बुधबारदेखि छठपर्व शुरु, मिथिलावासी छठपर्व को तयारीमा • Nepal's Trusted Digital Newspaperबुधबारदेखि छठपर्व शुरु, मिथिलावासी छठपर्व को तयारीमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बुधबारदेखि छठपर्व शुरु, मिथिलावासी छठपर्व को तयारीमा

बुधबारदेखि छठपर्व शुरु, मिथिलावासी छठपर्व को तयारीमा

  • मङ्लबार, मंसिर २, २०७७
बुधबारदेखि छठपर्व शुरु, मिथिलावासी छठपर्व को तयारीमा

जनकपुरधाम, २ कार्तिक । धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटेका छन् ।

विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या सिर्जना हुने देखिएको छ तर पनि छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल शुरु भइसकेको देखिन्छ ।

यतिखेर ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरीको डिल र नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।

कोरोना सङ्क्रमण जोखिमका कारण कतिपय आफ्नै घरको परिसरमा चारकुने खाल्डो खनी त्यसमा पानी भरेर छठ पर्व मनाउने तयारीमा जुटेका छन् ।

यसका साथै छठ मनाउनका लागि आवश्यक पर्ने सरसमानको किनमेलका साथै नयाँ माटाका भाँडाकुडा र बाँसको टोकरी तथा कोनियाको खरिदारीमा जुटेका देखिन्छ ।

भगवान सूर्यको पूजाअराधना गर्ने यो पर्व विधिवत् रुपमा कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलिदेखि शुरु हुने भएको छ । अत्यन्त निष्ठा एवं पवित्रताका साथ यो पर्व मनाउनुपर्ने भएकाले भगवान सूर्यको पूजा गर्ने वर्तालुले कात्तिक शुक्ल चतुर्थी तिथि अर्थात भोलि बुधबार शरीरलाई पवित्र बनाउने उद्देश्यले विधिवत् रुपमा स्नान गरी अरुवा अरुवाइन खाने गर्छन् ।

पञ्चमी तिथिमा दिनभर उपवासमा बसेर साँझको समयमा नयाँ माटोको चुल्होमा खीर पकाउँछन् । त्यसपछि घरको देवीदेवताको पूजामा चढाइएको खीर प्रसादका रुपमा वर्तालुले ग्रहण गरी परिवारका अन्य सदस्यलाई वितरण गर्ने गरिन्छ ।

यस विधिलाई खरना भनिन्छ । भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्ने वर्तालुले पञ्चमी तिथिभर उपवास बसी साँझ मात्र सो प्रसाद ग्रहण गरेर पुनः उपवासलाई निरन्तरता दिन्छन् । त्यसपछि सप्तमी तिथिको बिहानसम्म अर्थात् कम्तीमा ५० घण्टासम्म उपवास बस्नुपर्ने हुन्छ ।

त्यसपछि षष्ठी तिथिमा पोखरीको डिल वा नदी किनारमा पूजाका सामग्री राखेर अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । भोलिपल्ट सप्तमी तिथिमा उदाउँदै गरेको सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रुपमा पर्व सम्पन्न हुन्छ ।

यस पर्वमा सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाइ, उखु, नरिवल, पान, सुपारीलगायत प्रसादका सामग्री नयाँ माटोका भाँडो र बाँसको टोकरीमा राखेर अर्पण गरिन्छ । यो पर्व एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ । खासगरी मनोकामना पूर्ण भएपछि यो पर्व शुरु गर्ने गरिन्छ ।

आरोग्यं भास्करदिच्छेत मूल उद्देश्यका साथ मनाइने गरिएको यस पर्वमा कतिपय वर्तालुले परिवारको कल्याण र सन्तान प्राप्तिका साथै विभिन्न प्रकारका भाकल पूरा भएपछि पर्व शुरु गरेका हुन्छन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका