पोखरामा मंगलबारबाट राष्ट्रिय मेयर सम्मेलन सुरु भएको छ ।
स्थानीय निर्वाचनपछि स्थानीय सरकारका प्रमुखहरु एकै ठाउँमा जम्मा भएर सरकार सञ्चालनका बारेमा सिकेका सिकाइ अनुभव आपसमा साटासाट गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मेलनको उद्घाटन गर्नेछन् । सम्मेलनमा करिब २ सय मेयरहरु सहभागि हुने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।सम्मेलनमा स्थानीय सरकार सञ्चालन ऐनले पारेका सकारात्मक तथा नकारात्मक प्रभावहरुको छलफल गरी संविधान अनुरुपका हक अधिकारहरू स्थापित गर्न आवश्यक कानुनी संरचनाहरूको समेत पहिचान गर्ने उद्देश्यले रहेको प्रमुख जिसीले बताए ।
पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसरमा बुधबार मेयर साइकल दौड प्रतियोगिता आयोजना गर्नेछ । कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता गर्न लागेको प्रमुख जिसीले बताए । प्रतियोगितामा देशभरका स्थानीय तहका प्रमुखलाई सहभागिताका लागि पत्राचार गरिसकिएको छ ।बढ्दो औद्योगिकीकरण र सवारी साधनको अधिक वृद्धि भएको अवस्थामा महानगरले साइकल प्रयोगलाई प्रेरित गर्दै लैजाने नीति अघि सारेको उनले बताए ।
प्रतियोगितामा सहभागीले महानगरपालिकाको कार्यालयबाट सुरु गरी न्युरोड, सृजनाचोक हुँदै लेकसाइडको हल्लनचोकसम्मको ५ किलोमिटर दूरी पार गर्नुपर्ने प्रीतयोगिताका संयोजक दर्शन लामाले जानकारी दिए । प्रतियोगितामा विजेतालाई पुरस्कारको व्यवस्था भने गरिएको छैन । सबै स्थानीयबीच आत्मीयता बढाउन र साइकलको प्रवद्धन गर्न यस्तो प्रतियोगिताले टेवा पुग्ने संयोजक लामाको भनाइ छ ।