सुदूरपश्चिम, ४ पुस । जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुर लगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ ।
दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो । शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव पर्ने गरेको छ । चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् ।
पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला कैैलाली, कञ्चनपुरलगायतका जिल्ला कुहिरो र हुस्सुले ढाकिने गर्छन् । दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम नझुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ ।
लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरीलगायतका बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको छ ।
यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् ।
लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमको समस्या हुने गरेको छ ।
धनगढी उपमहानगरपालिका–१३ का किसान रामचन्द्र रानाले वर्षेनी हुने डढुवा रोगकै समस्याका कारण तोरी खेती गर्न छाड्नुभएको छ । अढाई दशक यतादेखि हिउँदे याममा विभिन्न बालीमा डढुवा रोगको समस्या देखिन थालेको उहाँ बताउनुहुन्छ ।
कैलालीको साविक गेटा गाविसका रामदिन चौधरी आफ्नै उमेरमा मौसममा आएको परिवर्तन देख्दा अनौठो लागिरहेको बताउनुहुन्छ । “पहिले गाउँमा यति बेला तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा एक खालको रमाइलो हुने गथ्र्यो, कात्तिक पहिलो हप्तामै खेतवारी जोतेर तोरी छर्ने गथ्र्यौ”, ६८ वर्षीय चौधरीले भन्नुभयो, “पछिल्ला वर्षमा देखिएको डढुवाको समस्याले यो बालीको खेती गर्न अब सकिँदैन ।”