कर्णबहादुर रोकाया, हुम्ला, ६ मङसिर । हुम्लामा गत आ व २०७६÷०७७ का लागि करीब १६ करोड रकम हवाई मार्गबाट चामल ढुवानीका लागि अनुदान बजेट खर्च भएको छ । गत वर्ष हुम्लामा नेपालगंजबाट ६ हजार ९ सय क्वीन्टल चामल ढुवानी गरिएको छ ।
नेपालगंजबाट प्रति क्वीन्टल ११ हजार ४ सय ८० रुपैयाँ नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनीलाई उपलब्ध गराएको छ । यो प्रति केजी ११४ रुपैयाँ ८० पैैशा पर्न गएको छ ।
यसै गरी सुर्खेतबाट ६ हजार ८ सय क्वीन्टल चामल ढुवानी गरिएको छ । यसका लागि प्रति क्वीन्टल ११ हजार २ सय ८० रुपैयाँ खर्च गरेको छ । यो प्रति केजी ११२ रुपैयाँ ८० पैंशा खर्च गरिएको जानकारी नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय हुम्ला स्रोतले जानकारी दिएको छ ।
गत वर्ष हवाई मार्गको दुई स्थान नेपालगंज सिमकोट र सुर्खेत सिमकोटबाट १३ हजार ७ सय १० क्वीन्टल चामल आयात गरिएको छ ।
जबकी नेपाल सरकारले खाद्य व्यवस्था तथा ब्यापार कम्पनीका दुर्गमका शाखाहरूलाई हवाई तथा स्थलमार्गको ढुवानीका लागि अनुदान दिने भएकाले पनि साविकको कर्णालीका पाँच जिल्लामा यो सहुलियत चामल प्रति राजनीतिक दल, प्रशासन, प्रहरी र अन्य राष्ट्सेवक कर्मचारी अन्य सुरक्षाकर्मी, पत्रकार तथा नागरिक समाजको आकर्षण बढ्दो भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाका अध्यक्ष अर्जुन वोहराको अनुभव रहेको छ ।
उहाँले भन्नुभयाे हुम्लीहरू जैविक अन्यलाई घरमा कुवाएर विना तागतको कुहेको चामल लिनु र दिनु आफ्नो प्रतिष्ठासँग जोड्ने गरेका छन् ।
नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी शाखा कार्यालय हुम्ला सम्बद्ध कर्मचारीहरू आफ्नो नाम उल्लेख नगर्ने शर्तमा हुम्लामा आउने चामलको खरिद मुल्यभन्दा धेरै महंगो ढुवानी भाडा खर्च गरेर चामलको बेसाहा दिनु उचित नभएको बताउँछन् । यसले स्थानीयबासीहरूलाई परनिर्भर बनाएको छ ।
यसरी हुम्लामा राजनीतिक गर्नेहरूले हुम्लामा कुहेको चामल ल्याउनु हुँदैन भन्यो भने उसले भोट पाउनेवाला छैन । जसले गाउँ गाउँमा गएर धेरै चामल ल्याउँछु भनेर कोलाहल मच्चाउँछ उसले भोट बढी ल्याएको प्रमाणहरू रहेको स्थानीयहरूले बताउँछन् ।
आ व २०७७÷०७८का लागि ७३ हजार क्वीन्टल चामलको माग भए पनि २६ हजार क्वीन्टल चामल आउने कुरा निश्चित भएको जानकारी नेपाल खाद्य व्यवस्था तथा ब्यापार कम्पनी, शाखा कार्यालय हुम्लाका प्रमुख रामबहादुर बिष्टले जानकारी दिनुभएकाे छ ।
हुम्लामा आउने धेरै चामल सदरमुकाम वरिपरि घुम्ने भएकाले पनि वर्षको एक बाली मात्र पाक्ने हुम्ला नाम्खा गाउँपालिकाका उत्तरी क्षेत्र लिमी, यारी, मुचु, तुमकोट, याल्वांग र यांगार जस्ता गाउँमा पुगाउन सकिएको खण्डमा सरकारले वर्षेनी करोडौं ढुवानी अनुदान रकमको सदुपयोग हुनेमा कोही कसैको दुई मत नहोला ।