ग्रीनहाउसको तरकारीबाट २५ लाख आम्दानी | Samacharpati ग्रीनहाउसको तरकारीबाट २५ लाख आम्दानी – Samacharpati
Samacharpati
मङ्लबार, भदौ २२, २०७८
  • होमपेज
  • ग्रीनहाउसको तरकारीबाट २५ लाख आम्दानी

ग्रीनहाउसको तरकारीबाट २५ लाख आम्दानी

ग्रीनहाउसको तरकारीबाट २५ लाख आम्दानी

कर्णबहादुर रोकायार, हुम्ला । सिमकोट र खार्पुनाथा गाउँपालिकामा निर्माण गरिएका ग्रीनहाउनसबाट मौसीम र बेमौसमी तरकारी उत्पादनबाट हुम्ली किसानहरुले लाखौ। रकम आम्दानी गर्न सफल भएका छन् । यसबाट उनीहरु कृषि कर्मलाई व्यवसायिक बनाउन थालेका छन् । सिमकोट र खार्पुृनाथ गाउँपालिकामा सहकारीमा आवद्ध भएका हुम्ली किसानहरुलाई वितरण गरिएका विभिन्न आकार प्रकारका ग्रीनहाउसबाट उत्पादन गरिएका तरकारीहरु सिमकोट बजार र गाउँका विभिन्न ससाना बजारउन्मुख ठाउँमा बिक्री गरेर मनग्य आम्दानी गर्न सफल भएको जानकारी असल छिमेकी नेपालका कृषि प्राविधिक जंग बहादुर शाहीले दिनुभएको छ ।

उहाँले भन्नु भयो हामीले ग्रीनहाउसको प्लाष्टिक, विभिन्न प्रकारका अत्यावश्यक औजार तथा बीउबीजन उपलब्ध गराएका छौं । यसका साथै प्राविधिक सल्लाह, सहयोग र नियमित अनुगमन गरेको किसानहरुले राम्रो आम्दानी लिन सफल भएका छन् । सिमकोटको पञ्चमुखी, ठेहे गाउँको मस्टादेव र छिप्राको दुधकुण्ड सहकारीमा आवद्ध भएका किसानहरुले मौसमी र बेमौसमी तरकारीबाट वार्षिक चार लाखसम्म आम्दानी गर्न सफल भएका छन् । त्यसैका एक उदाहरण किसान हुन् शेरबहादुर रावल । उनले गत वर्ष ग्रीनहाउसबाट मात्रै तीन लाख नगद आम्दानी गरेका छन् ।

हालसम्म असल छिमेकी नेपाल र स्नो ल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको साझेदारीमा सञ्चालनमा आएको यो कृषि परियोजनाले १२ फिट गुणा १८ फिटदेखि ४० फिट गुणा ६० फिटसम्म विभिन्न आकारप्रकारका एक सय १० थान ग्रीन हाउस किसानहरुलाई वितरण गरिसकेको कृषि प्राविधिक शाहीले बताउनु भयो ।

हाल यी तीन सहकारीहरुमा सात सयभन्दा धेरै सदस्यहरु आवद्ध रहेका छन् । कृषि र तरकारीबाट आम्दानी भएको रकम घर खर्च चलाएर पनि केही रकम सहकारीमा जम्मा भएकाले पनि सहकारीको बचत उल्लेख वृद्धि भएको छ । ग्रीनहाउसको निर्माणबाट मौसमी र बेमौसमी तरकारी उत्पादनबाट राम्रो आम्दानी भएकाले किसानहरु दिन प्रति दिन आकर्षित भएका छन् ।

आजको ट्रेन्डिङ समाचार