आज उत्पत्तिका एकादशी व्रत तथा विश्व पर्वत दिवस | Samacharpati आज उत्पत्तिका एकादशी व्रत तथा विश्व पर्वत दिवस – Samacharpati
Samacharpati
बिहिबार, अशोज २८, २०७८
  • होमपेज
  • आज उत्पत्तिका एकादशी व्रत तथा विश्व पर्वत दिवस

आज उत्पत्तिका एकादशी व्रत तथा विश्व पर्वत दिवस

आज उत्पत्तिका एकादशी व्रत तथा विश्व पर्वत दिवस

काठमान्डाैँ,  २६ मङसिर । मंसिर महिनाको कृष्णपक्षमा आउने एकादशीलाई “उत्पतिका एकादशी” भनिन्छ । धार्मिक मान्यता अनुसार हिन्दू पञ्चाङ्गको एघारौं तिथिमा पर्ने हरेक एकादशीको उत्पत्ति आजकै तिथिमा भएको थियो।

आजको यस विशेष दिनमा एकादशीको उत्पति भएको हुनाले यसलाई “उत्पतिका एकादशी” नामाकरण गरिएको हो । सवै एकादशी मध्ये “उत्पतिका एकादशी” पहिलो भएको हुनाले एकादशीको ब्रत लिने व्यक्तिहरुले आजकै दिनबाट एकादशी ब्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ ।

एकादशी “कृष्ण पक्ष” र “शुक्ल पक्ष” गरि महिनामा २ चोटी पर्ने गर्दछन , जसमध्य पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र औंसी पछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ।

उत्पत्तिका एकादशी व्रतकथा
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान श्रीकृष्णसित पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्नुभयो -पुण्यमयि एकादशी तिथि कसरी उत्पन्न भयो ? “एकादशी’ तिथिलाई यो संसारमा किन पवित्र मानियो ? किन यो तिथि सबै देवताहरुको लागि प्यारो भयो ? धर्मराज युधिष्ठिरको सम्पूर्ण जिज्ञासाहरु मेट्दै भगवान कृष्णले बताउनुभयो- सत्ययुगमा मुर नामक ज्यादै भयङ्कर दानव थियो जसले देवराज इन्द्रलाई समेत इन्द्रासनबाट हटाइ स्वर्गमथि आफ्नो आधिपत्य जमायो। देवताहरूले दुःख भोग्नुपर्यो। अनि सबै देवता मुर दैत्यबाट छुटकारा पाउन महादेवको शरणमा पुगे। महादेवले देवताका समस्या थाहा पाउनुभयो र यस समस्याको समाधान गर्न भगवान विष्णुको शरणमा जानुपर्ने सल्लाह दिनुभयो। त्यसपछि देवगणलाई साथमा लिई महादेव स्वयं क्षीरसागर जानुभयो। त्यहाँ शेषनागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान विष्णुलाई साष्टांग गर्दै वहाँलाई प्रसन्न तुल्याउन महादेव लगायत इन्द्रादि सबै देवताहरूले स्तुति गरे।

देवताहरूको स्तुतिबाट प्रसन्न हुँदै भगवान बिउझनुभयो । सबै देवगणले भगवान विष्णुलाई दानव “मुर”को अत्याचार सुनाए, जुन सुनेर भगवान बिष्णु निक्कै क्रोधित हुनुभयो र भगवान श्रीविष्णुले त्यस अत्याचारी दैत्य उपर आक्रमण गरी देवताहरूको सङ्कट हरण गर्ने वाचा गर्नुभयो।

युद्धका क्रममा असंख्य असुरहरूको भगवान विष्णुले संहार गर्नुभयो तर मुर दैत्य मारिएको थिएन। त्यसपछि दानव मुर र भगवानका बीचमा लामो समयसम्म युद्ध भयो। लगभग एक हजार वर्षको युद्ध लडेपछि भगवान बिष्णु समेत थाक्नुभयो र दानव “मुर”को शक्ति क्षीण भएको देखेर युद्ध त्यागेर नारायण बदरिकाश्रम जानुभयो, त्यहाँ रहेको बाह्र योजन लामो सिंहावती गुफामा गएर फेरि सुत्नुभयो र निद्रालीन हुनुभयो। दानव मुरले भगवान विष्णु सुतेको थाहा पायो र वहाँलाई मार्ने उद्देश्यले गुफामा प्रवेश गर्यो।

दैत्य प्रवेश गर्नासाथ श्रीहरिको शरीरबाट दिव्य अस्त्र-शस्त्रले युक्त एउटी अति रूपवती कन्या उत्पन्न भईन् । ति देवीले निक्कै बहादुरीको साथमा दानव मुरको सामना गरिन र केहि बेरमै मुरलाई रथ र अस्त्र बिहिन बनाइदिईन। आफ्नो शक्तिको आहंकार भरिएको दानव मुर देवीलाई हमला गर्न अघि बढ्यो, तर देवीले त्यस दानवको छातीमा निक्कै कडासँग प्रहार गरिन र उसलाई लडाएर घाटी छिनाली दानव मुरको वध गरिदिईन।

नारायण जागा भएपछि दानव मूरको मृत शरीर देखेर विस्मित भई सोद्धा ती कन्याले भगवानलाई आतातायी त्यस दैत्यको वध आफूले गरेको कुरा बताइन् । कन्याको यस्तो अद्भूत पराक्रमबाट प्रसन्न भएर भगवान विष्णुले एकादशी नामक ती कन्यालाई मनोवांछित वरदान माग्न भन्नुभयो। जसको उत्तरमा “एकादशी” ले भगवान बिष्णुसँग त्यो पुण्य तिथिमा व्रत बस्ने सबै भक्तालुको आफुले पाप नाश गर्दिन सकु भनि वरदान मागिन, जसलाई भगवान विष्णुले तथास्तु भने स्वीकार गर्नुभयो। त्यति मात्र नभई भगवान बिष्णुले उसलाई आफ्नो प्रिय तिथि घोषित गरिदिनुभयो।

श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन। जो मनुष्यले जीवनपर्यन्त एकादशीको व्रत बस्दछ, त्यो मरणोपरांत वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्यफल प्राप्त हुन्छ। एकादशीमा व्रत बसेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउछ। व्रत बस्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्नसेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठूलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन।

एकादशीको व्रत समस्त प्राणिहरूका लागि अनिवार्य मानिएको छ।

नेपाली परिवेश अनि जीवनशैलीमा शदियौंदेखि पहाड पर्वतको सम्मान छ, शिरमा ठड्याएको ढाका टोपी को आकार देखि हाम्रो राष्ट्र झण्डासम्म पहाडको शिर जस्तै अबिछिन्न रहेको छ । यस वर्षको विश्व पर्वत दिवसमा पर्वतहरुको राजधानी देश नेपालबाट विश्वलाई शुभकामना ।

आज ११ डिसेम्बर, अग्ला अग्ला पर्वत र यसले प्राकृतिक जीवनमा राखेको आफ्नो महत्वपूर्ण योगदानको कदर गर्दै आजको दिन विश्वले पर्वत दिवस् मनाउँदै आएको छ ।

पर्वत अर्थात् अग्ला अग्ला माटो तथा चट्टानले बनेको भीमकाय भूगोल । जहाँबाट कलकल गर्दै उर्लने नदिका विभिन्न श्रोतहरूबाट नै हामी पिउन योग्य पानी प्राप्त गर्ने गर्दछौं । अमूल्य जीवनरक्षक जडिबूटी होस् या लाखौं ति सुन्दर तथा दूर्लभ प्राणीजीवन होस्; पर्वत जल, जीवन र वनस्पतिको स्वर्ग हो, ठूलो भण्डार हो । पृथ्वीको कूल भू-भागको ४% भाग पर्वतै-पर्वतयूक्त छ र यस ४% भू-भागभित्र पृथ्वीको कूल जनसंख्याको झण्डै १२% मानव जीवन बस्ने गरेका छन् । विश्वको कूल जनसंख्याको ७०% जीवनले विभिन्न तरिकाबाट यीनै पर्वतका अनेक गर्भ भएर निस्कने पिउने पानी उपभोग गर्ने गर्दछन् ।

हामी नेपाली भन्ने वित्तिकै सगरमाथाको देशको नागरीक भन्ने चिनारी छ, देशको कूल भू-भागको ४३% भू-भाग पहाडै-पहाडले भरीएका छन् जसको कूल १५% भूभाग हिमाली क्षेत्रले ओगटेको छ । यस अर्थमा हामी विश्व पर्वत दिवसको एउटा मूल केन्द्रविन्दू र हामीमाथी विश्वमा बद्लिंदो मौसमको रङ्ग, तापक्रम तथा समूल प्राणि जगतको जीवनचक्रको एउटा ठूलो जिम्मेवारी छ ।

आज पृथ्वीले बद्लिंदो वैश्विक तापक्रमको मार झेल्दैछ, विगतमा सेताम्य देखिने हिम श्रृंखला निरन्तर काला पत्थर बन्दै गइरहेका छन्, हिँउ झर्नुपर्ने ठाउँहरूमा निरन्तर वर्षा भइरहेका छन् र त्यस्ता स्थानहरूमा विभिन्न बनस्पतिहरू देखिन थालिएका छन् ।

पर्वतीय क्षेत्रमा हुने अव्यवस्थित बसोवास तथा पानीका श्रोतहरूमा भइरहेका अनेक विकास निर्माणका कार्यहरूले अनावश्यक रूपमा प्राकृतिक सन्तुलनमा नराम्ररी असर पारीरहेको छ । रूख काटिएका छन्, डाँडाकाँडा सम्म पारिएका छन्, विशाल ढुङ्गा फोरीएका छन्, नदीनाल गीट्टी बालूवा विहिन बन्दै गइरहेका छन् पर्वतीय खजानामाथि भएका निरन्तरको यो अप्राकृतिक दोहनले त्यहाँ आश्रित अनेक जीव जन्तु तथा चराचरहरूको दैनिकीलाई नराम्ररी असर गरेको त छ नै कतिपय दूर्लभ जीवजन्तु तथा जडीबूटीहरू त लोप पनि भइसके भने धेरैको अवस्था नाजूक छ ।

वि.सं. २०७२, बैशाख १२ मा गएको महाविनासकारी भूकम्पका कारण धेरै पर्वतीय संरचनाहरू चिरा परेका छन्, भास्सिएका छन्, जमिनसंग राम्ररी पकड बनाएको ढुङ्गा, माटो तथा रूखहरू निरन्तर आइरहने ठूला साना पहिरोले त्यस्ता क्षेत्रहरूमा आश्रित जीवनहरूमा जोखिम बढाएको छ । सुरक्षित बासस्थान तथा वस्ति स्थानान्तरण अहिलेको प्रमुख चुनौति र आवश्यक्ता बनेको छ ।

वैश्विक रूपमैं पर्वतीय क्षेत्रमा अनेक कारणहरूले पर्यावणीय प्रदूषण बढ्दै गइरहेको छ साथै जल तथा भू-क्षयका खतरा निरन्तर भयावह बन्दै छ । यस्तो अवस्थामा वैज्ञानिक तथा व्यवस्थित विकास तथा वैज्ञानिक पर्यटनको व्यवस्थानबाट ठूलो मानवीय तथा प्राकृतिक दूर्घट्नाबाट बँच्न सकिन्छ । यसर्थ पर्वतीय पर्यावरणका सवालमा सबै एकजूट भएर अघि बढ्न तथा यस बारे काम गर्न जरूरी छ । विशेषतः हिमालजस्ता परिवर्तनशील पर्वत श्रृंखलाहरूमा पर्यावरण सम्बर्धन कार्यले निरन्तरता पाउनुपर्छ । हिमाल एउटा अपेक्षाकृत नयाँ स्वरूपमा कुनै पनि बखत विकास हुन सक्ने पहाड हो र यो पर्वत श्रृंखलामा भूमीगत पर्वतनका अनेक कारणहरूले विश्वको संरचनामा परिवर्तन ल्याउन सक्छ ।

विश्वभरि लगभग १ अर्ब जनसंख्या यिनै पर्वतको माटोमा खनिखोस्री गरेर हिमशयलमा बसेका छन् । यिनीहरु पर्वतहरुमा खाना, इन्धन र रोजगारकालागि भर पर्दछन्, विस्तारै यी भीमकाय पर्वतहरु जलवायू परिवर्तनको चपेटा, भूक्षय, प्राकृतीक सम्पदाको अविवेकी प्रयोग जस्ता कैयन कारणले जोखिममा छन् ।

आजको दिनमा विश्वका सबैजना मानवहरु आफ्नो बानीमा सुधार गर्दै पर्वत संरक्षण अनि सम्र्बधनका लागि एकहुन पर्ने देखिन्छ ।

source:hamropatro

आजको ट्रेन्डिङ समाचार

लोकप्रिय यो साता