बैतडी, १० माघ । महाकाली लोकमार्ग अन्तर्गत सतबाँझ–गोकुलेश्वर सडकखण्डको बैतडीको दोगडाकेदार गाउँपालिका ६ चम्तडीमा सडकमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।
शुक्रबार राती सडकमा राखिएको डेक्ची बम दार्चुलाबाट आएको नेपाली सेनाको टोलीले शनिबार बिहान डिस्पोज गरेको हाे विप्लव नेतृत्वको नेकपाले शनिबार नेपाल बन्दको आह्वान गरेकाले विप्लवले नै बम राखेको हुन सक्ने आशंका गरिएको छ।
तर बम कसले राखेको भन्ने कुरा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताउनुभएकाे छ। सडकमा राखिएको बम डिस्पोज गरिएसँगै गएरातीदेखि अवरुद्ध भएको महाकाली लोकमार्ग सुचारु भइसकेको छ।
यसैबीच विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा प्रभाव परेको छ। बन्दका कारण सवारी साधन कम मात्रामा चलेका छन्। बन्द भए पनि सुरक्षा व्यवस्था भने कडा पारिएको प्रहरीले जनाएको छ।