महिना दिन नपुग्दै हलेसी मन्दिरमा साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन | Samacharpati महिना दिन नपुग्दै हलेसी मन्दिरमा साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • महिना दिन नपुग्दै हलेसी मन्दिरमा साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन

महिना दिन नपुग्दै हलेसी मन्दिरमा साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन

महिना दिन नपुग्दै हलेसी मन्दिरमा साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन

खोटाङ, २३ पुस । महिना दिन नपुग्दै पवित्र धार्मिकस्थल हलेसी मन्दिरमा रु साढे पाँच लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । कोरोना महामारीका कारण बन्द गरिएको मन्दिर आठ महिनापछि खुला गरिएको थियो ।

हिन्दू, बौद्ध र किराँत धर्माबलम्बीको पवित्र आस्थाका केन्द्र हलेसीमा गत मङ्सिर १६ गतेदेखि यही पुस ८ गतेसम्मका अवधिमा दर्शनार्थी तथा पर्यटकबाट रु पाँच लाख ६४ हजार २९० भेटी सङ्कलन भएको हो ।

गत चैत ८ गतेदेखि मन्दिर प्रवेशमा रोक लगाइएको थियो भने गत मङ्सीर १६ गते खुला गरिएको थियो । हलेसी खुला गरिएको महिना दिन नपुग्दै सो सङ्ख्यामा भेटी सङ्कलन भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीको शिवपार्वती थानबाट रु तीन लाख ३० हजार ५९५, बसाहा गुफामा राखिएको दानपेटीकाबाट रु २९ हजार ६३५ र गणेश मन्दिरमा राखिएको दान पेटीकाबाट रु १४ हजार ७० भेटी सङ्कलन भएको छ ।

गत चैत ६ गतेदेखि पुस ८ गतेकाबीचमा मन्दिरको प्राङ्गणमा राखिएको दान पेटिकामा रु एक लाख ८९ हजार ९९० भेटी सङ्कलन भएको सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । दर्शनार्थी तथा भक्तजनले भारु ६५० र अमेरिकन डलर एक रुपैयाँ चढाएका छन् । यस्तै, १०६ ५० ग्राम चाँदी र १ ३ ग्राम सुन सङ्कलन भएको सूचना केन्द्रले जनाएको छ ।

त्रिधार्मिकस्थलका नामले प्रसिद्ध हलेसीमा गत वर्ष रु ८७ लाख ६६ हजार २७४ भेटी बापतको रकम सहित सुन ११ ५७ ग्राम र चाँदी ९२ तोला ८९ लाल जम्मा भएको बताइएको छ ।

हलेसीमा अहिले दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजन आउने गरेको विकास समितिका अध्यक्ष टङ्क राईले जानकारी दिनुभयो । “हलेसीमा रामनवमीको अवरमा १५ दिन, बालाचतुर्दशीको अवसरमा १२ दिन, शिवरात्रीको अवसरमा मेला सात दिन र हरितालिका तीजको अवसरमा तीन दिन मेला लाग्दै आएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष कम्तीमा दश पटक मेला लगाउने तयारी गरिएको थियो । कोरोना महामारीका कारण समस्या भयो ।”

 

आजको ट्रेन्डिङ समाचार