पोखरामा आन्तरिक पर्यटकको चहलपहल, प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट | Samacharpati पोखरामा आन्तरिक पर्यटकको चहलपहल, प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट – Samacharpati
Samacharpati
शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • पोखरामा आन्तरिक पर्यटकको चहलपहल, प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट

पोखरामा आन्तरिक पर्यटकको चहलपहल, प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट

पोखरामा आन्तरिक पर्यटकको चहलपहल, प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट

पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। दसैंको भोलिपल्टबाट नसोचेको आन्तरिक पर्यटक पोखरा भित्रिए । ती पर्यटकको पहिलो रोजाइ नै लेकसाइड बन्यो । त्यति नै बेला प्याराग्लाइडिङ कम्पनीले पहिलेभन्दा आधा मूल्यमै यात्रु उडाउन थालेपछि आन्तरिक पर्यटकको चाप झन् बढ्यो । लकडाउनको सुरुवातताका बन्द भएका होटल रेस्टुरेन्ट खुल्न थाले ।दसैंपछि आन्तरिक पर्यटकको आगमन सन्तोषजनक रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउनुहुन्छ । उहाँका अनुसार पोखरा बाहिरबाट आफ्नै सवारी साधन र हवाईजहाज चढेर घुम्न आउने धेरै छन् । त्यसमा प्रायः २० देखि ४० वर्ष उमेर समूहका छन् ।स्वास्थ्य मापदण्ड पूरा गर्दै लेकसाइडका ६० प्रतिशत होटल आधा क्षमतामा चलेको उहाँले जानकारी दिनुभयो ।आन्तरिक पर्यटकको आगमनले तत्काल सञ्चालन खर्चसम्म धानिएको रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल रेबान पोखराका अध्यक्ष लक्ष्मण बराल बताउनुहुन्छ । उहाँका अनुसार ६० प्रतिशत जति नै रेस्टुरेन्ट खुलेका छन् । यद्यपि रेस्टुरेन्टमा खानाका परिकार र मूल्य कम गराइएको छ ।प्याराग्लाइडिङसँगै बन्जी जम्प, जिप फ्लायर, अल्ट्रालाइट, घलेलको क्यानोनिङलगायत साहसिक गतिविधिमा भारी छुट भएकाले आन्तरिक पर्यटक आकर्षित छन् । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय यही साताबाट खुलेको छ । पोखराका तालबाराही, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, गुप्तेश्वर गुफा, डेभिड फललगायत गन्तव्य भने अझैं खुलेका छैनन् ।पोखरामा आन्तरिक पर्यटक आए पनि पर्यटकीय स्थल नखुल्नु चिन्ताको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेल बताउनुहुन्छ ।
कोभिड भ्याक्सिन उपलब्ध हुने आशाले व्यवसायीलाई हर्षित बनाएको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुनेबित्तिकै खरिद गर्न नेपाल सरकार चुस्त रूपमा तयार हुनुपर्ने उनको सुझाव छ । (कान्तिपुर)

प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार गरेपछि ओली नैतिक संकटमा परेका छन् । त्यस्तै, लिखित रूपमा ओलीद्वारा प्रस्तुत प्रस्ताव पनि बहुमतबाट अस्वीकार हुने अवस्था आएपछि उनले आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन् । पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने यो अवस्था इतिहासमा बिरलै भेटिन्छ ।सत्तारुढ नेकपा सचिवालयको मंगलबारको बैठकको सुरुवातमै ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नगर्न अडान लिएका थिए । उनले यही प्रस्ताव गत शनिबारको बैठकमा पनि लिखित र व्यवस्थित रूपमा राखेका थिए । ३८ पृष्ठ लामो प्रतिवेदनमा ओलीले प्रचण्डको प्रतिवेदनलाई ‘पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ’ भन्ने प्रस्ताव गरेका थिए । तर, मंगलबारको बैठकले भने उनको माग अस्वीकार गर्दै ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि छलफल अघि बढाएको छ । त्यस्तै, अध्यक्ष ओलीले सबै बैठक रोक्न माग गरे पनि सचिवालयले पूर्वनिर्धारित सूचीअनुसार १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक अघि बढाउने भएको छ । नेकपा सचिवालयका एक सदस्यका अनुसार मंगलबारको बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई निराधार आरोप लगाउने तथा त्यसलाई पार्टीको दस्ताबेज भनेर प्रचार गर्ने अध्यक्ष प्रचण्डमाथि अनुशासनको कारबाही किन नगर्ने भनेर ओलीले सोधेका थिए । उनले प्रचण्डको प्रस्तावमाथि छलफल हुनै नसक्ने अडान राखेका थिए । निराधार आरोप र लाञ्छनाले भरिएको पत्रमाथि छलफल हुन सक्दैन, त्यो पत्रमा ममाथि गम्भीर आरोप छन्, त्यसलाई मैले खारेज गरेको छु । यस्तो प्रस्ताव पार्टी कमिटीमा छलफल हुन सक्दैन, यसलाई एजेन्डा बनाउन सकिँदैन,’ सचिवालयका एक नेताका अनुसार ओलीको भनाइ थियो । (नयाँ पत्रिका )

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा महिना दिनभित्रै सार्वजनिक गर्न तयारी गरेको छ । कोरोनाका कारण रोकिएर ढिला गरी लिइएको परीक्षा मंगलबार सकिएको छ ।उत्तरपुस्तिका परीक्षण, सम्परीक्षण र नतिजा तयारीका लागि एक महिनाको समय लाग्ने अनुमान गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । उत्तरपुस्तिका परीक्षणको काम सुरु भइसकेको छ । शिक्षकहरूले उत्तरपुस्तिका परीक्षण गरेर मंसिर २२ सम्म बोर्डको सम्बन्धित कार्यालयमा पठाइसक्नुपर्नेछ ।

कोभिड–१९ को महामारीकैबीच चालु आर्थिक वर्षमा २० हजारभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् । चालु आर्थिक वर्षको कात्तिकसम्मका २० हजार ५ सय ६८ जना श्रमिकले विदेश जानको लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागले पुनः श्रम स्वीकृतिलाई खुला गरेपछि विदेश जानेको संख्यामा वृद्धि आएको हो ।विभागका अनुसार साउन महिनामा ३ हजार १ सय ५२ जना व्यक्तिले विदेश जानको लागि श्रम स्वीकृति लिएका थिए । भदौ महिनामा यो संख्या घटेर १ हजार ५ सय १५ जनामा सीमित भएको थियो ।तर, असोज महिनामा श्रम स्वीकृति लिनेको संख्या ५ गुणा भन्दा बढीले वृद्धि भई ८ हजार ९७ जना पुगेको थियो । कात्तिक महिनामा भने असोजको तुलनामा श्रम स्वीकृति लिनेको संख्यामा कमी आएको छ ।कात्तिक महिनामा कुल ७ हजार ७ सय ९७ जनाले यस्तो श्रम स्वीकृति लिएका थिए । दसैँ, तिहार जस्ता चाडवाडका कारण वैदेशिक रोजगार कार्यालयहरु धेरै समय बन्द हुँदा यसरी श्रम स्वीकृति लिनेको संख्या तुलनात्मक रुपमा कम भएको हो ।(रातोपाटी)

आजको ट्रेन्डिङ समाचार