त्यो रेडियो, यो रेडियो | Samacharpati त्यो रेडियो, यो रेडियो – Samacharpati
Samacharpati
मङ्लबार, साउन १२, २०७८

त्यो रेडियो, यो रेडियो

त्यो रेडियो, यो रेडियो

सरकारी माध्यमलाई छाड्ने हो भने नेपालमा रेडियो सगरमाथाको स्थापनापछि एफएम प्रसारणको युग शुरु भयो । २०५४ सालमा काठमाडौंमा रेडियो सगरमाथा शुरु भएको करिब २ वर्षपछि मोफसलमा पनि एफएम प्रसारणको लहर शुरु भयो । कुनै समय रेडियो सुन्न छरछिमेकसमेत एकै ठाउँमा भेला हुने प्रचलनलाई एफएम प्रसारणले सुलभ र सहज बनायो । अर्थात्, सञ्चारमा आमनागरिकको सहज पहुँच बनायो । प्रसारणका दृष्टिले पनि रेडियो अद्भूत विषय रहेन र सूचना प्राप्त गर्ने कार्यमा समेत सामान्य नागरिकले पनि अरूको मुख ताक्नु परेन ।

एक समय रेडियोले स्रोतालाई रामै्र गुन लगायो । एउटा बेला थियो, रेडियोको कार्यक्रम र समाचारबारे विभिन्न जमघट र भेलामा चर्चा हुने गथ्र्याे । कुनै समाचारको सत्यताको कसी एफएमले प्रसारण गरेको हुनुपथ्र्यो । अर्थात्, एफएमले प्रसारण गरेको कारणले पनि समाचार सत्य हो भन्ने विश्वास गरिन्थ्यो । स्थानीय समाचारको व्यापक खोजी र प्रसारण, गाउँबस्तीका कुरा पनि समाचार बन्ने, नागरिकहरूका आफ्नै आवाजमा आफ्ना कथा व्यथा र अनुभूति प्रसारण हुने एउटा छुट्टै समय थियो । एफएम क्रेजको युग थियो, त्यो ।

प्रविधिको विकाससँगै विगतको एफएमको क्रेज मोबाइल र सामाजिक सञ्जालमा परिवर्तन भयो । आधारभूत सूचना आदानप्रदानको लागि सामान्यतया नागरिकहरू सामाजिक सञ्जालको भर पर्न थालेको पाइन्छ भने अनलाइनहरूले ब्रेकिङ न्युजमा एफएमहरूलाई पछाडि पार्न थालेको पाइन्छ । कुनै जमाना थियो, नागरिकहरूले घटना स्वतःस्फूर्त रूपमा रेडियोमा टिपाउँथे । तर, अहिले नागरिक संवाददाताको भूमिका घटेको छ । मोबाइल र सामाजिक सञ्जालमा पहुँच हुनेले सामाजिक सञ्जालमा आफंै प्रसारण गर्न थाले ।

यसको अर्थ हो, एफएमहरूको समाचार स्रोत घटेको छ भने उपभोक्ता पनि विगतमा जस्तो स्थिर र प्रतिक्षारत छैनन् । त्यसैले रेडियो कार्यक्रमको तयारी विगतमा जस्तो गरेर पुग्ने अवस्था रहेन । प्रविधि र समाजको अवस्थामा आएको परिवर्तनसँगै स्रोताका आवश्यकता, चाहना र रुचिमा पनि परिवर्तन आएको छ । रेडियोलाई आमनागरिकहरूको दैनिक जीवनका अपरिहार्य विषयवस्तु बनाउन के गर्नुपर्ने हो ? विगतमा जस्तै रेडियोलाई प्रभावकारी र अत्यावश्यक बनाउन रेडियो कार्यक्रमबारे फरक ढंगले सोच्न आवश्यक भएको छ ।

अहिले रेडियोका लक्षित समूह को हुन् ? उनीहरूको आवश्यकता के हो र त्यो विषय कसरी उनीहरूका बीचमा चाखिलो हुन्छ भन्नेबारे स्थानीय रूपमा निक्र्योल हुनु आवश्यक छ । रेडियोहरू कम हुँदा एउटा अवधि थियो, यसबारे रेडियो स्टेसनको आफ्नै पहलमा केही छलफल र चर्चा हुने गर्थे । नेपाल वातावरण पत्रकार समूहको सामुदायिक रेडियो सहयोग केन्द्र, सामुदायिक रेडियो प्रसारक संघलगायत अन्य संघसंस्थाहरूले पनि यस्ता विषयमा छलफल चलाउँथे । तर, विगत केही वर्षयता रेडियो स्टेसनहरूले पनि यस्ता कुरालाई प्राथमिकतामा राखेको पाइँदैन भने, मिडियाका संघसंस्थाहरूले बद्लिँदो अवस्थामा रेडियोकर्मीहरूलाई तालिम,प्रशिक्षणजस्ता कार्यक्रम घटाएको पाइन्छ, जसले गर्दा रेडियोहरूका धेरै कार्यक्रमहरू परम्परागत जस्ता पनि देखिन्छन् ।

८/१० वर्षअघि जे/जस्ता विषय समावेश हुन्थे, पात्र परिवर्तन भए पनि कार्यक्रमको रूपरेखा परिवर्तन नहुने कुराले रेडियो कार्यक्रमको प्रभावकारिता बढ्न सकेको छैन । बालक र किशोर किशोरीको जमातबाट रेडियो विस्थापित हुँदै जान थालेको छ । जसले गर्दा उनीहरू वयस्क हुँदा पनि रेडियोप्रतिको चाहना घट्दै जान्छ । यसतर्फ रेडियो सञ्चालकहरूको यथेष्ट ध्यान पुग्नु आवश्यक छ । विगतमा रेडियोहरूलाई समाचारले टोलटोल र घरघरमा पुराएको थियो । अहिले, धेरै रेडियोहरू अनलाइन पत्रिकाहरूमा भर परेको पाइन्छ ।

नेपालमा अनलाइन पत्रिका शुरुवातसँगै गैरजिम्वेवारीपन पनि बढेका कारण कुन समाचार सही हो र कुन समाचार गलत हो या कुन समाचार कसको स्वार्थमा लेखिँदैछ भन्ने कुरा परख गर्न समस्या छ । यस्तो अवस्थामा त्यस्ता समाचारमा भर पर्दा रेडियोहरूको शाख हराउन सक्छ भन्ने कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।

समाचार र कार्यक्रममा आफ्नै जिम्मेवार संयन्त्रको व्यवस्थापनले मात्र रेडियोको ख्याति बढाउँछ । सबैखाले कार्यक्रममा अरूको उत्पादन प्रसारण गर्ने भरिया तरिकाले रेडियोहरूलाई महत्‍वहीन बनाउने कुरामा रेडियो सञ्चालकहरूले हेक्का राख्नैपर्छ । जनशक्ति विकास, समाचार एवं कार्यक्रम उत्पादनमा हुने लगानी र रेडियोमा संलग्न जनशक्तिले पनि केवल कार्यघण्टा मात्र नभई अब्बल कार्यक्रम बनाउने सोच नबढाउने हो भने रेडियोले विगतको ख्याति बचाउन धौ–धौ हुनेछ ।

२०७४ मा अन्नपुर्ण टुडेमा प्रकाशित भरत भुसालको लेख ।

आजको ट्रेन्डिङ समाचार