गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुईजनाको मृत्यु भएको छ ।
घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।
उनीहरुलाई पौडी खेल्न नआउने र खोला गहिरो भएका कारण डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुई किशोरीसँगै अन्य दुईजना साथी पनि घाँस काट्नसँगै गएका थिए ।उनीहरुमध्ये १४ वर्षीया मुस्कान परियार पनि पौडी खेलेकी थिइन् तर डुब्न लागेपछि एकजना साथीले लठ्ठीको सहायताले उद्धार गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार उनीहरु सिर्जना महेन्द्रदेव माविमा ८ कक्षा र नमूना विनायक आधारभूत विद्यालयको ४ कक्षाका विद्यार्थी हुन् ।दुवैको शव बेँसीशहर नगरपालिका-८ स्थित जिल्ला अस्पताल लमजुङमा परीक्षणका लागि ल्याइएको छ । बिहीबार परीक्षण गरेपछि परिवारलाई बुझाइने प्रहरी निरीक्षक पुनको भनाइ छ ।