गण्डकीमा कोरोना सङ्क्रमण उग्र,४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा हेर्नुृहोस अहिलेसम्मको अपडेट | Samacharpati गण्डकीमा कोरोना सङ्क्रमण उग्र,४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा हेर्नुृहोस अहिलेसम्मको अपडेट – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • गण्डकीमा कोरोना सङ्क्रमण उग्र,४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा हेर्नुृहोस अहिलेसम्मको अपडेट

गण्डकीमा कोरोना सङ्क्रमण उग्र,४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा हेर्नुृहोस अहिलेसम्मको अपडेट

गण्डकीमा कोरोना सङ्क्रमण उग्र,४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा हेर्नुृहोस अहिलेसम्मको अपडेट

गण्डकी प्रदेशमा आइतबार एकै दिन ५७६ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिबारभन्दा संक्रमित संख्या २७४ ले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा संक्रमित संख्या पुगेको हो । पहिलो लहरमा एकदिनमा सबैभन्दा धेरै ३४२ जनामा संक्रमण देखिएको थियो ।

आइतबारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघेको छ । चिकित्सकहरूले कोरोनाको संक्रमण समुदायमा भुसको आगोसरी फैलिएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा ११ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा ५७६ जना अर्थात् झण्डै ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । यो पनि कोरोना संक्रमणबाट मृत्यु हुनेमा प्रदेशको अहिलेसम्मकै ठूलो संख्या हो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३२ पुगेको छ ।कास्की र पोखरामा पनि कोरोना संक्रमणले उच्च विन्दु छोएको छ ।

कास्कीमा आइतबार ३६८ जनामा संक्रमण पुष्टि भई सक्रिय संक्रमितको संख्या १३ सय १५ जना पुगेको छ । गण्डकी प्रदेशको कुल संक्रमितमध्ये कास्कीका ६५ प्रतिशत रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा पछिल्लो एक हप्तामा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ । आइतबार मात्रै पोखरामा उपचाररत ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार ३ जनाको मृत्यु भएको थियो ।गण्डकीमा चैत ३१ गतेसम्म मृत्यु हुनेको संख्या २०७ जना थियो ।

अहिले त्यो संख्या २३२ पुगिसकेको छ । पछिल्लो समय कोरोनाका बिरामीहरूमा छिट्टै सास फेर्न गाह्रो हुने र हाइ फ्लो अक्सिजनको आवश्यक पर्नेको संख्या बढिरहेको चिकित्सकहरू बताउँछन् ।

गण्डकी प्रदेशमा ५० बेडको सरुवा तथा संक्रामक रोग अस्पताल अहिले भरिभराउ छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० बेडमध्ये २५ बेड भरिएको प्रदेश स्वास्थ्य निर्देशक डा। शर्माले जानकारी दिए ।

गण्डकी मेडिकल कलेजमा १२३, मेडिप्लसमा ५९ बेड, फिस्टेलले २५ बेड दिने बताएको निर्देशक शर्माले बताए । ‘जहाँ जहाँ कोरोनाको उपचार हुन्छ, बिरामीको उपचारका लागि सहजीकरण गर्ने सरकारले कर्मचारी नै पठाउने तयारी गरेका छौं’ शर्माले भने, ‘कोभिडका बिरामीका कारण अरू बिरामीले उपचार नपाउने अवस्था नआओस् भनेर पनि सचेत छौं ।’ अब ५० बेडभन्दा साना अस्पतालसँग पनि सहमति गर्ने तयारी गरेको उनले बताए ।

स्वास्थ्यमा समस्या नहुँदासम्म घरमै बस्न प्रेरित गर्ने र बिरामीको स्वास्थ्य बिग्रन थालेपछि उपचारको पहुँच बढाउनेबारे कोभिड–१९ संकट व्यवस्थापन समितिमा पनि छलफल भएको उनको भनाइ छ ।

काठमाण्डौ उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ । गृह मन्त्रालयका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ । यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको हो ।

बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञा भए पनि जोरबिजोर लगाइएको छ ।

कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ । बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।

कास्कीमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि जारी निषेधाज्ञाको समय थप गरिएको छ । यस अघि जिल्लामा वैशाख १५ गतेबाट २१ गते राति १२ बजे सम्म खुकुलो गरी निषेध आदेश जारी भएकोमा २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजे सम्मका लागि थप कडाइ गर्दै कास्की प्रशासनले निषेधाज्ञाको अवधि थप गरेको हो ।

आजको ट्रेन्डिङ समाचार