राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्च अदालतको फैसलाले राजनीतिक अन्यौलता सिर्जना गरेको जनाएको छ । यो अन्यौलताको स्थिति अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने जनमोर्चाको मत छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति जारी गर्दै ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिने र नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक (एमाले र माओवादी केन्द्र) मिलेर सरकार गठन गर्नु उपयुक्त हुने जनाएका छन् ।
‘नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक बीचमा कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हो । त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नु पर्छ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
संसदको विघटन, नेकपाभित्रको अन्तरविरोध वा कलहको मुख्य कारण ओलीको व्यक्तिवादी र अराजक कार्यशैली नै बढी जिम्मेवार रहेको भन्दै केसीले अहिले पनि ओली नै बढी जिम्मेवार रहेको उल्लेख गरेका छन् ।