२०७८ को जनगणनामा चर्पी देखी स्मार्ट फोन सम्मका प्रश्न एकचोटी हेरौन | Samacharpati २०७८ को जनगणनामा चर्पी देखी स्मार्ट फोन सम्मका प्रश्न एकचोटी हेरौन – Samacharpati
Samacharpati
सोमवार, भदौ २१, २०७८
  • होमपेज
  • २०७८ को जनगणनामा चर्पी देखी स्मार्ट फोन सम्मका प्रश्न एकचोटी हेरौन

२०७८ को जनगणनामा चर्पी देखी स्मार्ट फोन सम्मका प्रश्न एकचोटी हेरौन

२०७८ को जनगणनामा चर्पी देखी स्मार्ट फोन सम्मका प्रश्न एकचोटी हेरौन

‘तपाईंको परिवारले प्रयोग गर्ने चर्पी कस्तो छ ?’ यो प्रश्नको जवाफ दिन तपाईं तयार भएर बस्नुपर्नेछ किनकि जेठ २५ देखि गणकहरू यस्तै प्रश्न लिएर तपाईंको घर आइपुग्नेछन् । जवाफ भने उनीहरूले कोड नम्बरमा लेख्नेछन् ।

फ्लस भएको र सार्वजनिक ढलसँग जोडिएको भए १ लेखिनेछ । फ्लस भएको तर सेफ्टी ट्याङ्कीमा जमाइएको भए २, साधारण भए ३, सार्वजनिक भए ४ र नभएमा ५ नम्बर प्रयोग हुनेछ ।

चर्पी नबनाउने र छोरोछोरी विद्यालयमा पढ्न नपठाउने परिवारलाई सुविधाबाट वञ्चित गर्न सकिने भन्दै सरकारले सूचित गरेको धेरै समय भयो । ‘खुला दिसा मुक्त क्षेत्र’ घोषणा अभियान पनि पुरानो भइसकेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयको तथ्यांकअनुसार ५६ लाख ६० हजार घरधुरीमा शौचालय बनिसकेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का अनुसार २०७२ को भूकम्पपछि बनेका विद्यालयमा ५ हजार ३६ शौचालय छन् ।

यसपटक देशभर अनुमानित ७० लाख परिवार, ३ करोडभन्दा बढी जनसंख्याको गणना हुनेछ । यसमा मुख्य ८० वटा प्रश्न रहनेछन् । ‘जनगणना सुरु हुन अब ६ सातामात्र बाँकी छ,’ केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने, ‘यो राष्ट्रिय अभियानमा देशका सबै तह, तप्का, निकाय, समुदाय, परिवार, सबैखाले व्यक्तिको सहभागिता जुटाउँदै छौं ।’ जेठ २५ बाट सुरु हुने १२ औं राष्ट्रिय जनगणना असार ८ मा सकिनेछ ।

मुलुकमा बसोबास गरेका सबै व्यक्तिको घरदैलोमा गणकहरू एकै समयमा पुगेर निर्धारित समयभित्र परिवारका सबैको जनसांख्यिक, सामाजिक तथा आर्थिक विवरण संकलन हुनेछन् । संकलित तथ्यांकको प्रशोधन, सारिणीकरण (टेबुलेसन) र प्रकाशन गरेपछि जनगणना प्रक्रिया पूरा हुन्छ ।

राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्यांक विभागले त्यसको तयारी तीव्र बनाएको छ । जनगणनाको मुख्य प्रश्नावली घरमूलीलाई सोधिनेछ । जसमा पाँच वर्षमाथिकाको व्यक्तिगत विवरण नाम, थर, जात/जाति, लिंग, जन्मदर्ता, उमेर, पुर्खाको भाषा, मातृभाषा, दोस्रो भाषा, धर्म सोधिनेछ । नीतिअनुसार प्रत्येक नागरिकले कम्तीमा आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको हुनुपर्छ ।

सरकारबाट आधारभूत सुविधा उपभोगका निम्ति प्रत्येक व्यक्तिको शैक्षिक अवस्थाबारे प्रश्न सोधिनेछ । औपचारिक वा अनौपचारिक शिक्षा र स्वअध्ययनसमेत खुलाइनेछ । प्रत्येकलाई १२ महिनामा कुनै पनि आम्दानी हुने काम गरे/नगरेको, आम्दानीको स्रोत, पेसा, क्षेत्रबारे पनि प्रश्न सोधिनेछ ।

परिवारका कुनै सदस्य अपांगता भएका छन् भने त्यसलाई स्पष्ट उल्लेख गर्नुपर्नेछ । वैवाहिक स्थिति, १५ देखि ४९ वर्षसम्मका विवाह गरेका महिलालाई प्रजननसम्बन्धी प्रश्न सोधिनेछ ।

१८ वर्षभन्दा कम उमेरकालाई कोसँग बस्दै आएको भनेर पनि विवरणमा खुलाइनेछ । बसाइँसराइ, परिवारमा अक्सर बसोबास गर्ने सदस्य, परिवारमा अनुपस्थित स्वदेशमै रहेका र विदेश गएका संख्या तथा महिला/पुरुष उल्लेख हुनेछ ।

विदेशमा रहेका व्यक्तिको नाम, थर, लिंग, शिक्षा, अवधि, जानुको कारण, देश खुलाइनेछ । प्रविधि प्रयोगले जनगणना कार्य छिटो र छरितो तुल्याउँछ । त्यसका साथमा प्रत्येक प्रश्नको उत्तरलाई कोड (सांकेतिक अंक) प्रयोग गरिनेछ ।

घरको जगदेखि छानासम्मको संरचनाबारे पनि गणकले प्रश्न सोध्नेछन् । घरको खानेपानीको मुख्य स्रोत उल्लेख हुनेछ । खाना पकाउन प्रयोग गरिने इन्धन, बालिने बिजुली वा अन्य ऊर्जाबारे पनि टिपोट गरिनेछ ।

नेपालमा १९७० सालदेखि टेलिफोन सेवा सुरु भएको मानिन्छ । १९७४ जेठ १ गतेबाट सर्वसाधारणले टेलिफोन सेवा प्रयोग गर्न पाएको ‘नेपालमा दूरसञ्चार सेवाको इतिहास’ पुस्तकमा उल्लेख छ । उतिखेर ‘श्री चन्द्र टेलिफोन’ भनिन्थ्यो । त्यसैगरी २०५६ वैशाखदेखि जीएसएम मोबाइल फोन सुरु भयो ।

जनगणनाको प्रश्नावलीमा ल्यान्डलाइन टेलिफोन र मोबाइलसमेत समेटिएको छ । मोबाइल साधारण कि स्मार्ट भनेर खुलाइनेछ । घरमा रेडियो, टेलिभिजन, कम्प्युटर/ल्यापटप, इन्टरनेट, कार/जिप/भ्यान, मोटरसाइकल/स्कुटर, साइकल छन्/छैनन्, विद्युतीय पंखा, रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिसनर छ/छैन उल्लेख गर्नुपर्नेछ । यस्ता साधनले नागरिकको जीवनस्तर मापन गर्न सघाउ पुर्‍याउने विभागका महानिर्देशक श्रेष्ठले बताए । kantipur

आजको ट्रेन्डिङ समाचार