6.1. नेपाल सरकारको मौद्रिक तथा वित्तिय नीति अन्तर्गत रही आर्थिक वृद्धि, रोजगारी सृजना र आर्थिक स्थायित्व कायम गर्नका लागि कृषि, साना उद्योग, पूर्वाधार जस्ता उत्पादनशिल क्षेत्रहरुमा लगानी गर्नाका लागि गाउँपालिका क्षेत्र भित्रका सबै बैंक तथा वित्तिय संस्थाहरुलाई आवश्यक समन्वय गरिनेछ ।
6.2. यस गाउँपालिका अन्तर्गतका व्यापारिक केन्द्रहरुमा रहेका वित्तिय कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकारको मौद्रिक तथा वित्तिय नीति अन्तर्गत रहि सेवामुलक भावले बैकिङ्ग कारोबार सञ्चालन गर्न स्थानीय सरकारका तर्फबाट आवश्यक समन्वय गरिनेछ ।
6.3. नेपाल सरकारको मौद्रिक तथा वित्तीय नीति अन्तर्गत रही आर्थिक वृद्धि, रोजगारी सृजना र आर्थिक स्थायीत्व कायम गर्नका लागि कृषि, घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय सञ्चालन र पूर्वाधार निर्माण जस्ता उत्पादनशिल क्षेत्रमा लगानी सरल तथा सहज ऋण प्रवाहका लागि गाउँपालिका भित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई आवश्यक समन्वय गरिनेछ ।
6.4. कृषि विकासको माध्यमबाट उत्पादन, उत्पादकत्व वृद्धि गर्ने र आय आर्जन तथा रोजगारी सृजनाका लागि यस गाउँपालिकाको उपयुक्त स्थानमा कृषि विकास वैंकको कम्तीमा एउटा शाखा स्थापना एवमंसञ्चालनका लागि आवश्यक पहल गरिनेछ ।

ख) पूर्वाधार विकासः
1. एक गाउँ एक सडक निर्माण कार्यलाई निरन्तरता दिई अधुरा रहेका सडक ट्रयाकहरुको पूर्णताका साथै गाउँपालिका केन्द्र एवमं मध्य पहाडी लोकमार्ग देखि वडा केन्द्रहरु जोड्ने रणनीतिक महत्वका सडकहरु स्तरोन्नती गरी बाह्रै महिना सञ्चालन हुने अवस्थामा ल्याइनेछ ।
2. सडक निर्माण र स्तरोन्नती गर्दा रणनीतिक महत्वका सडकहरु खास गरी ग्रामिण यातायात गुरुयोजना अनुसार क,ख र ग श्रेणीका सडकहरुलाई प्राथमिकताका आधारमा रकम विनियोजन गरी अत्यावश्यक बाहेक नयाँ ट्रयाकहरु नखोल्ने र हाल रहेका सडकहरुको स्थायी पक्की संरचनाहरु निर्माण र स्तरोन्नतीमा जोड दिइनेछ।
3. स्थानीय सडक यातायात सहज र सरल रुपमा सञ्चालन गर्नका लागि पालिकाभित्रका गाउँ/टोल/बस्तीहरु जोड्ने सडकहरुमा दिर्घकालीन रूपमा हुन सक्ने सवारी चापको गहिरो अध्ययन गरी सडकहरुको मापदण्ड (Right of the way) तोकिनेछ र सो अनुसार साघुँरा सडक चोक एवमं घुम्तीहरुको विस्तार गर्नुका साथै सडकको राष्ट्रिय मापदण्ड र स्थानीय मापदण्ड पालना गराईनेछ ।
4. मध्यपहाडी लोकमार्ग सम्मको आवागमनलाई बर्षादको समयमा समेत नियमित रूपमा सञ्चालन गर्नका लागि एक सडक मर्मत सम्भार कोषको स्थापना गरी यही कोष मार्फत लिंक रोडको रूपमा रहेका कमजोर सडकहरुको नियमित र अद्यावधिक मर्मत सम्भारको व्यवस्था मिलाइने छ । यसको लागि सम्भाव्य स्थानहरुमा सडक मर्मत सम्भार शुल्कलाई प्रयोगमा ल्याइनेछ ।
5. अन्नपूर्ण गाउँपालिकाका सबै वडाहरुलाई जोड्ने गरी प्रस्ताव गरीएको अन्नपूर्ण बृहद चक्रपथ सडक निर्माण आयोजनालाई यस गाउँपालिकाको गौरवको आयोजनाको रूपमा सञ्चालनगरिनेछ । उक्त आयोजनाको बीच बीचका जोड्न बाँकी लिंक पोइन्टका दुई नाकाहरुलाई जोड्ने र समग्र सडकको स्तरोन्नती गर्ने कार्य सङ्घीय सरकार एवमं प्रदेश सरकारसँगको समन्वयमा विशेष प्राथमिकताका साथ अगाडि बढाइनेछ ।
6. गाउँपालिका अन्तर्गत निर्माण हुने ठुला आयोजनाहरुको कार्यान्वयन अगाडि सम्भाव्यता अध्ययन एवमं वातावरणीय प्रभावको समेत अध्ययन एवमं बिश्लेषण गरी मोटरेबल पूलहरु तथा ठुला संरचना भवन एवमं पार्कहरु निर्माण गर्दा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी सोको आधारमा मात्र निर्माण कार्य अगाडि बढाइनेछ ।
7. ग्रामिण क्षेत्रका गाउँ बस्ती हुँदै खेत जंगल जोड्ने परम्परागत गोरेटो, घोडेटो लगायतका सिंढीबाटाहरु र पर्यटकीय क्षेत्रका पदमार्गहरुलाई परम्परागत पहिचान कायम हुने गरी मर्मत सम्भार एवमं नयाँ निर्माण गरी स्तरोन्नती गरिनेछ ।
8. पालिका भित्र पर्ने खोला तथा खोल्साहरुमा पक्की मोटरेबल पूल आवश्यक रहेका सम्भाव्य क्षेत्रमा पक्की पूल निर्माणका लागि डिपिआर तयार गरी प्रदेश सरकार र सङ्घीय सरकारसँगको समन्वयमा अन्य आवश्यक प्रकृयाहरु अगाडि बढाइनेछ ।
9. गाउँपालिका एवमं संघ र प्रदेश सरकारको साझेदारीमा यस गाउँपालिका भित्रका आवश्यक स्थानहरुमा झोलुङ्गे पूल निर्माणलाई उच्च प्राथमिकता दिई आवश्यक सबै झोलुङ्गेपूलहरु क्रमशः मर्मत सम्भार तथा नयाँ निर्माण गरिनेछ । यस गाउँपालिका अन्तर्गतका पर्यटकीय गाउँलान्द्रुक र घान्द्रुक जोड्ने गरी लामो झोलुङ्गे पुल निर्माण गर्नका लागि विभागसँगको साझेदारी र समन्वयमा डिपिआर तयार गरिनेछ ।
10. उत्पादन र उत्पादकत्वका अभिवृद्धि गरी जनताको आर्थिक सामाजिक अवस्थामा सुद्दढिकरणका लागि पालिका अन्तर्गत खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन साना, मझौला र ठूला सिंचाई आयोजनाहरु सञ्चालनगरिनेछ । साना स्तरका सिंचाई आयोजनाहरु गाउँपालिका बाटनै निर्माण गरिने र मझौला तथा ठुला स्तरका सिंचाई आयोजनाहरु प्रदेश र सङ्घीय सरकारको समन्वयमा सम्पन्न गरी सिंचित भूमिमा उत्पादनमुखी कार्यक्रम सञ्चालनगरिनेछ ।
11. गाउँपालिका केन्द्र भवन निर्माण र वडा कार्यालयका भवनहरु निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिएकोछ । सङ्घीय र प्रदेश सरकारको समन्वयमा गाउँपालिकाको प्रशासनीक भवन, अस्पताल एवं स्वास्थ्य चौकीको भवनहरु, प्रहरी चौकी भवन निर्माण गर्ने एवमं जिल्ला समन्वय समिति कास्की र गाउँपालिकाको संयुक्त लगानीको साझेदारीमा वडा कार्यालयका भवनहरु निर्माण भईरहेका छन् । आगामी आर्थिक वर्ष भित्र अस्पताल एवं स्वास्थ्य चौकी भवन र वडा कार्यालय भवनहरु निर्माण सम्पन्न गरिसकिनेछ । श्रोतको पहिचान एवं उपयुक्त स्थानमा जग्गा व्यवस्थापन गरी पालिका स्तरिय बहुउद्देश्यीय भवन निर्माण गर्ने नीतिलाई अङ्गिकारगरिनेछ ।
12. गाउँपालिका भित्रनिर्माणाधिन संरचनाहरुलाई व्यवस्थित गर्नका लागि भवन निर्माण तथा योजना मापदण्ड २०७२ को अधिनमा रही गाउँपालिकाको आफ्नै भवन निर्माण तथा योजना मापदण्ड तय गर्ने, सडकहरुको क्षेत्राधिकार र मापदण्ड तोक्ने र भवन संरचनाहरु निर्माण गर्दा अनिवार्य रूपमा घर नक्सा पास गर्नुपर्ने व्यवस्थालाई कार्यान्वयन गरिनेछ ।
13. गाउँपालिका भित्रका गरीब, विपन्न, दलित, जनजाति र सिमान्तकृत समुदायका लागि सुरक्षित नागरिक आवास कार्यक्रमको मापदण्ड अन्तर्गत पर्ने घरहरुलाईजस्तापाता अनुदान उपलब्ध गराई त्यस्ता घरहरुलाई जस्तापाताद्धारा छाना छाउनका लागि सुरक्षित नागरिक आवास कार्यक्रमलाई निरन्तरता दिईनेछ । मनसुन जन्य विपद् जोखिम युक्त घरबस्ती व्यवस्थापनका लागि त्यस्ता घर एवं बस्तीहरुलाई पून निर्माण तथा बस्ती स्थानान्तरणका लागि तोकिएको अनुदान रकम उपलब्ध गराई घर बस्तीहरु व्यवस्थित गरिनेछ ।
14. भुकम्प पछिको पूननिर्माण कार्यक्रम अन्तिम चरणमा पुगेकोले निजि आवास निर्माण अन्तर्गतका लाभग्राहीहरुलाई पूर्न निर्माण प्राधिकरणको मापदण्ड पुरा गराईप्राप्त गर्न बाँकी किस्ता रकम उपलब्ध गराउने तथा घर सम्पन्न प्रमाणपत्र उपलब्ध गराई पुन निर्माणको कार्य सम्पन्न गरिनेछ ।
15. भौगोलिक विकटता र छरिएर रहेका बस्तीका कारण विकास निर्माण र सेवा प्रवाह दुबै खर्चिलो र प्रभावकारी हुन नसकेको हुँदा छरिएर रहेको बस्तीलाई एकिकृत गर्न सम्भाव्य स्थानहरुमा गण्डकी प्रदेशसँगको समन्वयमा एकिकृत बस्तीविकास योजना प्रारम्भ गरिनेछ ।
16. खण्डीकृत र टुक्रे जग्गाको कारणले कृषिमा आधुनिकिरण र यान्त्रीकरणमा समस्या भई व्यवसायिक कृषि प्रणाली अवलम्बन गर्न कठिनाई भएकोले गाउँपालिका भित्र सम्भाव्य स्थानहरुमा प्रदेश सँगको सहलगानीमा जग्गा चक्लाबन्दी विकास कार्यक्रम सञ्चालनगरिनेछ ।
17. गाउँपालिका भित्रका मुख्य बजार केन्द्रको रूपमा रहेका फेदी, नागँडाडा, ढिकुरपोखरी,काँडे, लुम्ले, नयाँपूल, बिरेठाँटी , घान्द्रुक, तिखेढुङ्गा लगायतका स्थानहरु विस्तारै शहरीकरण तर्फ उन्मुख रहेकाले सो क्षेत्रहरुमा स्थानीय समुदायको सहभागितामा शहरी सेवा सुविधारहरु विस्तार गरिनेछ , साथै मध्यपहाडी लोकमार्ग एवमं उल्लेखित सहरी क्षेत्र लगायतका अन्य सम्भाव्य क्षेत्रहरुमा सडक सौर्य, बत्ती जडान कार्यलाई निरन्तरता दिदै बिस्तार गरिनेछ ।
18. भौतिक पूर्वाधार अभाव भएका विद्यालयहरुको भवन निर्माण लगायतका पूर्वाधार संरचनाहरु (शौचालय, पुस्तकालय, छात्रछात्रावास, कम्पाउण्डीङ) को निर्माण कार्यलाई सङ्घ, प्रदेश र अन्य दातृ निकायहरुसँगको सहकार्यमा निरन्तर अगाडि बढाईने छ । माछापुच्छ्रे मा.वि. को नमुना विद्यालय अन्तर्गत पूर्वाधार संरचनाहरु निर्माणको लागि विगत वर्ष देखिको कार्यलाई निरन्तर रूपमा अगाडि बढाउदै नमुना विद्यालयको अवधारणालाई पूर्णता दिईने छ ।
19. पूर्वाधार संरचनाहरु निर्माण गर्दा गुणस्तरियता कायम गर्नका लागि गाउँपालिकामा निर्माण कार्यको ल्याब स्थापना गर्ने, समयमै निर्माण कार्य सम्पन्न गर्नका लागि स्थानीय श्रममा आधारित निर्माणका कामहरु उपभोक्ता समिति मार्फत गर्ने र ठुला संरचनाहरु निर्माण गर्दा ठेक्का प्रकृयाबाट निर्माण गरिने नीतिलाई अङ्गिकारगरिनेछ ।
20. गाउँपालिकाबाट निर्माण गरिने भवन लगायतका भौतिक संरचनाहरु लैंगिक, बालिबालिका तथा अपांगमैत्री र भुकम्प प्रतिरोधी बनाउनुका साथै भवन आचारसंहिताको परिपालना गरिनेछ ।
21. सामुदायिक भवनहरु निर्माण गर्दा प्रत्येक वडाहरुमा त्यहाँ क्रियाशिल टोल विकास समिति, आमा समूह, युवा क्लब लगायतका विभिन्न संघसंस्थाहरुले आ-आफ्नो छुट्टाछुट्टै भवन निर्माण नगरी एकिकृत रूपमा बहुउद्देश्यीयप्रयोजनका लागि उपयोग गर्ने र समूहगत आर्थिक सामाजिक गतिविधि सञ्चालन गर्ने गरी निर्माण गर्ने नीतिलाई अङ्गिकारगरिनेछ ।
22. विद्युत प्रशारण लाइनको केन्द्रीय लाइनमा आवद्ध हुन बाँकी वडा एवमं टोलहरुलाई केन्द्रीय प्रशारण लाइनमा आवद्ध गराउनका साथै विद्युतको पहुचः पुग्न नसकेका घर परिवारहरुलाई विद्युत सेवामा आवद्ध गराइनेछ । साथै प्रदेश सरकार तथा नेपाल विद्युत प्राधिकरणको समन्वयमा यस गाउँपालिका भित्र रहेका पुराना जिर्ण काठका पोलहरुलाई फलामे पोलद्धारा विस्थापित गरिनेछ ।
23. गाउँपालिका भित्रको जलश्रोतको उपयोगबाट जलविद्युतको संभावनालाई उजागर गर्नका लागि लगानीकर्ताहरुलाई उपयुक्त स्थानहरुमा हाइड्रोपावर सञ्चालनमा आकर्षित गर्ने र एक मेगावाट सम्मको जलविद्युत उत्पादन गर्न उपयुक्त स्थानहरुमा संयुक्त लगानीमा साना जलविद्युत आयोजनाहरु प्राथमिकताका साथ सञ्चालन गर्ने नीति अङ्गिकारगरिनेछ ।
24. यस गाउँपालिकाका सबै गाउँ टोल बस्तीसम्म संचार क्षेत्रको बिस्तार गरिनेछ । टेलिफोन नेटवर्क सेवा प्रभावकारी हुन नसकेका क्षेत्रहरुमा नेपाल टेलिकम लगायतका सम्बन्धीत निकायहरुसँग समन्वय गरी टेलिफोन सेवा प्रभावकारी बनाइनेछ ।
25. गाउँपालिका अन्तर्गतका सबै वडाहरुमा केबल नेटवर्क र इन्टरनेट सेवालाई जनताको पहुँच सम्म पुर्यावनका लागि अप्टिकल फाइबर नेटवर्किङ कार्यलाई निरन्तरता दिन सरोकारवाला निकायहरुसँग समन्वय गरी सूचना प्रविधिको उचित विकास गरिनेछ । साथै गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा इन्टरनेट सेवा उपलब्ध गराईनेछ ।
26. यस गाँउपालिकाको क्षेत्रगत विशेषताका आधारमा आवश्यक पुर्वाधार संचरनाहरु निर्माण गरी ग्रामिण क्षेत्रलाई आकर्षण केन्द्रको रूपमा विकास गर्दै बसाईसराईलाई नियन्त्रण गर्ने र बस्न योग्य बस्तीको रूपमा विकास गरिनेछ ।

ग) सामाजिक विकास
1) शिक्षा
1.1. सबै प्रकारका विकास मानवका लागि मानव विकासका लागि प्राविधिक सिप सहितको गुणस्तरीय शिक्षा सार्थक बनाउका लागि शिक्षा क्षेत्रमा लगानी वृद्धि गरिनेछ ।
1.2. पाँच वर्षमुनिका बालबालिकको सर्वाङ्गीण विकास गर्न र प्रारम्भिक बालशिक्षाको अनुभव सहित आधारभूत तहको शिक्षामा प्रवेश गर्ने वातवरण तयार गर्न सबै विद्यालयमा बालविकास केन्द्र अनिवार्य गरी प्रारम्भिक बालकक्षाका लागि निर्धारित मापदण्ड अनुरूप बालकक्षाहरू सुधार, कार्यरत सहजकर्ताको क्षमतामा विकासका गरिनेछ साथै बालकक्षाका शिक्षकहरू, विद्यालय कर्मचारी, विद्यालय सहयोगीको लागि नेपाल सरकारले निर्धारण गरे बमोजिमको न्यूनतम तलब उपलब्ध गराउने व्यवस्था मिलाईनेछ ।
1.3. विद्यालय तहको शिक्षालार्इ गुणस्तरीय वनार्इ सार्वजनिक विद्यालयहरूलार्इ विद्यार्थीको रोजोइको केन्द्र रुपमा निर्माण गर्न विद्यालय व्यवस्थापन खर्च तथा प्रधानाध्यापकको मनोबल उच्च बनाउनको लागि प्रधानाध्यापकहरुको भत्तामा प्रोत्साहन स्वरुप थप गरिनेछ ।
1.4. अन्नपूर्ण पोलिटेक्निकल इन्स्टिच्युट(अन्नपूर्ण बहु प्राविधिक शिक्षालय) बाट अध्यापन गराईने बाली विज्ञानका अतिरिक्त अन्य प्राविधिक बिषयहरु थप गरी अध्यापन गराउन पहल गरिनेछ साथै मागमा आधारित लामा,छोटा अवधिका व्यवसायिक तालिमहरु संचालन गर्ने व्यवस्था मिलाईनेछ ।
1.5. शिक्षकको मनोवल उच्च राख्न ‛शिक्षकलार्इ सम्मान गरौ, बालवालिकालार्इ माया गरौ’भन्ने आदर्शलार्इ प्रथामिकतामा राखी शिक्षण पेशालार्इ सम्मानित र मर्यादित पेशाका रूपमा विकास गरिनेछ । साथै बालवालिकालार्इ अध्ययनमा लगनशील हुने वातावरण तयार गरिनेछ र निश्चित मापदण्ड तयार गरी शिक्षित एवं विद्यार्थीहरुलाई पुरिस्कृत गरिने व्यवस्था मिलाईनेछ ।
1.6. गाउँपालिकाका सबै शिक्षण संस्थाहरूमा इन्टरनेट जडानको व्यवस्था, शैक्षिक पूर्वाधारको विकास, तालिम प्राप्त इमान्दार दक्ष प्रविधि मैत्री शिक्षक, शिक्षण सामग्रीको व्यवस्थापन, प्रभावकारी अनुगमन निरीक्षण र मूल्याङ्कन प्रणाली, नवीनतम प्रविधिको प्रयोग गरी प्रविधि मैत्री, गुणस्तरीय र जीवनउपयोगी शिक्षाको प्रवर्धन गरिनेछ ।
1.7. निरन्तर शिक्षा, एवम् साक्षरता, साक्षरोत्तर शिक्षा र गाउँपालिकाको पूर्ण साक्षरकार्यक्रममा दीगोपना कायम गर्नका लागि सामुदायिक सिकाई केन्द्रहरूलार्इ क्रियाशील गराइनेछ । साथै प्रौढ आमा- बुबालार्इ मोबाइल तथा आधुनिक विद्युतीय सामान चलाउन सिकाउन डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।
1.8. कोभिड–१९ महामारी र दैविक प्रकोपका कारणले पठनपाठनमा सिर्जना भएको अवरोधलाई दृष्टिगत गरेर सम्भव भएसम्म भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम् रेडियोमार्फत,दूर तथा बैकल्पिक शिक्षा कार्यक्रमबाट अध्ययन अध्यापनको लागि पहल गरिनेछ । साथै महामारीबाट स्वच्छ विद्यालय, सुरक्षित विद्यालय निर्माणको लागि विद्यालय शिक्षक, कर्मचारी, विद्यार्थीलाई कोभिड-१९ बिरुद्धको खोपको लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
1.9. विद्यालय बाहिर रहेका सबै बालवालिकालार्इ विद्यालयमा प्रवेश गरार्इ “बालवालिकालार्इविद्यालय ल्याऔं, पढाइमा टिकाऔं र दिगो सिकाऔं”कार्यक्रमलार्इ प्रभावकारी बनाइनेछ र गाउँपालिकाका सबै बालवालिकाहरूलार्इ अनिवार्य आधारभूत गुणस्तरीय शिक्षा र कम्तीमा माध्यमिक तहसम्मको शिक्षा पूरा गर्ने वातावरण सिर्जना गरिनेछ । साथै गाउँपालिका भित्र उच्च शिक्षा (स्नातक तह वा सो भन्दा माथि) अध्यापन गराउने शैक्षिक संस्थालाई प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउनेछ ।
1.10. सबै तहका शिक्षकहरूलार्इ मागमा आधारित शिक्षण सिकाइ तालिम प्रदान गर्दै शिक्षण सिकाइमा आएका कठिनाइलार्इ न्यूनीकरण गर्दै विद्यालय शैक्षिक गुणस्तर परिक्षणका निश्चित मापदण्ड निर्धारण गरी मापदण्डका आधारमा उत्कृष्ट नतिजाका विद्यालय, शिक्षक र बिषयगत शिक्षकलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिनेछ ।
1.11. गरीव, विपन्न अभिभावक विहिन साथै अपांगता भएका अभिभावकका वालवाललिका आर्थिक अवस्थाका कारणवाट अध्ययनमा कठिनाई भएका वालवालिकाको वास्तविकता पत्ता लगाई आवश्यक छात्रवृत्ति तथा दिवा खाजा उपलव्ध गराई विद्यालय तहको शिक्षा पूरा गर्ने वातावरण तयार सिर्जना गरिनेछ । साथै चिकित्साशास्त्र तर्फको उच्च शिक्षाअध्ययन गर्ने जेहेन्दार विद्यार्थीहरुलाई दिइँदै आएको छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइनेछ।
1.12. सामुदायिक विद्यालय र संस्थागत विद्यालय वीच, शिक्षण सिकाइ क्रियाकलाप र शैक्षिक तथा व्यवस्थापकीय पक्षहरुमा देखिएका असल अभ्यास सम्वन्धी अनुभवहरुको आदन प्रदान गर्ने वातावरण तयार गरिनेछ । साथै संस्थागत विद्यालयबाट नियमानुसार प्रदान गर्नुपर्ने छात्रवृत्तिलाई पिछडिएका, गरीब तथा दलित विद्यार्थीका निम्ति उपलव्ध गराउन सहजीकरण गरिनेछ ।
1.13. अन्नपूर्ण गाउँपालिकाको ऐतिहासिक, धार्मिक, सामाजिक, संस्कृतिक, प्राकृतिक, पर्यटकीय, कृषि तथा पशुपालन व्यवसाय लगायतका पक्षहरुलाई समेटेर यस गाउँपालिकाको पहिचान हुने गरी विद्यालय स्तरमा स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।
1.14. यस गाउँपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराइनेछ, साथै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिनेछ ।
1.15. गाउँपालिका भित्रका मानव पुँजीको अध्यावधिक अभिलेख तयार गरीनेछ, वौद्धिक युवाहरुको समूह निर्माण गरी निजामती, संस्थान तथा शिक्षण सेवामा प्रवेश गराउन उत्प्रेरणा जगाउने कार्यक्रम सञ्चालन गरिनेछ । साथै गाउँपालिका भित्र उपयुक्त स्थानमा धार्मिक पुस्ताकालय व्यवस्थापन एवं संचालन गरिनेछ ।
1.16. विद्यालयमा अपाङ्गता भएका वालवालिकाको पहिचान गरी सबै प्रकारका अपाङ्गता भएका बालबालिकाहरुमा शिक्षाको पँहुच पुर्याअईनेछ, मौजुदा विद्यालय संरचनालाई अपाङ्गतामैत्री बनाइनेछ ।
1.17. कास्की जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा नेपाल सरकारबाट नमुना विद्यालयको रूपमा छनोट भएको माछापुच्छ्रेमा.वि. शैक्षिक पूर्वाधारको पूर्णरूपमा विकास गर्री गा.पा.का कै नमुना विद्यालयको रूपमा विकास गरिनेछ । उक्त नमुना विद्यायललाई अन्य विद्यालयले नमुना सिकाइ केन्द्रका रूपमा प्रयोग गर्ने प्रबन्ध मिलाइनेछ ।
1.18. सार्वजनिक विद्यालयको सबलिकरण र सुदृढिकरण गर्नका लागि “जाहाँ विद्यार्थी ताहाँ विद्यालय”,साथै विद्यार्थी र शिक्षकको अनुपात मिलाउनका लागि न्युन विद्यार्थी भएका विद्यालय एकआपसमा समायोजन, कक्षा स्थगन वा एकिकरण गरी शिक्षक दरबन्दी व्यवस्थापन कार्यलार्इ अगाडि बढार्इनेछ ।
1.19. राष्ट्रिय प्राराम्भिक पढाइ कार्यक्रमलाई विद्यालयको नियमित कार्यक्रमको रूपमा निरन्तरता प्रदान गरिनेछ ।
1.20. अध्यापनका क्रममा आएका समस्या समाधानका साथै नवीन प्रविधिका माध्यमबाट शिक्षण सिकाइ गर्दै एकापसमा अनुभव आदान प्रदानका लागि वियषगत समिति गठन गरी प्रभावकारी शिक्षण सिकाइका लागि आमुन्ने सामुन्ने छलफल, अन्तरक्रिया, गोष्ठी, कार्यशाला, अनलाइन बैठक,छलफल, विद्यार्थी शिक्षकका अतिरिक्त क्रियाकलाप एवम् सूचना प्रविधिको समुचित प्रयोग गर्न आवश्यक कार्यक्रम विकास र सञ्चालन गरी पठनपाठनलाई गुणस्तरीय बनाइने छ ।
1.21. विद्यालय शिक्षामा अनुगमन र सुपरिवेक्षण गर्न अनुभवी तथा सक्षम शिक्षक, प्र.अ., विश्वविद्यालयका प्राध्यापक, शिक्षा प्रशासक, पालिकाका सम्बद्ध पदाधिकारी, शिक्षाविद, विज्ञ, वि.व्य.स प्रतिनिधि एवम् जनप्रतिनिधिसमेतको समूह निर्माण गरी विद्यालयको अनुगमन, सुपरिवेक्षण गर्ने र शिक्षक तथा विद्यालयका समस्यालाई स्थलगत रुपमै समाधान तथा सहजीकरण गर्न सामूहिक अनुगमन तथा निरीक्षण प्रणाली कार्यान्वयनमा ल्याइनेछ ।
1.22. गाउँपालिकाका शैक्षिक कार्यक्रम तथा विभिन्न जानकारीमूलक सूचना, विद्यालयका असल अभ्यास, नमुना कार्य तथा विविध शैक्षिक कार्यक्रम सम्बन्धी जानकारी प्रकाशन गर्ने उद्देश्यले चौमासिक रूपमा अन्नपूर्ण शैक्षिक बुलेटिन प्रकाशन गरी सबै विद्यालय तथा वि.व्य.स. र जनप्रतिनिधिलाई उपलव्ध गराइने छ । साथै उक्त बुलेटिनलाई गाउँपालिकाको वेबसाइटमा समेत राखिनेछ ।
1.23. शिक्षाका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन गाउँ शिक्षा समितिलाई क्रियाशिल बनाउदै स्वीकृत संघीय, प्रदेश तथा स्थानीय तहको कार्यक्रमबीच समन्वय गरी उपलव्ध साधन स्रोतको उच्चतम उपयोग गर्न शिक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन निर्देशिका तयार गरी सो अनुसार स्वीकृत गराएर लागु गरिनेछ ।

२) स्वास्थ्य
2.1. कोभिड-१९ रोगको नियन्त्रणको लागि भारत लगाएत तेस्रो मुलुक तथा नेपाल भित्रकै प्रभावित क्षेत्रबाट आएका यस पालिका भित्रका व्यक्तिहरुलाई १० दिन अनिवार्य होम क्वारेन्टाइनमा राखी त्यसपछि आवश्यकता अनुसार स्वास्थ्य परिक्षण गरी परिवार एवं समुदायमा रहने व्यवस्था मिलाईएकोछ ।
2.2. संघीय सरकारको सहकार्य र अनुमतिको आधारमा गाउँपालिकाबासीहरुलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराईनेछ, संघीय सरकारबाट खोप खरिदको लागि अनुमति प्राप्त भएमा खोप खरिदको लागि आवश्यक रकमको कमी हुन नदिई गाउँपालिकाबाट आर्थिक स्रोतको व्यवस्थापन गरी क्रमशः सबै नागरिकहरुलाई खोप लगाउने व्यवस्था मिलाईनेछ ।
2.3. महामारी रोकथाम र नियन्त्रणका लागि सबै स्वास्थ्य निकायहरु र समुदायको तयारी अवस्था र तत्काल प्रतिकृया गर्ने क्षमताको विकास गरिनेछ । बिपत ब्यबस्थापनको लागि पालिका स्तरीय RRT (Rapid Response Team)तथा समुदायस्तरीय CRRT(Community Rapid Response Team)टोलीलाई थप सशक्त र प्रभावकारी बनाइनेछ। आवश्यकता अनुसार समुदाय स्तरमै PCRTestतथा Antigenमाध्यमबाट परिक्षण गर्ने व्यवस्था मिलाईनेछ ।
2.4. “म मेरो स्वास्थ्य र मेरो जिम्मेवारी”भन्ने नारालाईस्वास्थ्यको मूल नाराको रूपमा अंगिकार गर्दै यस गाँउपालिकाका सबै वडामा स्वास्थ्य बिमा गर्न जनतालाइ प्रोत्साहितगरिनेछ । संविधानले निर्देश गरे अनुरुप गुणस्तरिय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुच स्थपित गर्न कटिबद्ध हुने र सोहिअनुसारको आवश्यक नीतिगत, वित्तिय र व्यवस्थापकिय माध्यमद्धारा स्वास्थ्य क्षेत्रमा सुशासन कायम गर्दै आधारभूत स्वास्थ्य सेवा बाहेकका सेवाहरु सामाजीक न्यायको सिद्धान्तद्धारा अनुप्राणित स्वास्थ्य विमा ऐन अनुरुप प्रदान गरिनेछ । विपन्न नागरीकलाई स्थानीय तहले बिमा प्रिमियम रकम बेहोर्ने गरी प्रक्रिया अगाडि बढाइनेछ साथै स्वास्थ्य विमामार्फत प्रदान गरिने सेवाको पहुँचलाई विस्तार गरी विपन्न नागरीक कोषलाई स्वास्थ्य विमा अन्तर्गत एकिकृत गरी छुट्टै “स्वास्थ्य विमा कोष” खडा गरिनेछ ।
2.5. यस गाउँपालिकाका सम्पूर्ण बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन स्रोत साधन सम्पन्न बनाइने छ । बर्थिंङ सेन्टर तथा दक्ष प्रसुतिकर्मीको पर्याप्त व्यवस्था गरी संस्थागत सुत्केरीलाई प्रोत्साहित गर्ने र घरैमा प्रसुति हुने प्रचलनलाई पूर्णतया निरुत्साहित गरी घरमा प्रसुति हुने क्रमलाई शुन्यमा झारिनेछ । आमा सुरक्षा कार्यक्रमको उपलब्धिलाई कायम राख्दै आवश्यकता र सेवा केन्द्रको नक्सांकन गरी बर्थिंङ सेन्टर मार्फत आकस्मिक प्रसुति सेवा EOCक्रमशःविस्तार गर्दै लैजाने नीति लिइनेछ ।
2.6. आपतकालिन मातृ तथा शिशु स्वास्थ्य व्यवस्थित गर्न गाउँपालिकामा “आपतकालिन सुरक्षित मातृत्व कोष” स्थापना गरिनेछ साथै १२ देखि ५५ बर्ष उमेर समूहका महिलाहरुको मृत्यु भएमा गरिने सूचना प्रणाली (MPDSR) कार्यक्रमलाई महिला स्वास्थ्य स्वयमसेवक मार्फत सम्पूर्ण वडाहरुमा पुर्याइनेछ ।
2.7. पूर्णखोपको सुनिश्चितता, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व, गाँउघर क्लिनिक जस्ता सेवालाई व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाको मनोबल उच्च राख्न आवश्यक नीति लिईनेछ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरुको रोकथामको लागि रास्ट्रिय निर्देशिका अनुसार निरन्तरता दिईनेछसाथै यस आ.ब. बाट टाईफाइट खोप अभियान संचालन गरि नियमित खोप सेवामा टाईफाइट खोप शुरुवात गरिनेछ, गुणस्तरीय खोपको प्रवर्द्धनको लागि कोल्ड चेन कायम राख्न गाउँपालिका तहको कोल्ड चेन गुणस्तर सुनिश्चित गर्ने व्यवस्था गरिनेछ ।
2.8. यस पालिकाको गौरवको आयोजनाको रुपमा रहको नागडाँडा स्वास्थ्य चौकीमा १५ शैयाको अस्पताल निर्माण कार्य सुरुवात भईसकेको हुँदा आगामी बर्षमा भवन निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याई पालिकाबासीलाई स्वास्थ्य तर्फको उपचारात्मक सेवा सरल र सहज रुपमा उपलब्ध गराईनेछ ।
2.9. परिवार स्वास्थ्य लगायत यौन तथा प्रजनन् स्वास्थ्यलाई एकीकृत सेवाको रूपमाकार्यान्वयन गरिनेछ । युवा तथा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाको अवधारणालाई पूर्णता दिन विद्यालय नर्स कार्यक्रम थालनी गरिनेछ ।
2.10. कुनै पनि नागरीक बञ्चित नहुने गरी आकस्मिक स्वास्थ्य सेवा समुदायसम्म उपलब्ध गराउने । सबै तहका स्वास्थ्य संस्थाहरुलाई गुणस्तरिय सेवा प्रदान गर्न सक्षम बनाउन आवश्यक पूर्वाधारहरुको प्रत्याभूति, अनुगमन र सुपरिवेक्षण गर्दै स्वास्थ्य निकायहरुलाई स्वास्थ्यमा सबै नागरीकको पहुँच सुनिश्चित गराउने माध्यम बनाइने छ ।
2.11. प्राथमिक स्वास्थ्य सेवाका प्रतिकारात्मक, प्रवर्धनात्मक, उपचारात्मक र पुनर्स्थापनात्मक सेवामा दिईआएको प्राथमिकतालाई कायमै राख्दै स्वास्थ्य क्षेत्रको जनस्वास्थ्य अभिमुखिकरणलाई अझ सुदृढ गरिनेछ । मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरी स्थानिय तहको पहलमा समुदायमा आधारित स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र प्रभावकारिताको अभिवृद्धिलाई प्राथमिकता दिईनेछ ।
2.12. गुणस्तरीय औषधिको सहज तथा प्रभावकारी आपूर्ति मार्फत १२ महिना नै औषधि तथा अन्य सामग्रीको आपूर्तिलाई पुरा गर्न स्वास्थ्य संस्थाको मागको आधारमा वितरणलाई सुनिस्चित गरिनेछ, साथै गाउँपालिकाबासीहरुलाई सर्व सुलभ रुपमा औषधी उपलब्ध गराउनका लागी गाउँपालिका स्तरीय फार्मेसी संचालन गर्न पहल गरिनेछ ।
2.13. समुदायस्तरमा संक्रामक रोगको प्रभावकारी नियन्त्रण भइ नसकेको अवस्थामा हाल विश्व लगायत हाम्रो देशमा देखिएको कोभिड१९, कोरोना भाइरस सहित नयाँसंक्रामक रोग र उपेक्षित ट्रपिकल रोगहरु महामारीकै रूपमा देखापर्न थालेकोजलवायु परिवर्तन, प्राकृतिक विपद्, पशु संसर्ग र उपयूक्त खोपहरुको अभावले गर्दा कतिपय संक्रामक रोगहरुको नियन्त्रणमा परेको कठिनाईलाई संबोधन गर्न संक्रामक रोगको नियन्त्रण र जनस्वास्थ्य प्रणालीको सुदृढिकरण विचको अन्तरसंबन्धलाई घनिभूत बनाईनेछ ।
2.14. महामारी रोकथाम र नियन्त्रण, प्रतिजैविक औषधीहरुको प्रभावकारिता, अस्पताल र स्वास्थ्य निकायहरुको तैयारी अवस्था र तत्काल प्रतिकृया गर्ने क्षमता, प्रयोगशालाहरुको विस्तार र क्षमताबृद्धि, स्क्रिनिंग आदिको लागी छुट्टै नीति तथा रणनीति बनाइ समुदायस्तरमा सचेतना कार्यक्रम संचालन गर्ने साथै क्षयरोग, औलो, एच. आई. भि. एड्स, कुष्ठरोग, कालाजार, डेंगु लगायतको उपेक्षित ट्रपिकलरोगहरु, हात्तीपाइले, जापानीज इन्सेफाइलाइटिस, स्क्रब टाईफस, रेबिज लगायत अन्य संक्रामक रोग नियन्त्रण र जनस्वास्थ्य प्रणाली सुदृढिकरण बीचको अन्तरसम्बन्धलाई मजबुतबनाइनेछ ।
2.15. स्वास्थ्य पोषण र विकास सहकारीहरु र अन्तरक्षेत्रिय समन्वयको माध्यमबाट गुणस्तरीय एवं स्वास्थ्यवर्द्धक खाद्य पदार्थको प्रवर्द्धन, उत्पादन, प्रयोग र पहुँचलाई विस्तार गरी कुपोषणलाई न्यूनीकरण गर्ने र पोषण संबन्धि जनचेतना बढाउन घरमा बस्ने र विद्यालय जाने उमेरका बालबालिकाहरुका स्वास्थ्य तथा पोषण प्रवद्र्धनलाई विशेष संबोधन गरिनेछ।जसका लागि विद्यालयमा कुनैपनि प्रकारका प्याकेटका खानेकुरा Junk food लाई निरुत्साहित गरिनेछ र २ वर्ष मुनिका बालबालिकाहरुको हरेक महिना तौल अनुगमन गर्दै पूर्ण पोषण युक्त वडा घोषणा कार्यक्रम शुरु गरिनेछ ।
2.16. विपद तथा दुर्घटनाबाट हुने चोटपटकका कारण अपांगता र मृत्युमा भैरहेको तीव्र वृद्धिलाई सम्बोधन गर्न रोकथाम,शिघ्र उपचार र दोहोरो प्रेषण प्रणालीलाई प्रभावकारी बनाइने साथै गाउँपालिका क्षेत्रमा एम्बुलेन्स सेवा विस्तारको पहल गरिनेछ ।
2.17. आमा, नवजात शिशु, बालबालिका र किशोरीहरुको स्वास्थ्य प्रबर्धनमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने गुणस्तरीय नर्सिङ तथा मिडवाइफ्री सेवा र मध्यमस्तर स्वास्थ्यकर्मीहरु सहज, सुलभ एवं प्रभावकारी रूपमा जनताको पहुचमा पुर्याउन बर्थिङ सेन्टरको क्षमता विकास, आवश्यक दक्ष नर्सिंङ जनशक्तिको व्यवस्था,उत्पादन,परिचालन, पेशागत वृत्तिविकाश र तालीमद्धारा सेवाको गुणस्तरमा वृद्धि गरिनेछ ।
2.18. महिला स्वास्थ्य स्वयंसेविकाहरुको कार्यक्रमलाई चुस्त र प्रभावकारी बनाउन बिशेष प्रोत्साहन स्वरुप आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गरिनेछ ।
2.19. स्वास्थ्य सम्वन्धी सन्देश एवं सूचना सुलभ रूपमा प्राप्त गर्ने सूचनाको हक सम्बन्धी अधिकारलाई कार्यन्वयन गर्न तथा सेवाग्राहीले उपचार सम्बन्धी जानकारी पाउने हक सुनिश्चित गर्ने,स्वास्थ्य व्यवस्थापन सुचना प्रणालीलाई व्यवस्थित बनाई तथ्यांकहरुको गुणस्तर र विश्वसनियतामा बृद्धि गरी त्यसको आधारमा प्रमाणमा आधारित नीति तथा योजना बनाइने छ । साथै गाउँपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक पूर्वाधार तथा क्षमता विकास गरी इन्टरनेट रिपोर्टिङप्रणालीDHIS लाई प्रभावकारी बनाइनेछ ।
2.20. स्वास्थ्य बहुक्षेत्र विषय भएको यथार्थलाई आत्मसात गर्दै सबै सार्वजनिक नीतिहरुमा स्वास्थ्यको मुद्धालाई सम्बोधन गर्न र स्वास्थ्यमा बहुक्षेत्रिय सहकार्य र सहयोगलाई प्रभावकारी ढङ्गबाट कार्यन्वयन गर्न स्वास्थ्य क्षेत्र र अन्य क्षेत्र बीच समन्वयको नीति अपनाइनेछ ।
2.21. स्वास्थयकर्मी र सेवाग्राहीविच पेशागत सुमधुर संबन्धको सुनिश्चितता गर्न संवन्धित निकायहरुसंग समन्वय गरी स्वास्थ्यकर्मिहरुको सुरक्षाको प्रत्याभुति गर्नुको साथै आमजनसमुदायको स्वास्थ्य सुरक्षा र विरामीहरुप्रति स्वास्थ्यकर्मिहरुले निर्वाह गर्नुपर्ने पेशाधर्मिता (आचारसंहिता) को पालनालाई सुनिश्चित गरिनेछ ।
2.22. जेष्ठ नागरीकहरुको संख्यामा भैरहेको वृद्धिलाई ध्यानमा राख्दै स्वास्थ्यका समस्याहरुलाई प्राथमिक स्वास्थ्य सेवाको तहदेखिनै व्यवस्थापन गरी प्रेषण प्रणाली मार्फत अस्पतालसम्म ज्येष्ठ नागरीकको पँहुच सुनिश्चित गरिनेछ साथै पालिकाका विभिन्न ठाउहरुमा आवश्यकता र मागका आधारमा बिषेशज्ञ सहितको निशुल्क स्वास्थ्य शिबिर संचालन गरिनेछ ।
2.23. स्वास्थ्य सेवालाई प्रभावकारी, सुरक्षित, विश्वासिलो, जनकेन्द्रित, तथा समतामुलक बनाउंदै स्वास्थ्य सेवाको उपयोगमा बृद्धि गरी आम जनताको स्वास्थ्य विकासद्धारा देशको समष्टिगत विकासमा योगदान पुर्याउनेस्वास्थ्य क्षेत्रको उदेश्य प्राप्तिको लागि स्वास्थ्य सेवाको गुणस्तरियतामा अधिकतम बृद्धिगरिनेछ ।

३) आयुर्वेद
3.1. अन्नपूर्ण गाउँपालिका भित्र रहेका सम्भाव्य जडिबुटीहरुको अध्ययन अनुसन्धान गरी स्थानीय जडिबुटीको पहिचानका साथ सो को उपयोग गर्दैआयुर्वेद उपचार पद्धति,ध्यानशिक्षा तथा योग अभ्यासलाई अन्नपूर्ण गाउँपालिकाको प्रत्येक वडामा विशेष योजना बनाई बिस्तार गरिनेछ ।
3.2. कोभिड-१९ ले मानव जाति माथिनै दिएको चुनौतीको सामना गर्नका लागि रोग प्रतिरोगात्मक क्षमताको विकासमा वृद्धि गर्न योग, ध्यान र आयुर्वेदीक औषधीहरुको प्रयोगलाई बढाई जडिबुटीजन्य औषधीहरु आफ्नै करेसाबारीमा उत्पादन गरी उपयोग गर्ने बानीको विकासका साथ स्वस्थ नागरिक कायम गर्न आयुर्वेद सेवाको विकास र विस्तार गरिनेछ ।
3.3. गाउँपालिकामा रहेको एक मात्र आयुर्वेद ‌औषधालयलाई सुविधा सम्पन्न बनाउदै औषधालयबाट सञ्चालित गाउँघर क्लिनिक,नसर्ने रोग ब्यबस्थापन कार्यक्रम,जेष्ठ नागरिक सेवा कार्यक्रम, स्तनपायी आमा सेवा कार्यक्रम अन्तर्गत दुग्ध बर्धक जडिबुटीजन्य औषधी वितरण कार्यक्रमलाई बिस्तार गरिनेछ ।
3.4. पञ्चकर्म तथा पूर्वकर्म सेवा कार्यक्रमलाई निरन्तरता दिई थप प्रभावकारी बनाउनुका साथै बाथ तथा विभिन्न स्वास्थ्य समस्या, नश्वकर्म, जानुवस्ती, कटीवस्ती, पोटलीशोधन जस्ता उपचार पद्धतीहरुलाई प्रभावकारी बनाईनेछ ।
3.5. गाउँपालिका क्षेत्रभित्र आयुर्वेदसेवामा जनताको पहुँच स्थापित गर्नका लागि गण्डकी आयुर्वेद औषाधालयको समन्वय र सहयोगमा अन्नपूर्ण गाउँपालिका वडा नं. १ मा स्थापित नागरिक आरोग्य सेवा केन्द्रलाई थप सशक्त र प्रभावकारी बनाईनेछ ।

४) खानेपानी तथा सरसफाई
4.1. गाउँपालिकाको स्थापना पश्चात निरन्तर रुपमा नागरिकहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने र एक घर एक धारा अभियान कार्यक्रमलाई महत्वपूर्ण आयोजनाका रुपमा संचालन गर्दै आईरहेकोमा खानेपानी सुविधा नपुगेका सबै घरधुरीमा आधारभुत स्तरको खानेपानी पुर्याउन सङ्घ,प्रदेशसरकार र अन्य गैर सरकारी संघसंस्था सँगको साझेदारीमा “एक घर एक धारा”कार्यक्रमलाई निरन्तरता दिदै आगामी बर्ष भित्र सबै घरधुरीहरुमा एक घर एक धारा सम्पन्न गरिनेछ ।
4.2. गाउँपालिका अन्तर्गत सञ्चालित हालका खानेपानी आयोजनाहरुको पानीको श्रोतले दिर्घकाल सम्म जनताको खानेपानी आवश्यकतालाई पुरा गर्न नसक्ने भएकोले यस क्षेत्रमा भविष्यमा हुन जाने खानेपानीको अभावलाई पुरा गर्न र शुद्ध, सफा, स्वच्छ, हिमालको जराको खानेपानी उपलब्ध गराउन र सो पानीको उपयोगबाट खानेपानीको व्यवसायीक फर्म समेत सञ्चालन गरी गाउँपालिकाको आन्तरिक आय अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउनका लागि सङ्घीय सरकारबाट स्वीकृत लान्द्रुक अन्नपूर्ण गाउँपालिका बृहत खानेपानी आयोजनालाई यस गाउँपालिकाको गौरवको आयोजनाको रूपमा निर्माण गर्नका लागि संघीय आयोजना कार्यालयसँग आवश्यक समन्वय गरी यथासक्य कार्यान्वयन चरणमा अगाडि बढाईनेछ ।
4.3. सम्पन्न भएका खानेपानी आयोजनाहरुको पानीको मुहान संरक्षण र सम्बर्द्धन गर्ने, पानीको स्रोतलाई लोप हुन नदिनका लागि जगेर्ना गर्ने, नियमित खानेपानी आपुर्ति र गुणस्तरीयताका लागि स्थानीय खानेपानी तथा सरसफाई समितिलाई प्रमुख जिम्मेवार तुल्याई आयोजनाहरुको दिगोपना कायम गरी खानेपानी आपुर्तीलाई सरल र सहज तुल्याईनेछ ।
4.4. हालको आधारभुत खानेपानीको व्यवस्थामा सुधार र स्तरोन्नती गर्दै क्रमशः गुणस्तरीय खानेपानी उपलब्ध गराउनका लागि आवश्यक कार्यक्रमहरु संचालन गर्ने तथा पानीको गुणस्तरीयता मापन गरी पालिकाबासीलाई शुद्ध खानेपानीको सुनिश्चितता गरिनेछ ।

५) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण
5.1. बहुबिवाह बालबिवाह, अनमेल बिबाह घरायसीरूपमा हुने सबै प्रकारका लैङ्गिक हिंसा, लैङ्गिक विभेद र सबै प्रकारका कुरीति एवमं कुसंस्कारको अन्त्य गर्न गाउँपालिकाभित्र सञ्चालित वा कार्यरत संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै सचेतनाका कार्यक्रमहरुसञ्चालन गरी सामाजिक रुपान्तरण गरिनेछ ।
5.2. सबैविद्यालयहरु र वडाहरुमा बालक्लब गठन, गाउँपालिका स्तरीय बाल सञ्जाल, किशोरकिशोरीहरुको समूह गठन गरी बालबालिका र किशोरकिशोरीको शैक्षिक, वौद्धिक र नेतृत्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालनगरिनेछ ।
5.3. सबै प्रकारका अपाङ्गताभएका व्यक्तीहरु रगाउँपालिका अन्तर्गतका जेष्ठ नागरीकहरुलाई वितरण गर्दै आएको परिचयपत्र वितरण कार्यलाई निरन्तरता दिदैं त्यस्ता व्यक्तीहरुको सामाजिक संरक्षणका साथअपांगता भएका व्यक्तिहरुको आय आर्जन, क्षमता विकास लगायतका कार्यक्रमहरु संचालन गर्नुका साथै जेष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
5.4. सबै प्रकारका बालश्रमिकहरुको अन्त्य, गाउँपालिकाभित्र बेबारिसे बालिबालिका अभिभावक नभएका बालबालिका र मानसिक सन्तुलनका कारण बेबारिसे व्यक्तिहरुको पहिचान गरी त्यस्ता व्यक्तिहरुको संरक्षण सम्वर्द्धन साथै उचित व्यवस्थापन गरिनेछ ।
5.5. गाउँपालिकामा सञ्चालन गरिने हरेक क्रियाकलापमा महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता र पहुँच अभिवृद्धि गरी सामाजिक सदभाव कायम गरिनेछ ।
5.6. दलित, आदिवासी, जनजाती सिमान्तकृत वर्गहरुको परम्परागत सीप विकास, भेषभुषा, भाषा लिपि तथा संस्कृतिको संरक्षण संम्वर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
5.7. गरीब, विपन्न वर्गको उत्थान गरी आयआर्जन एवमं गरीबी न्यूनिकरणको लागि गाउँपालिकाबाट उपलब्ध गराईने सबै प्रकारका अनुदान तथा सहयोग आर्थिक, सामाजिक र विपन्नताको आधारमा उपलब्ध गराईनेछ ।
5.8. बालमैत्री स्थानीय शासनको प्रयोग गर्दै अन्तराष्ट्रिय बाल अधिकार सम्बन्धी महासन्धी एवमं राष्ट्रिय नीतिहरुले समेत निर्देशन गरेका बाल बचाउ, बाल बिकास, बाल सहभागिता र बाल संरक्षणको अधिकारलाई सुनिश्चित गर्दै बालबालिकाको शैक्षिक, बौद्धिक साथै नेतृत्व विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
5.9. आर्थिक, सामाजिक, भौगोलिक रूपमा पिछडिएका महिलाहरुको क्षमता विकासको लागि महिलाहरुको आय आर्जन, क्षमता विकास र सशक्तिकरणका लागि गाउँपालिका र पालिकाबासी बीच समन्वय कायम गरी सुमुधर सम्बन्ध स्थापना गर्नको लागि महिलासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरिनेछ ।
5.10. अति विपन्न, असहाय, अनाथ, हिंसामा परेका महिलाहरुलाई साहायता एवमं उद्धार गर्नको लागि लैङ्गिक हिंसा निवारणकोष स्थापना गरी सो कोष मार्फत पिडित महिलाहरुको राहत तथा उद्धार गरिनेछ ।

घ)वन, वातावरण तथा बिपद ब्यबस्थापन
1. “वैज्ञानिक व्यवस्थापन सहितको हरियो वन, अन्नपूर्णको स्वच्छ वातावरण स्वस्थ्य जीबन” भन्ने मुल नारालाई अङ्गिकार गर्दै वन तथा वन्यजन्तु संरक्षण, दिगो वैज्ञानिक वन व्यवस्थापन तथा उपयोग र वातावरणीय सेवाको दिगो उपलब्धताको लागि समुदायमा आधारित वन व्यवस्थापनलाई सबल बनाउदै लगिनेछ ।
2. अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनार सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा वन तथा वातावरण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्दा जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकुल तथा गरीब र विपन्न वर्गको जिविकोपार्जनमा मद्धत पुर्याउने कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिईने छ ।
3. भइरहेका रुख बिरुवा र बनजंगलको संरक्षण गर्दै नयाँ वृक्षारोपण कार्यक्रम सञ्चालन गरी जलाधार क्षेत्रको संरक्षण गरिनेछ । स्थानीय समुदाय, टोल विकास संस्था, सुरक्षा निकाय, नागरीक समाज तथा संचार माध्यमसँग समन्वय र सहभागीतामा वन डढेलो रोकथाम तथा नियन्त्रण गरिनेछ ।
4. गाउँपालिका अन्तर्गतका पुरातात्विक महत्वका मठ, मन्दिर, पाटी, पौवा, कुवा, पोखरी, चौतारी, विश्राम स्थलहरु र त्यसको महत्वसँग जोडिएका रुख विरुवाहरुको संरक्षण गरी यस्ता स्थानहरुमा वर, पिपल, समी लगायतका विरुवाहरु रोपण गर्ने र सडकपेटी किनाराहरु एवमं पार्क, विद्यालय, स्वास्थ्य चौकी एवमं सार्वजनिक स्थलहरुमा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
5. जडिबुटीको खोज अनुसन्धान र संरक्षणका लागि आवश्यक कार्यक्रम बनाइनेछ । गाउँपालिकाको कुनै उपयुक्त स्थानमा सबै प्रकारका जडिबुटी रोपण गरी जडिबुटी पार्क निर्माण गरिनेछ ।
6. फेवाताल जलाधार क्षेत्रको तल्लो तट र उपल्लो तट बीचको बातावरणीय सन्तुलन कायम गर्नका लागि पोखरा महानगरपालिका र प्रदेश सरकारसँग समन्वय गर्दै उपल्लो तटीय क्षेत्रको पारिश्रमिक सेवाको भुक्तानी प्रणालीलाई व्यवस्थित गरिनेछ ।
7. सबै प्रकारका बिकासका पूर्वाधार निर्माण कार्य जैबिक विविधतामा असर नपर्ने गरी वातावरण मैत्री बनाइने छ । सडक वरीपरी पहिरो नियन्त्रणको लागि अम्लिसो, निगालो जस्ता बोटबिरुवा रोपी वातावरण सन्तुलन कायम गर्दै उत्पादन र आयआर्जनमुलक बोटबिरुवा रोपण कार्यलाई प्राथमिकता दिईनेछ ।
8. फोहोरमैला व्यवस्थापन गर्न प्रत्येक टोलमा टोलस्तरीय सरसफाईव्यवस्थापन समिति गठन गरी सरसफाईको कार्य अगाडि बढाइनेछ । गाउँपालिका स्तरमा एउटा ल्याण्डफिल्ड साइडको स्थापना गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाईनेछ ।
9. कोभिड १९ लगायतका महामारीजन्य रोगहरुबाट सुरक्षित रहन जनप्रतिनिधि, कर्मचारी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शिक्षक परिचालन गर्दै सचेतनाका कार्यक्रमहरु सञ्चालन गरी सावधानीका उपायहरु अबलम्वन गरिनेछ ।हिमाल तथा पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर न्युनीकरण गर्न सरोकारवालासँगको सहकार्यमा जलाधार र हिमतालहरुको संरक्षण तथा भू-संरक्षणमा जोड दिईनेछ ।
10. बिपद ब्यबस्थापन कोषमा प्रयाप्त बजेटको व्यवस्था गरी कार्यविधि अनुरुपका विपद प्रतिकार्यका पूर्वतयारी, खोज, उद्धार, राहत र पुर्नस्थापना गरिनेछ । विभिन्न संघ संस्थाहरुलाई सहयोगको लागि आह्वान गरी एकद्धार प्रणालीबाट सहयोग वितरण गरिनेछ ।रोग पछिको उपचार र बिपद पश्चात गरिने उद्दार भन्दा सचेतना र सावधानी लाई बढी महत्व दिई सो अनुरुपका कार्यक्रमहरु गरिनेछ । गाउँपालिकाको विपद व्यवस्थापन तयारी तथा प्रतिकार्य योजना निर्माण गरिनेछ । प्रत्येक वडाका बस्तीसम्म सजिलै पहुँच हुनेगरी एम्बुलेन्स सेवाको बिस्तार गर्दै लगिनेछ ।
11. गाउँपालिका भित्र प्रयोगबिहिन अबस्थामा रहेका ढुङ्गा, गिट्टी, बालुवा रोडा लगायतका प्राकृतिक स्रोतको उच्चतम प्रयोगका लागि आइ.ई.ई , इ.आई.ए. जस्ता वातावरणिय प्रभाव मुल्याङ्कन लगायतका कानुनी प्रकृया पुरा गरी पूर्ण उपयोग गर्ने नीति लिइनेछ ।
12. गाउँपालिकालाई पूर्ण सरसफाईतर्फ उन्मुख गराउँदै निश्चित स्थानहरुमा सार्वजनिक शौचालय निर्माण र सञ्चालनलाई निरन्तरता दिईनेछ ।
ङ) सुशासन, संस्थागत विकास तथा सेवाप्रवाह
1) संस्थागत तथा सुशासन
1.1. हालको वर्तमान अवस्था (कोभिड-१९) को संक्रमणमा पनि सार्वजनिक सेवा प्रवाहलाई निरन्तरता दिँदा सेवा प्रवाह गर्ने स्थल संक्रमणको माध्यम नबनोस भन्ने तथ्यप्रति सचेत हुँदै सार्वनजिक सेवा प्रवाहलाई कागज रहित बनाई विद्युतिय शासन पद्धतिको क्रमश लागु गर्दै जाने नीति अबलम्बन गरिनेछ । सेवा प्रवाह गर्दा व्यक्तिगत तथा सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका लागि अबलम्बन गर्नुपर्ने सुरक्षाको उपाय र साधनको प्रयोग गरिने ।
1.2. यस गाउँपालिकाबाट प्रवाह गरिने सेवालाई मितव्ययी, प्रभावकारी, उत्तरदायी, पारदर्शी र नतिजामुखी तुल्याउनको लागि आवश्यक संरचनागत र संस्थागत व्यवस्थालाई जनमुखी तुल्याउदै नागरीकमैत्री सेवा प्रवाहको वातावरण सृजना गरिनेछ ।
1.3. कार्यरत कर्मचारीहरुको कार्य प्रक्रियालाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न प्रमुख प्रशासकीय अधिकृत एवमं सबै कर्मचारीहरु बीच कार्यसम्पादन करारको सम्झौता गरी सेवा प्रवाहलाई थप प्रभावकारी एवमं नतिजामुलक बनाइने छ । साथै कर्मचारीको मनोबल उच्च राख्न कर्मचारीको क्षमता अभिवृद्धि, पुरस्कार, सम्मान र प्रोत्साहन समेतको व्यवस्था मिलाइने छ । “Right man in Right place”को नीति अवलम्बन गरिनेछ ।
1.4. गाउँपालिकाको संस्थागत क्षमता वृद्धिका लागि पूर्वाधार विकास तथा अभिलेख प्रणालीलाई व्यवस्थित गर्दै प्रविधिमैत्री बनाईनेछ ।
1.5. गाउँपालिका र सो अन्तर्गतका निकायहरुबाट प्रवाह गरिनेसम्पूर्ण सेवा प्रवाहलाई विद्युतीय माध्यमद्धारा सञ्चालनगरिनेछ र सो का लागि आवश्यक पर्ने Software खरिद गरी प्रयोगमा ल्याईनेछ ।
1.6. गाउँपालिकाका सूचना नीति, योजना, कार्यक्रम, बजेट, ऐन प्रतिवेदन लगायतका महत्वपूर्ण जानकारीलाई वेबसाइट र मोबाइल एप्सको माध्यमबाट पारदर्शि रूपमा प्रकाशित गरिनेछ ।
1.7. प्रत्येक आर्थिक वर्ष पालिकाबाट सम्पादित कार्य प्रगतिको समिक्षा र चौमासिक रूपमा सार्वजनिक सुनुवाई गरी जनताप्रतिको जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिईने छ । जनताको घरदैलोमा सेवा उपलब्ध गराउनका लागि विभिन्न समयमा घुम्ती सेवा सञ्चालनलाई निरन्तरता दिईने छ ।
1.8. गाउँपालिकाको पञ्चबर्षिय आवधिक योजना र बजेट बीचतादात्म्यता मिलाई मध्यमकालिन खर्च संरचनालाई व्यवस्थित गरिनेछ । गाउँपालिका केन्द्र तथा सबै वडा कार्यालयहरुमा डिजिटल नागरिक वडापत्र तथा क्षतिपूर्ति सहितको नागरिक वडापत्र कायम गरी सेवाग्राही प्रति उत्तरदायी संयन्त्रको विकास गर्दै लगिने छ ।
1.9. गाउँपालिकाभित्र सञ्चालित योजना, कार्यक्रम तथा गाउँपालिका अन्तर्गतका बिषयगत निकायहरुको काम कारवाहीलाई प्रभावकारी एवमं गुणस्तरीय तुल्याउनको लागि अनुगमन तथा मुल्याङ्कन कार्यलाई नियमित संयन्त्रको रूपमा विकास गरिनेछ ।
1.10. गाउँपालिकाबाट पारित पदाधिकारीहरुको आचारसंहिताको प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकहरुप्रति उत्तरदायी हुने संयन्त्रको विकास गरिनेछ ।
1.11. यस गाउँपालिकामा कानुनी शासनको प्रणालीलाई स्थापित गर्नको लागि स्थानीय तहलाई प्रदत्तकानून निर्माण अधिकारभित्र रही सङ्घीय र प्रदेशसँगको तादात्म्यता अनुरुप आवश्यक कानून तथा कार्यविधिहरु निर्माण गरिनेछ ।
1.12. गाउँपालिकाका सेवाग्राहीहरुको सम्मान गर्दै नेपाल सरकारको सुशासन सम्बन्धी“म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न र जनताका लागि इमान्दार भएर काम गर्नेछु”भन्ने प्रतिज्ञा सहितको कार्य संस्कृतिको प्रवर्द्धन गर्दै गाउँपालिकाबाट हुने सबै सेवाहरु छिटो, छरितो र भ्रष्टचार रहित तुल्याउदै भ्रष्टचारमा शुन्य सहनशिलता कायम गरिनेछ ।
1.13. गाउँपालिकावासी नागरिकहरुका बीचमा सामाजिक सदभाव र मेलमिलाप कायम गर्न न्यायिक समितिमा पर्न आएका बिबादहरुको निष्पक्ष र प्रभावकारी निरुपण गर्नका लागि न्यायिक समितिको शसक्तिकरण गर्दै गाउँपालिका अन्तर्गत सूचिकृत मेलमिलापकर्ताहरुलाई सामाजिक सदभाव र मेलमिलाप कायम गर्ने दुतको रूपमा प्रयोग गरी न्याय सम्पादन गरिनेछ ।
२) राजस्व
2.1. नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहलाई प्राप्त राजश्व सम्बन्धी अधिकारको प्रयोग गर्दै गाउँपालिकालाई आर्थिक रूपमा समृद्ध एवम् आत्मनिर्भर बनाउन राजश्वका सबै संभावना र क्षेत्रहरुको खोजी गर्दै प्रगतिशील र समतामूलक ढंगले करका दरहरु निर्धारण गरिनेछ ।
2.2. गाउँपालिका भित्र ढुङ्गा, गिट्टी, बालुवा, दहत्तर बहत्तर लगायतको बिक्री तथा निकासी प्रणालीलाई व्यवस्थित तुल्याउन सम्भाव्य सबै क्षेत्रहरुलाई करको दायरामा ल्याइनेछ । साथै यस गाउँपालिका अन्तर्गत सञ्चालित हाइड्रोपावर कम्पनीहरुले उपयोग गर्ने नदीजन्य तथा अन्य प्राकृतिक स्रोत सामाग्रीहरुको उपयोग गरे बापतको कर गाउँपालिकाको आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दरमा असुली गर्नको लागि आवश्यक पहल गरिनेछ ।
2.3. विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरसबाट सृजित वर्तमान अवस्थालाई ध्यानमा राखी गाउँपालिकाले उठाउने आन्तरिक राजस्व स्रोततर्फ कर, सेवा शुल्क, दस्तुरका दररेट समायानुकुल सामान्य हेरफेर गरी सबै करदातालाई समेटी करको दायरा बिस्तार गरिनेछ ।
2.4. अपाङ्गता भएका व्यक्तिहरु, एकल तथा विधवा महिलाहरुलाई जुनसुकै प्रकारको व्यवसाय सञ्चालन गर्दा व्यवसाय दर्ता करमा ५० प्रतिशत छुट दिइनेछ।
2.5. गाउँपालिका भित्र सञ्चालित तर गाउँपालिकामा दर्ता नभएका सबै व्यवसायहरुलाई करको दायरामा ल्याउन आ.व. २०७४/०७५ देखि २०७७/०७८ सम्मको जम्मा बक्यौता रकममा लाग्ने जरिवानामा पूर्ण छुट दिइनेछ ।
2.6. विश्वव्यापी रूपमा फैलिएको नोवेल कोरोना भाइरस ( कोभिड १९) का कारण लामो समयसम्म लकडाउन भई पर्यटन व्यवसाय तथा अन्य व्यापार व्यवसायहरु सञ्चालन नभएकोले सम्पूर्ण व्यवसायहरुको आ.ब. २०७६/०७७ र ०७७/७८को बक्यौता रकममा लाग्ने जरिवानामा पूर्ण छुट दिइनेछ ।
2.7. गाउँपालिका अन्तर्गतका करदाताहरुलाई प्रोत्साहन गर्ने वातावरणका साथ सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरिनेछ भने समयमा कर नतिर्नेलाई थप जरिवाना गर्दै लामो समय कर नतिरी अटेर गर्नेलाई गाउँपालिकाले दिने सबै सेवा सुविधा रोक्का गरिनेछ ।
2.8. राजश्व प्रशासनको प्रभावकारिताको लागि आवश्यक कार्यविधि, निर्देशिका र मापदण्ड बनाई लागू गरिनेछ । आन्तरिक नियन्त्रण प्रणालीलाई थप सशक्त र प्रभावकारी बनाइनेछ ।
2.9. सबै किसिमका पेशा व्यवसाय सञ्चालनको दर्ता, नविकरण गर्ने कार्यलाई छिटो, छरितो, सरल, पारदर्शी र करदाता मैत्री बनाइनेछ ।
2.10. सार्वजनिक जग्गाको संरक्षण तथा उपयोग सम्बन्धी कार्यविधि बनाई सार्वजनिक जग्गामा सञ्चालितसबै किसिमका व्यवसायलाई करको दायरामा ल्याइनेछ ।
2.11. कर सङ्कलनलाई थप प्रभावकारी बनाई प्रक्षेपण गरीएको राजश्व यथा समयमा सङ्कलन गर्न वडा समिति र टोल विकास संस्थाहरुलाई परिचालन गरिनेछ ।
2.12. अस्थायी प्रकृतिका हाटबजार तथा मुख्य बजार भित्रको पार्किङ शुल्कलाई उचित व्यवस्थापन गर्न स्थानीय क्लब, टोल विकास संस्था लगायतका संघ संस्थाहरुसँग सहकार्य गरिनेछ ।
2.13. “अन्नपूर्ण समृद्धिको लागि नियमित तिरौं करः तिरेको कर विकास मार्फत फर्किन्छ घर घर”मान्यताकासाथ प्रत्येक वर्ष प्रथम चौमासिक अवधिभित्रसबै वडामा करदाता शिक्षा कार्यक्रम तथा घुम्ती कर सङ्कलन सप्ताह अभियानका रूपमा सञ्चालनगरिनेछ ।
2.14. गाउँपालिकाबाट गर्ने खर्च प्रणालीलाई व्यवस्थित गरी बेरुजु तथा पेश्कीलाई निरुत्साहित गर्दै आर्थिक पारदर्शिता कायम गरिनेछ । काम सम्पन्न भएपछि मात्र भुक्तानी दिने गरी पेश्की नियन्त्रण गर्ने नीतिलाई निरन्तरता दिदै बेरुजु शुन्य बनाउन आवश्यक व्यवस्था मिलाइनेछ ।
2.15. स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए बमोजिम आगामी आ.ब. हरुमा गाउँपालिकालाई सम्पत्ति कर प्रणालीमा आवद्ध गराईनेछ । कर प्रणालीलाई व्यवस्थित गर्न आवश्यक र उपयुक्त प्रविधिको प्रयोग गरी सूचना प्रविधि मैत्री बनाइनेछ ।

३) युवा तथा खेलकुद
3.1. विकासका हरेक प्रकृयाहरुमा सामाजिक सदभाव र सामाजिक एकिकरण अभिवृद्धि गर्दै रुपान्तरणकारी भूमिकामा युवाशक्तीलाई परिचालन गरिनेछ। युवाहरुको क्षमता विकास र सशक्तिकरणका साथ उत्पादनमूलक कार्य र आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
3.2. गाउँपालिका भित्रका सबै वडाका युवा क्लब तथा युवा समूहहरुलाई संस्थागत दर्ता प्रकृयाको दायरामा समेटी पालिका स्तरीय युवा सञ्जाल गठन गरी सामाजिक परिचालन र विकास निर्माणका कार्यमा युवाहरुको सहभागिता अभिवृद्धि गरिनेछ ।
3.3. आर्थिक, सामाजिक विकासको सम्वाहक नै युवाशक्ति भएकोले सामाजिक सदभाव र एकीकरण अभिवृद्धि गर्ने र असल नेतृत्व, सफल व्यवसायी, उद्यमी राष्ट्रसेवकहरुको सहयोगमा युवाहरुको रुचि, चाहना, क्षमता योग्यताका आधारमा मानव पुँजी निर्माण गर्न र युवाहरुमा सकारात्मक सोचको विकास गर्न प्रेरणादायी प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
3.4. कोरोनाका कारण वैदेशिक रोजगार गुमाएर नेपाल फर्किएका युवाहरुलाई अवसरको रूपमा उपयोग गर्दै“Brain Back र Muscle Back” को रूपमा उनीहरुको अनुभव सिप क्षमताको समुचित प्रयोग गरी युवाहरुलाई उत्पादनमा आधारित कृषि, पशुपालन, पर्यटन, निर्माण, उद्योग र साना घरेलु उद्योगमा आधारित कार्यमा सहभागि गराई रोजगारका अवसरहरु सृजना गरिनेछ ।
3.5. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरी गाउँपालिकामा सूचिकृत भएका बेरोजगारहरुलाई गाउँपालिकाभित्र सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरुमा रोजगार उपलब्ध गराउने र बेरोजगारका हकमा नेपाल सरकारको नीति अनुसार बेरोजगार भत्ता उपलब्ध गराईनेछ ।साथैयस गाउँपालिका अन्तर्गत रहेका विभिन्न ज्ञान,सिप, क्षमता, योग्यता र अनुभव भएका व्यक्तिहरुको विवरण अध्यावधिक गरी गाउँपालिकामा रोजगार सेवा केन्द्र स्थापना गरी निजहरुलाई ज्ञान, सिप ,क्षमता, योग्यता र अनुभव अनुसारको रोजगारी दिलाउनका लागि विभिन्न रोजगारदाताहरुसँग समन्वय गरिनेछ।
3.6. संघ र प्रदेश सरकारको समन्वयमा गाउँपालिकाभित्र खेलकुदका पूर्वाधारहरु निर्माण, विकास साथै स्तरोन्नती गरिनेछ र “एक वडा एक खेलमैदान” निर्माण गरिनेछ । माछापुच्छ्रे खेल मैदानलाई स्तरोन्नती गरी राष्ट्रियस्तरको खेल मैदानको रूपमा विकास गरिनेछ ।
3.7. विद्यालय स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता, विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमहरुलाई निरन्तरताका साथ यस गाउँपालिका अन्तर्गतका साविकका गाविसहरुमा स्थापित ढिकुरपोखरीको तिज विशेष मेला, भदौरे कोदो महोत्सव, लुम्ले लोकदोहोरी प्रतियोगिता र कोटेसागु भिरको हनिहन्टिङ महोत्सव, विरेठाँटीको फागुपुर्णिमा मेला, घान्द्रुकको अन्नपूर्ण म्याराथुन जस्ता प्रतियोगितालाई व्यवस्थित र परिस्कृतरूपमा सञ्चालन गरी आन्तरिक र बाह्य खेल पर्यटकहरुको विकास गरिनेछ ।

४) गै.स.स, निजि क्षेत्रः
4.1. यस गाउँपालिकाभित्रसञ्चालन भएका राष्ट्रिय तथा अन्तराष्ट्रिय सामुदायिक एवमं गैर सरकारी संस्थाहरुसँग सामाजिक विकासमा साझेदारी गर्दै ती संस्थाहरुलाई जवाफदेही र मर्यादित बनाउन पारदर्शि र व्यवस्थित रूपमा परिचालन गर्न NGO डेस्क स्थापना गरी सबै कार्यक्रमहरुलाई गाउँपालिका मातहतमा ल्याईनेछ ।
4.2. गाउँपालिका सँग विकास र जनसेवामा साझेदारी गर्न चाहने राष्ट्रिय, अन्तराष्ट्रिय, गै.स.स. सँगको सहकार्यलाई उच्च प्राथमिकता दिई स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्था समेतका आधारमा विकासका गतिविधिमा गै.स.स. सँग सहकार्य गरिनेछ । साथै अनुभव आदानप्रदान, असल सिकाई अवलम्बन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भगिनी सम्बन्ध कायम गर्ने नीति अवलम्बन गरिनेछ ।
4.3. विकासमा सार्वजनिक निजि साझेदारी नीतिलाई वास्तविक कार्यनीतिमा परिणत गरिनेछ, विकास निर्माणमा जनसहभागिता र निजि क्षेत्रको भूमिका समेत स्थापित गर्दै लगिनेछ ।

उपस्थित गाउँसभाका सदस्यहरु,
अन्त्यमा, नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली, गण्डकी प्रदेश सरकारको समृद्ध प्रदेश र सुखी नागरिक र हाम्रो पालिकाको समुन्नत र समृद्ध अन्नपूर्ण गाउँपालिका भन्ने मूल भावनामा रहेर प्रस्तुत नीति तथा कार्यक्रम तयार पारिएकोछ । यसका लागि स्थानीय मागका सशक्त योजना निर्माण, प्रभावकारी कार्यान्वयन, व्यक्तिगत चाहना भन्दा माथि उठेर सहभागितामा आधारित विकासको साझा पहल आवश्यक छ । नीति तथा कार्यक्रम तर्जुमाको शिलशिलामा हरबखत अमुल्य सुझावहरु दिई सहयोग गर्नु हुने सम्पूर्ण श्रद्धेय गाउँपालिकाका मेरोटिमका पदाधिकारी तथा कर्मचारी साथिहरु, गाउँपालिका स्थित राजनैतिक दलका पदाधिकारीज्यूहरु लगायत सबै पक्षको विकासप्रतिको एकता, सम्बेदनशिलता, क्षेत्रगत सूचनाको जानकारी एवमं सबै निर्वाचित पदाधिकारीहरु बीच रहेको उच्च स्तरीय समन्वय, सहकार्य र सहभागिता हाम्रो लागि अत्यन्त महत्वपूर्ण रहयो, यसप्रति सबैमा हार्दिक कृतज्ञता प्रकट गर्दै धन्यवाद दिन चाहान्छु ।
पुनः कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण उत्पन्न असहज परिस्थितिले मानव समुदायका आवश्यता र प्राथमिकताहरुलाई नै बदलि दिएकोछ । त्यसैगरी, यसले हरेक मुलुको अर्थतन्त्र र समग्र शासन प्रक्रियामा पनि गम्भिर असर पारेको छ । यस्तो अवस्थामा हामीले प्रवाह गरिने सार्वजनिक वस्तु र सेवाको पुनः प्राथमिकिकरण गर्नुपर्ने भएको छ । हामीले हाम्रो पालिकालाई कसरी कोभिड मुक्त गराउँदै स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि उत्पादन र रोजगारी प्रवर्द्धन गर्ने भन्ने चुनौतीसँग जुध्दै महामारीको सुरुवाती चरणदेखिनै यससँग जुध्न विशेष भूमिका निर्वाह गरेकोलेनै वास्तवमै सङ्घीय व्यवस्थाको ‌औचित्य स्थापित भएको छ । जनताको घरदैलोको सरकारको रूपमा आगामी दिनमा आउने प्रतिकुल परिस्थितिको सामना गर्न हामीले आफुलाई अझ बढि व्यवस्थित रूपमा पूर्व तयारी गर्नुपर्ने अवस्था छ । विगत वर्षबाट यस गाउँपालिकाले लिएको दीर्घकालीन नीति, कार्यक्रमर यस नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा अन्नपूर्ण गाउँपालिकाको भौतिक पूर्वाधार लगायत आर्थिक, सामाजिक, साँस्कृतिक एवमं मानव विकासको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने देखिएकोले यसको सफल कार्यान्वयनको लागि सम्वद्ध सबै पक्षहरुबाट सदाझै सहयोग, सुझावहरुको अपेक्षा सहित हार्दिक कृतज्ञता प्रकट गर्दै, पुन सबैमा धन्यवाद सहित बिदा हुन्छु ।
जय अन्नपूर्ण
जय नेपाल
युवराज कुंवर
अध्यक्ष
अन्नपूर्ण गाउँपालिका, कास्की ।

आजको ट्रेन्डिङ समाचार