कर्णबहादुर रोकाया, हुम्ला, १८ माघ । हुम्ला र हिमाल एक अर्काका पुरक र परिपुरक मानिएको छ । तर यो वर्ष भदौदेखि राम्रोसँग वर्षा र हिमपात नहुँदा यहाँका सेता हिमालहरू काला बन्न थालेका छन् । यसबाट कृषिदेखि पर्यटन व्यवसायमा असर पुग्ने देखिन्छ ।
अहिले हुम्लाका गाउँ गाउँबाट सेता सेता देखिने हिमालहरू कालो र खैरो बन्दै गएका छन् भने त्यसमाथि पनि दिनहुँ हुने आगलागीले गर्दा झनै नराम्रो अवस्था बन्दै गएको छ । हिउँलाई हुम्लाको आत्म नै मान्ने गरिएको छ । यसलाई प्राकृतिक सिंचाईको स्रोत, वनको पहरेदार तथा प्राकृतिक विविधताको मुल स्रोत मान्ने गरिएको सिमकोट गाउँपालिका वडा नं ८ का अगुवा जसबहादुर बुढाले बताउनुभयो । हुम्लाका साना ठूला हिमालहरूमा गुर्लामान्धाता, ह्यांसी, लाप्चा, नारा, न्यालु, पुल्की, कुकी, लांदुक, छोवाखोड, रानीसैन, दुधेकसण्ड, मारुघोर, पञ्चमुखी, चांला, ताखु, टाँके, द्यारे, भुब्रे, मुने, पंदाले, चंखेली, कगुवा, यांगार, पुया, कारंग आदि रहेका छन् । यी हिमालहरू हुम्लाको लागि मात्रै नभएर कर्णालीको पानीको स्रोत पनि हुन् ।
यहाँका यी हिमालहरूबाट प्राप्त हुने अथाह जडिबुटीहरूले हुम्लीहरूका लागि आर्थिक चलायमान गराएको छ । यो वर्ष मात्र विभिन्न प्रकारका जडिबुटीहरू संकलन गरेर करोडौं रकम कमाउन सफल भएको जानकारी डिभिजन वन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख निरज झाले दिनुभएको छ । मंसिर र पुस महिनामा झरेको अलिकति हिउँ बाहेक हुम्लामा हिउँ नपर्दा कृषि, वन, पर्यटन तथा स्थानीय गाउँसमाज रोगभोकको प्रकोप हुने अवस्था आउँदा स्थानीयबासीहरू चिन्तित बनेका छन् ।
यसका साथै यहाँका सेता हिमालहरू कालो र फुस्रो रङमा परिवर्तन भएका छन् । यसले गर्दा आउँदा महिनामा साँच्चै हिउँ परेन भने ठूलो मानवीय र प्राकृतिक समस्या आउने आशंका गर्न थालिएको छ ।