गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल | Samacharpati गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

गण्डकीका मुख्यमन्त्री गुरुङ विश्वासको मत पाउन असफल

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विश्वासको मत पाउन असफल भएका छन्। जसले गर्दा उनी मुख्यमन्त्री पदबाट मुक्त भएका छन्। पछिल्लो समय उत्पन्न अनेकौं राजनीतिक परिस्थितिका कारण मुख्यमन्त्री पद गुमाउने उनी पहिलो नेता बनेका छन्। मत विभाजन प्रक्रियामा जाँदा मुख्यमन्त्री गुरुङको पक्षमा २७ र विपक्षमा ३० सांसद उभिए। त्यसपछि प्रदेश सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री गुरुङले मागेको विश्वासको मतको पक्षमा बहुमत नपुगेकाले विश्वासको मत असफल भएको घोषणा गरे। उनलाई मत दिने २७ जनै सांसद एमालेका हुन्।

गण्डकी प्रदेशसभामा ६० सदस्य छन्। जसमध्ये कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजवादी पार्टी (जसपा) का दुई तथा राष्ट्रिय जनमोर्चा (राजमो) का दुई सांसदले विपक्षमा मत दिए। विश्वासको मत दिने आशा गरिएका जनमोर्चाका कृष्ण थापा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले भने मुख्यमन्त्री गुरुङको पक्षमा मत हालेनन्। थापा तटस्थ बसे भने मनाङे मतदान प्रक्रियामै अनुपस्थित रहे।

मुख्यमन्त्री गुरुङ ठूलो दलको हैसियतमा अल्पमतको सरकारको नेतृत्व गर्दै गत वैशाख २९ गते दोस्रोपटक मुख्यमन्त्री बनेका थिए। त्यसकारण उनले बाध्यात्मक संवैधानिक व्यवस्थाअनुसार एक महिनामा विश्वासको मत लिनुपर्ने अवस्था थियो। यसअघि उनी नेकपाको दुई तिहाइको नेतृत्व गर्दै करिब साढे तीन वर्ष मुख्यमन्त्री बनेका थिए। गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा अब नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेछ।

आजको ट्रेन्डिङ समाचार