लमजुङमा एक साता निषेधाज्ञा | Samacharpati लमजुङमा एक साता निषेधाज्ञा – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • लमजुङमा एक साता निषेधाज्ञा

लमजुङमा एक साता निषेधाज्ञा

लमजुङमा एक साता निषेधाज्ञा

२८ बैशाख लमजुङ : कोरोना संक्रमण फैलिएसँगै लमजुङमा एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

जिल्ला सदरमुकाम वेंशीशहरलगायत अन्य स्थानीय तहहरुमा संक्रमितको संख्या दिनहुँ बढेकाले थप संक्रमणलाई रोकथाम गर्न वैशाख २८ गते राति १२ बजेदेखि जेठ ३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

निषेधाज्ञा अवधिमा औषधि उपचार, खाद्यबस्तु खरिद र खेतबारीमा कृषिजन्य कामबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ। यस्तै, एम्बुलेन्स, बिरामी बोकेका गाडी, शववाहन, निर्माण सामग्री ढुवानीका साधन, पशुपंक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने साधन र अनुमति प्राप्त साधनबाहेक अन्य सबै खाले सवारी सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

खाद्यन्न तथा तरकारी, पेट्रोलियम पदार्थ, औषधिजस्ता अत्याश्यक उपभोग्य बस्तु बिक्री गर्नेबाहेक सम्पूर्ण पसल, उद्योग व्यापार व्यवसाय गर्न रोक लगाइएको छ। दैनिक उपभोग्य वस्तुको पसल बिहान ६ देखि ९ बजेसम्म खुला राख्न पाइने छ।

धार्मिक, सांस्कृतिक जस्ता जमघट, भेला हुने कार्याक्रममा प्रशासनले रोक लगाएको छ। जिल्लाका नाकाहरुबाट समेत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सम्पूर्ण सवारी साधन र पैदल आवतजावतमा समेत पूर्ण रुपमा रोक लगाइएको प्रशासनले जनाएको छ।

बैठकले जिल्लाको अवस्था हेरेर निषेधाज्ञाको समय थपघट गर्नु परे जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्ने समेत निर्णय गरेको छ। लमजुङको राईनास नगरपालिका–७ र दुधपोखरी गाउँपालिकाको वडा नम्बर १ र २ मा यसअघिनै निषेधाज्ञा जारी भएको थियो।

आजको ट्रेन्डिङ समाचार