आज का​र्तिक शुक्ल पक्षकाे नवमी तिथि, कुष्माण्ड नवमी व्रत • Nepal's Trusted Digital Newspaperआज का​र्तिक शुक्ल पक्षकाे नवमी तिथि, कुष्माण्ड नवमी व्रत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज का​र्तिक शुक्ल पक्षकाे नवमी तिथि, कुष्माण्ड नवमी व्रत

आज का​र्तिक शुक्ल पक्षकाे नवमी तिथि, कुष्माण्ड नवमी व्रत

  • सोमवार, मंसिर ८, २०७७
आज का​र्तिक शुक्ल पक्षकाे नवमी तिथि, कुष्माण्ड नवमी व्रत

काठमान्डाैँ, ८ मङसिर । आज का​र्तिक शुक्ल पक्षको नवमी तिथि, आजको यो विशेष दिन कुष्माण्ड नवमीलाई अक्षय नवमी, अमला नवमी र धात्री नवमीको नामले चिनिन्छ । आजको दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ ।

भगवान विष्णु कार्तिक शुक्ल नवमीबाट कार्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ ।

आजको दिन अमलाको अतिरिक्त भगवान विष्णुजीको पनि विधि विधानले पूजा अर्चना गर्ने गरिन्छ । कुष्माण्ड नवमीको दिन स्नान, पूजा, तर्पण तथा अन्न आदिको दान गर्नाले अक्षय फल मिल्ने शास्त्रोक्त कथन रहेको छ ।

हेटौँडामा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा कुष्माण्ड नवमीको भव्य मेला लाग्ने गर्दछ । यहाँको मेलामा १०८ धारामा स्नान, कुभिन्डो दान, हवन, भजन कीर्तन लगायतका कार्यक्रमहरू हुने गर्दछ ।

त्यहाँ कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, एकसय आठ गौमुखी धारा, कुष्माण्ड भगवतीबीच सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैंचा आदि रहेको छ ।

काठमाडौंको नारनथान, भक्तपुरको चाँगुनारायण लगायत सबै विष्णु / नारायण मन्दिरमा समेत भक्तहरू तथा दर्शनार्थीहरूको बाक्लो उपस्थिति रहने गर्दछ ।

आज कै दिन विष्णु भगवानले कुष्माण्डक नामक दैत्यलाई वध गरेको र त्यसको रौंबाट कुष्माण्ड अर्थात् कुविण्डोको लहरा निस्केको र त्यसै कारणले आजको दिन कुष्माण्ड अर्थात् कुविण्डो दान गर्नाले उत्तम फल मिल्ने विश्वास गरिन्छ । आजकै दिनलाई युग परिवर्तन भएको दिनपनि मानिन्छ ।

आजकै दिन बिशेष गरेर व्रत तथा उपासना बसि ब्राह्मणलाई दक्षिणासहित कुविण्डो दान गर्ने प्रचलन रहेको छ । आजको दिन कुविण्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरेको पुण्य प्राप्त हुने धार्मिक विश्वास समेत रहेको छ ।

आजकै दिन अमलाको फेदमा बसेर बनभोज या प्रसाद बनाएर खाने प्रथापनि चली आएको छ । आजकाल खासगरी किशोर र युवा वनभोजको रमाइलो लिन वनक्षेत्रका विभिन्न पार्क र वनभोजस्थल पुग्ने गर्छन् । आजको दिनमा अमला सेवन गर्नु अमृतसमान हुने विश्वास गरिन्छ ।

अमलाको पूजा गर्दा पूर्वाभिमुख भएर जल, चन्दन, अक्षता, फूल, आदिले पूजा-अर्चना गरेर पहेलो धागोले अमलाको रूखको परिक्रमा गरिन्छ । १०८ पटक अमलाको परिक्रमा गर्नाले सबै मनोकामना पूर्ण हुने जनविश्वास समेत रहेको छ ।

अमला तथा विष्णु भगवानको पूजा-अर्चना गरिसकेपछि खीर, पुरी, तरकारी र मिठाई आदिको भोग लगाईन्छ । कसै कसैले अमलाको पूजन पश्चात अमलाको छाहरिमा ब्राह्मण भोजपनि गराउने गर्दछन् । अमलाको रूखमुनि बसेर ‘ॐ धात्र्ये नम:’ यो मन्त्रले अमलाको जरामा दूधको धारा दिएर पितृहरूलाई तर्पण समेत दिन सकिन्छ ।

अत: वैज्ञानिक तथा आयुर्वेदिक दृष्टीलेपनि निकै महत्त्व बोकेको अमला तथा कुविण्डोको संबर्धन र प्रयोग गरेर सबैजना लाभान्वित हुन सकौं, समय र परिस्थितिलाई मध्यानजर गर्दै चाडपर्व मनाऔं ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका