पर्वत जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने • Nepal's Trusted Digital Newspaperपर्वत जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पर्वत जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने

पर्वत जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने

  • आइतवार, पुस १२, २०७७
पर्वत जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने

पर्वत, १२ पुस । पर्वतको जलजला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरुआत गर्ने भएको छ । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत शिशुतहदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई यही पुस महिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्ने वातावरणको सिर्जना गर्न कार्यक्रम अघि सारिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो ।

कार्यक्रममा दैनिक रु १५ हजारभन्दा बढी लगानी गर्नुपर्ने अवस्था रहेको छ भने वार्षिक रु ५० लाख भन्दा बढी दिवा खाजामा खर्च हुने गाउँपालिकाले जनाएको छ ।

उहाँका अनुसार विद्यालय खुलेको दिनमा प्रति दिन रु १५ का दरले दिवा खाजा खुवाउने गरी गाउँपालिकाले आवश्यक तयारी गरेको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने र खाजा खुवाउदा आवश्यक मात्रा, स्वच्छता र पोषकतत्व सुनिश्चिततामा ध्यान पुर्याउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।

अभिभावक, आमा समूह वा क्लब र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीयस्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने जनाइएको छ ।

बजारमा किनिएका सामान र पत्रु खान पूर्ण रुपमा निषेध गरिएको छ । विद्यालयले मासिक रुपमा खुवाएको खाजाको भुक्तानी आवश्यक बिल भरपाईको आधारमा गाउँपालिकाले भुक्तानी गर्ने उहाँले बताउनुभयो ।

गाउँपालिकामा सामुदायिक विद्यालय ४४ वटा रहेका छन् । तीमध्ये १० वटा मावि, चार वटा आधारभूत विद्यालय र अन्य ३० वटा प्रावि तहका विद्यालय रहेका छन् । दिवा खाजा कार्यक्रमले विद्यार्थीलाई पूरै अवधि विद्यालयमा रहने वातावरण सिर्जना गर्नुका साथै अखाद्य वस्तु र पत्रु खानको प्रयोगमा कमी ल्याउने गाउँपालिकाका शिक्षा अधिकृत झलकनाथ आचार्यले जानकारी दिनुभयो ।

यस कार्यक्रमवाट झण्डै एक हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने भएका छन् । जिल्लामै पहिलो पटक जलजाल गाउँपालिकाले यस्तो कार्यक्रम शुरु गरेको हो । यसवाट निजी विद्यालयमा जस्तै विद्यार्थीको सिकाइस्तर र निरन्तरतामा वृद्धि हुने अपेक्षा गरिएको गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका