पोखरा, ८ मङसिर । पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । प्याराग्लाइडिङ दुर्घटनामा परी पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते हुनुभएकाे छ।
मृत्यु हुनेमा फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट राजु गैरे रहनुभएकाे छ । पोखरा–२८ कालिका घर भएका २८ वर्षीय पाइलट गैरेले पोखराकै सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको हो ।
त्यस्तै दुर्घटनामा परी घाइते हुनेमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ रहनुभएकाे छ । घाइते शिलाको अवस्था गम्भीर रहेको बताइएको छ ।
उहाँको अहिले पाेखरा मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।