काठमाडौं, ७ पुष । नेकपा (क्रान्तिकारी–माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विगटन प्रतिगामी भएपनि त्यसको पुनस्थापनाको लागि नभई अब आफूहरुले जन–गणतन्त्रको स्थापनाको लागि लडाई लड्ने उद्घोष गर्नुभएकाे छ।
मंगलबार राजधानीको संवाद डबलीमा भएको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै मुलतः संसदिय व्यवस्था नै देशका निम्ति अभिसाप भएकोसमेत बताउनुभएकाे छ ।
२३ दलिय मोर्चाको नेतृत्वकर्तासमेत रहेका गजुरेलले नेपाली भूमिमा बारम्बार हुने आन्दोलनका उपलब्धिहरु खेर जानु र पुनः देश अस्थिरतामा जानुको मुल कारण नै संसदिय व्यवस्था रहेको बताउनुभएकाे छ ।
उहाँले एकथरीले प्रतिगमनको कदम चाल्ने र अर्को थरि त्यसको विकल्प संसद पुनस्थापनाको लागि तत्पर छन् दुबैथरिबाट जनता प्रताडित बाहेक केही नहुने बताउँदै भन्नुभयाे,“ओलीले प्रतिगमन गरे त्यसको विरुद्धमा शक्तिको बाघडोरमा जान प्रचण्ड तयार छन्, उनि नभए माधब नेपाल ती नभए देउबा जो भएपनि जनताले के पाउने त्यो भन्दा यो व्यवस्थाकै खारेजमा जानु उचित छ ।”
नेता गजुरेलले अहिले सत्तासिन दलमै ठूलो संकट र विभाजन आएको छ, यो अवस्थामा एकले अर्कोलाई कारबाहीको हिलो छ्यापा–छ्यापमा लागेको र दुबै पक्षमा शक्ति र वैधानकिताको चरम लडाई चलेको र यसबेला देश गम्भिर दुर्घटनामा जानसक्ने संकेत पनि गर्नुभयाे ।
ओलीले आफू सत्ता र शक्तिमा रहनका निम्ति संकटकालको समेत तयारी गरेको खुलासा गर्नुभएकाे छ । कसैलाई शक्तिमा पुर्याउन फेरी तपाईहरु अर्को आन्दोलन् या संघर्ष भन्दै हुनुहुन्छ जनताले किन लड्ने, भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयाे,“हो हामी पनि त्यही भनिरहेका छौं बारम्बार घुमिफिरी संसदिय व्यवस्थाको निम्ति होइन अन्तिम लडाई यो वर्तमान व्यवस्था र जनगणतन्त्रका लागि लडौं भन्ने हो ।”
गजुरेलले थप्नुभयाे ‘अहिले ओलि असफल भन्ने गरिन्छ तर उनि मात्रै होइन सिंगो लोकतानित्रक गणतन्त्र फेल भएको हो, संसदिय व्यवस्थाभित्र देशि–विदेशी शक्तिहरुले खेल्ने र जनविरोधी दलालहरु मोटाउने र पोसिने रक्षाकवज हुन्छ, त्यसको एकमात्र स्थायी निकास जन–गणतन्त्र हो ।’ गजुरेलले आफ्नो पार्टीसहितको २३ दलिय मोर्चाले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयाे ।