बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण । | Samacharpati बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण । – Samacharpati
Samacharpati
शनिबार, मंसिर ११, २०७८
  • होमपेज
  • बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण ।

बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण ।

बिकट गाउँ सल्यानमा केन्द्रिय विद्युत बल्यो: विपन्न घरधुरीलाई निशुल्क मीटर वितरण ।

बागलुङ, फागुन । बागलुङको विकट गाउँ सल्यानमा केन्द्रिय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका वडा नं ४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानियबासीमा खुसीयाली छाएको छ । केन्द्रिय विद्युत प्रसारणको उदघाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निशुल्क विद्युत मीटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

विपन्न घरधुरीलाई केन्द्रिय विद्युत सेवा बाट बञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत उक्त कार्य गरिएको केन्द्र प्रमुख गोशलीले बताउनु भयो । सल्यानमा केन्द्रिय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको उहाँले उल्लेख गर्नुभयो । केन्द्रिय विद्युत सेवा सञ्चालनमा आएपछि लामो समयदेखि स्थानिय लघु जलविद्युतको भरमा रहेका सल्यानबासी जनताहरू केन्द्रिय विद्युतको पहुँचमा जोडिएका छन । केन्द्रिय विद्युतीकरणको विस्तार र सञ्चालन सँगै वडा भित्रका १ सय २५ घरधुरी प्रतक्ष्य लाभान्वित भएका छन । सल्यानको राँजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले ३ वर्ष पहिले देखि नै बरेङ गाउँपालिका वडा नं ५ सुखौरमा रहेको ट्रान्सफर्मर मार्फत केन्द्रिय विद्युत उपभोग गर्दै आइरहेका छन । यो सँगै सल्यानमा पूर्ण रूपमा केन्द्रिय विद्युतीकरण‌ भएको वडा सदस्य जन बहादुर खत्रीले जानकारी दिनुभयो ।

विपन्न परिवारले निशुल्क मीटर बक्स प्राप्त गरेपछि खुसी भएका छन । आर्थिक अभावका कारण आफूहरु विद्युत सेवा बाट बञ्चित हुनु परेको र अब भने जीवनमा विद्युतले उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । घरमा केन्द्रिय विद्युत बलेपछि उज्यालो हुनुका साथै मोवाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढन लेख्न सहज हुने स्थानिय सञ्जु विश्वकर्माले बताउनु भयो । सल्यानमा केन्द्रिय विद्युत नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रिय विद्युतको सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लील बहादुर खत्रीले बताउनु भयो ।

लामो समयदेखि केन्द्रिय विद्युत बाल्न आफूहरु प्रयासरत रहेकोमा र विद्युत बाल्न सफल भएको उहाँले उल्लेख गर्नुभयो । लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतीको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाई छ । सो अवसरमा वडा अध्यक्ष खत्रीले नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रलाई आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गर्नुभएको छ । त्यस्तै विद्युत प्राधिकरणले बरेङ गाउँपालिका वडा नं ५ सुखौराका ५ विपन्न घर परिवारलाई पनि निशुल्क विद्युत मीटर वितरण गरेको वडा अध्यक्ष अमर बहादुर शेरपुजाले जानकारी दिनुभयो । कार्यक्रममा सल्यान सुखौरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद शर्माले मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख, प्राविधिकहरु सँगै १५ वर्ष माइक्रो हाइड्रो लघु जलविद्युत आयोजनामा प्राविधिकको रूपमा सेवा प्रदान गरे बापत नगद सहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रम ग्रामीण विद्युतीकरण उपभोक्ता समिति सल्यानका अध्यक्ष सुवास क्षेत्रीको अध्यक्षता, ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका सचिव हरिकृष्ण गौतमको स्वागत मन्तव्य र शिक्षक राम प्रसाद चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।

आजको ट्रेन्डिङ समाचार