काठमाडौं, ८ मङसिर । पछिल्ला दिनमा नेकपाको भविष्य नै संकटमा परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने बालुवाटारबाट फाट्ट फुट्ट रुपमा बाहिर निस्किन थाल्नुभएकाे छ ।
सचिवालयका बैठक समेत सरकारी निवास बालुवाटारमा नै गर्दै आएका र खासै बाहिर ननिस्किनुभएका प्रम ओली आज भने ताप्लेजुङ र इलाम भ्रमणमा जादैहुनुहुन्छ । उहाँ आज बिहानै हेलिकप्टरबाट त्यसतर्फ जाने तयारी गरेको उहाँका सचिवालयले जनाएको छ ।
सचिवालय स्रोतका अनुसार प्रम ओली इलाममा सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्न र विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न त्यसतर्फ जाँदैहुनुहुन्छ ।
प्रम ओलीको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि रहने बताइएको छ । प्रम ओली र संस्कृति मन्त्री भट्टराई आज नै काठमाडौँ फर्किनेगरी तयारी गरिएको स्रोतले जनाएको छ ।
पछिल्ला दिनमा अध्यक्ष पुष्पकमल दाहाल, माकुने र बामदेव गौतमसँग सम्बन्ध चिसिएका बेला प्रम ओलीले आफुलाई भविष्ययमा आइपर्ने संकट टार्नका लागि प्रतिपक्षी दल कांग्रेसको साथ खोजेको समेत खबरहरू बाहिरिएका थिए ।
स्थिर राजनीति, मुलुकको विकास र समृद्धिको नाराबाट सुखदायी बहुमत ल्याएको नेकपाको घरझगडाले प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दलको साथ सरकारमा सहभागी भएर चाहिएको छ ।
कांग्रेसलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री ओलीले प्रस्ताव गरेसँगै ओलीको आफ्नो घर भित्र के के पाकिरहेको छ भन्ने कुरा स्पष्ट रुपमा जनताले बुझिसकेका छन् ।