राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन | Samacharpati राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, ओली पक्षको उम्मेदवार टुंगो लागेन

२४ वैशाख, काठमाडौं ।  राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो ।

उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । यद्यपि सत्तारुढ नेकपा एमालेले उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

खाली भएको यो क्षेत्रमा एमालेले बादललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ भने बादल जितको ग्यारेन्टी नभएसम्म उम्मेदवारी नदिने अडानमा छन् । जसका कारण अहिलेसम्म एमालेको तर्फबाट उम्मेदवार चयन भइसकेको छैन ।

संयुक्त गठबन्धनको तर्फबाट भने यो पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् । देवकोटा माओवादी, कांग्रेस र जसपाको संयुक्त उम्मेदवार हुन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति यसअघि विपक्षी दलहरुबीच भएको थियो ।

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

आजको ट्रेन्डिङ समाचार