गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु,बेडपनि छैन, कास्कीमा निषेधाज्ञा हुने सम्भावना कति? • Nepal's Trusted Digital Newspaperगण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु,बेडपनि छैन, कास्कीमा निषेधाज्ञा हुने सम्भावना कति? • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु,बेडपनि छैन, कास्कीमा निषेधाज्ञा हुने सम्भावना कति?

गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु,बेडपनि छैन, कास्कीमा निषेधाज्ञा हुने सम्भावना कति?

  • सोमवार, बैशाख १३, २०७८
गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु,बेडपनि छैन, कास्कीमा निषेधाज्ञा हुने सम्भावना कति?

गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार कास्कीका २ र स्याङ्जा तथा म्याग्दीका १÷१ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा महानगरपालिका–२५ का ९१ वर्षीय पुरुषको सोमबार बिहान पौने ६ बजेतिर मृत्यु भएको छ । उनलाई वैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै पोखरा महानगरपालिका–१ की ५५ वर्षीय महिलाको सोमबार दिउँसो पोखराको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । ती महिलालाई कोभिड–१९ डबल म्युटेन्ट देखिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी स्याङ्जाको वालिङ नगरपालिका–१२ का ५८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । शनिबार कोरोना संक्रमण पुष्टि भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।

यस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आइतबार कोरोना संक्रमण पुष्टि भएका वृद्धको मणिपाल शिक्षण अस्पताल पोखरामा सोमबार बिहान सवा ३ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

थप ४ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।यता

गण्डकी प्रदेशका सबै जिल्ला अस्पतालमा पहिले कोरोनाको विरामी राखिन्थ्यो । मध्य फागुनमा गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लाबाट उपचार गराउन संक्रामक अस्पतालमै ल्याउने निर्णय गर्‍यो । वागलुङको धौलागिरि अस्पतालसहित सबै अस्पतालमा अन्य बिरामीको उपचार गर्ने र गम्भीर कोरोनाको बिरामीलाई प्रदेश संक्रामक अस्पतालमा ल्याउने सरकारको निर्णय थियो ।

संघीय सरकार मातहतको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्र पनि बन्द भइसकेको छ ।यही बेला संक्रमण ह्वात्तै बढेको छ र, संक्रामक तथा सरुवा रोग अस्पतालले बिरामीको चाप धान्ने अवस्था छैन ।

अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचन भन्छन्, ‘बेड खोज्दै दिनकै १५,१६ जनाको तारन्तार फोन आइरहन्छ तर राख्ने क्षमता नै छैन । यस्तै अवस्था हो भने अभाव थेग्न सकिन्न ।’

तीन दिन अगाडिसम्म २० देखि ३० जनासम्म बिरामी थिए, अहिले ४७ जना बिरामी पुगिसके । यति नै संख्यालाई फर्काउनु परिरहेको छ । ‘यस्तो परिस्थितिमा संक्रामक अस्पतालमा मात्र आइसोलेसन बेड राखेर हुँदैन । अरु अस्पतालले आलटाल गरिरहेको छ,’ मनिटरिङ रुमबाट कोरोना बिरामीको मनिटरिङ गरिरहेका डा अप्टिक्स सापकोटाले भने, ‘बिरामीले फोन गर्दै बेड सोध्छन् तर खाली नै छैन । हामीमाथि मात्रै भर पर्ने हो भने आफ्नै आँखा अगाडि भयावह अवस्था आउँछ ।’

प्रदेश संक्रामक अस्पताल ५० बेडको भनिए पनि ४७ बेडमात्र सञ्चालनमा छ । आईसीयू छ, तर चलाउने जनशक्ति नहुँदा बन्द छ । ९ बेडको आईसीयू चलाउन कम्तीमा ३७ जना जनशक्ति चाहिन्छ, तर अस्पतालभरिमा जम्मा ३८ जना जनशक्ति छ । त्यसैले आईसीयूमा पनि अन्य खालका बिरामी राखिएको छ । ‘जनशक्ति हुनुपर्ने कति हो भनेर कायम गर्न व्यवस्थापन समितिसमेत गठन हुन सकेको छैन ।

सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । कास्कीमा मात्र ६ सय ३८ जना सक्रिय संक्रमित पुगिसकेका छन् । संक्रमितको दर पनि तीव्र गतिमा बढिरहेकाले कास्कीमा निषेधाज्ञा जारी हुन सक्ने अनुमान धेरैको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका