दाहाल–नेपालको जुलुसले काठमाडौं अस्तव्यस्त | Samacharpati दाहाल–नेपालको जुलुसले काठमाडौं अस्तव्यस्त – Samacharpati
Samacharpati
आइतवार, कार्तिक ७, २०७८
  • होमपेज
  • दाहाल–नेपालको जुलुसले काठमाडौं अस्तव्यस्त

दाहाल–नेपालको जुलुसले काठमाडौं अस्तव्यस्त

दाहाल–नेपालको जुलुसले काठमाडौं अस्तव्यस्त

काठमाडौं । दाहाल–नेपाल समूहले बुधवार काठमाडौंमा गर्ने बृहत् शक्ति प्रदर्शनका कारण काठमाडौंको सवारी आवागमन अस्तव्यस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि लगातार सडक आन्दोलन गर्दै आएको यो समूहले बुधबार ५ ठाउँबाट जुलुस निकालेको छ ।

पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट निस्किएको जुलुसका कारण उपत्यकाको सवारी आवागमन भने असहज भएको हो । जुलुस निस्कन सुरु गरेपछि महानगरीय ट्राफिक महाशाखाले ठूला सवारीसाधनलाई चक्रपथ रोडमा डाइभर्ट गरेको छ । ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार साना सवारी साधनलाई पुतलीसडक रोडमा मात्रै प्रवेश दिइएको छ । प्रचण्ड, नेपाल समूहले आज रत्नपार्क–भद्रकाली सडक खण्डको मूल सडक नै थुनेर सभा गर्न लागेपछि टुँडीखेल वरपर सबै क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो ।

गत माघ २३ गते नेकपा ओली समुहले गरेको शक्ति प्रदर्शनको जवाफ दिने भनेपनि दाहाल–नेपाल समूहले त्यसअघि नैं आजको कार्यक्रम घोषणा गरिसकेको थियो । दलहरुले लगातार मुख्य शहरमा प्रदर्शन गर्न थालेपछि व्यावसायी तथा सर्वसाधारणले भने सास्ती खेप्न थालेका छन् । हालै प्रधानमन्त्री केपी ओलीले पनि दरबारमार्गमा सभा गर्नुभएको थियो । ट्राफिक प्रहरी महाशाखाले आज विभिन्न ठाउँबाट र्‍याली, जुलुस र आमसभा हुने भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ ।

पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भएकाले यो क्षेत्रको बाटो प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । ​

आजको ट्रेन्डिङ समाचार