काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ५ हजार ७६३ जनामा संक्रमण पुष्टि भएको हो।
यो अहिलेसम्मकै उच्च भएको मन्त्रालयले जनाएको छ। शुक्रबार ५ हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको थियो। यसअघि नेपालमा २४ घण्टामा सर्वाधिक ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो।
मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ४०३ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ७०६ र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो।
शनिबार पाँच हजार ७६३ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ। कुल संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुग्दा दुई लाख ८२ हजार ३८२ जना डिस्चार्ज भएका छन्।
शनिबार १९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार २९८ पुगेको छ। अहिले क्वारेन्टाइनमा ६७ जना रहेका छन्।
२४ घण्टामा संक्रमित भएकामध्ये ३२ सय ५१ पुरुष र २४ सय ५५ महिला रहेका छन्। यो अवधिमा १२ सय ८७ जना भने डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ४०१ आईसीयू र ११० जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ।